तनहुँमा चाडपर्व लक्षित बजार अनुगमन गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

नेपालीका ठूला चाडपर्व नजिकिएसंगै तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठकले दशै लक्षित बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।
तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारी सहितको बैठकले चाडपर्वहरुमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य, असुली, मालसामानमा हुने गुणस्तरहिनता लगायतका विषयमा सूचना लिई आवश्यकाता अनुसार स्थानीय तह समेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराए ।
पसल, गोदामको सरसफाइमा ध्यान दिने एवं पसलमा मूल्य सूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस गर्ने गराउने बैठकले निर्णय गरेको छ । बरालका अनुसार व्यवसायीले सरल मूल्यमा गुणस्तरीय सामाग्रि उपभोक्तालाई बिक्री गर्ने सहमति गरेका छन् । बैठकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतका सहभागिता रहेको थियो ।










