शिक्षकहरु पेशाप्रति जिम्मेवार बन्नुपर्छ : नगरप्रमुख त्रिपाठी
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शिक्षकहरु आफ्नो पेशा प्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । शिक्षण पेशा एक मर्यादित पेशा भएको हुँदा शिक्षकहरुले पेशा प्रति वफदार रही कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल शिक्षक संघ भानु नगर कार्य समितिको चौंथो प्रतिनिधी सभा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख त्रिपाठीले विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्न, विद्यालयको भौतिक सुधार तथा प्रशासनिक सुधारका लागि नगरपालिकाले सक्दो सहयोग गर्दै आएको र सदैव गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाल शिक्षक संघ भानु नगर कार्य समितिका सभापति उपेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा गोतामे, वडा नं. १० का वडा अध्यक्ष हरिहर उप्रेती, नेपाल शिक्षक संघ तनहुँकी कार्यबाहक अध्यक्ष रसमाया गुरुङ, शिक्षक महासंघ तनहुँका अध्यक्ष आरसी पोख्रेल, नेपाल शिक्षक संघ तनहुँका उपाध्यक्ष ओजराज बगाले, नेपाली काँग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ तनहुँकी अर्थ सचिव एवं जिल्ला प्रतिनिधि शान्ता वास्तोला लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, संघको शनिबारको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । अध्यक्षमा ज्ञानेन्द्र पंडित, रविन्द्रराज जोशी, गाविन्द भट्टराइ र गोविन्द खड्का गरी ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दिनेश थापा, हरिश्चन्द्र अधिकारी र विष्णुहरी पाण्डेको उम्मेदवारी परेको छ भने सचिवमा केशवराज कोईराला, आशबहादुर घिमिरे, दिनेश गौतम र नारायण बहादुर बसेलको उम्मेदवारी परेको निर्वाचन समतिका संयोजक दिवाकर घिमिरेले बताए ।
अध्यक्ष, उपाध्यक्ष र सचिवमा आवश्यकता भन्दा धेरैको उम्मेदवारी परेकाले भानु नगरपालिकाका प्रमुखको उच्च स्तरीय छनौट समितिले छनौट गर्न भेलाले अख्तियारी दिएको र बाँकी सबै पदमा निर्विरोध निर्वाचित भएको भएपनि घोषणा भने नभएको निर्वाचन समतिका संयोजक घिमिरेले बताए ।










