बन्दिपुरको अध्यक्षमा माओवादीबाट पूर्णसिं, करुणा र जीवन सिफारिस
भञ्ज्याङ न्युज

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बन्दीपुर गाउँ कमिटीले अध्यक्षमा एक महिला सहित तीन जनाको नाम सिफारिस गरिएको छ ।
तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पूर्णसिंह थापा, करुणा गुरुङ र जीवन कायस्थ सिफारिस हुनुभएको हो ।
यसअघि अध्यक्षमा नौ जना आकांषी भएपनि सर्वसम्मत रुपमा तीन जनाको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । पूर्णसिंह बहालवाला अध्यक्ष र करुणा उपाध्यक्ष हुन् ।
नेकपा माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तिमा एक जना महिला उम्मेदवार बनाउने निर्णय गरेकाले यसपटक बन्दीपुरको अध्यक्षमा करुणा गुरुङले टिकट पाउने सम्भावना बढेको छ ।
यस्तै एकपटक बहाल भएको पदमा पुनः नदोहोर्याउने नीतिका कारण पनि गुरुङले अध्यक्षको टिकट पाउने प्रवल सम्भावना छ ।
गाउँपालिकाको उपाध्यक्षमा भने विद्या लामिछाने, भानुभक्त पोख्रेल र सिद्धान्त थापा सिफारिस भएका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै लड्दा पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको थियो ।










