प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम विषयक अभिमुखिकरण

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवस्था एवं भावि कार्य दिशा बारे दुइ दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आइतबारदेखि दमौलीमा सुरु भएको छ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशको समन्वयमा “राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तथा प्राविधिक शिक्षा एवं तालिमको वर्तमान अवस्था र भावि कार्य दिशा” सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्राविधिक शिक्षालयका प्रमुख, पालिकाका शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधि तथा प्राविधिक धारका शिक्षा सञ्चालन भइरहेका शिक्षालयका सरोकारवालाहरुको सहभागीता रहेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा मन्त्रालय अन्तर्गतका निकाय र सिटिइभिटी मार्फत प्राविधिक धारमा उत्पादन हुने जनशक्ति र लगानीमा एकरुपता कायम हुनुपर्ने बताए ।

‘एउटै प्रकृतिका कार्यक्रम दुइ निकायबाट सञ्चालन हुँदा विद्यार्थीहरुमा अन्यौलता सिर्जना भएको छ’, प्रमुख न्यौपानले भने, ‘सीपको मागलाई व्यवस्थापन गर्न कार्यक्रम समायोजन गरी अगाडि बढनुपर्ने अबको आवश्यकाता हो ।’

उनले भने, ‘बजारमा प्राविधिक शिक्षाको माग बढ्दो भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा समस्या उत्पन्न भइरहेको छ । प्राविधिक धारका विषय सञ्चालन गरीरहेका विद्यालयका समस्या समाधानका लागि नगरपालिकाले पनि सहयोग गर्ने छ ।’

गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम सञ्चालनको अवस्था, सञ्चालित कार्यक्रम र आवश्यकताबीचको कमी कमजोरी न्युनिकरण बारे छलफल गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रमले भावि योजना बनाउन मद्दत पुग्ने सिटीइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले बताए ।

उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्रममा एकरुपता ल्याउन तथा पालिकाहरुको आवश्यकता अनुसारको प्राविधिक शिक्षा लागु गर्ने बारे पनि कार्यक्रममा छलफल गरिने छ ।’ कार्यक्रममा पालिकाहरुमा सीपयुक्त जनशक्तिका आवश्यकता, प्राविधिक शिक्षाको महत्व, सम्भावनालाई विद्यार्थीसम्म पुर्‍याउन गर्नुपर्ने आवश्यक कार्यक्रम, राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपका व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाका समस्या समाधानका लागि तीनै तहका सरकारको भूमिका र मन्त्रालयले लागु गर्नुपर्ने नीति तथा कार्यक्रम बारे व्यापक छलफल गरिने आचार्यले बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तोयानाथ लम्सालले सिकाइ उपलब्धी मापनयोग्य मापदण्डको आधार तयार गर्न, औपचारिक र अनौपचारिक पद्धतीबाट हासिल गरेका ज्ञान, सीपलाई परिक्षण तथा प्रमाणित गर्न र विद्यार्थीले आर्जन गरेको शिक्षालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता दिलाउन व्यावसायिक योग्यता प्रारुपको अवधारणा तयार गरी नेपाल सरकारबाट स्वीकृत गरी लागु हुने चरणमा रहेको बताए ।

प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आ-आफ्नै ढंगले काम गर्दै आएको भएपनि त्यसबाट अपेक्षित नतिजा आउन नसकेकाले यसबारे उचित समिक्षा हुनुपर्ने लम्सालले बताए ।

कार्यक्रममको पहिलो दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाका सम्बन्धमा संवैधानिक व्यवस्था, आवधिक योजना, शिक्षाको तह र जनशक्तिको बिकासको अवस्था, सिटीइभिटी तर्फका शैक्षिक कार्यक्रमका संरचना, नेपालको शिक्षा प्रणाली, सीप परिक्षण र प्रमाणीकरण लगायतका विषयमा सहजिकरण गरेका छन् ।

कार्यक्रम अवधिमा भर्ना क्षमता र भर्ना संख्याको अवस्था, प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्नु, बीचमा कक्षा छाडने दर उच्च हुनु र उत्तिर्ण दर कमजोर हुनुका कारण, रोजगारीको अवस्था सन्तोषजनक नहुनु, पाठ्यक्रमको ढाँचा, परीक्षा सञ्चालन र व्यवस्थापनमा सरोकारवालाहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा छलफल गरिने र छलफलबाट प्राप्त निष्कर्षलाई व्यवहारिक रुपमा कार्यावन्यन गरिने आयोजकले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker