तनहुँ प्राविधिक शिक्षालयका प्रशिक्षार्थीको विदाई तथा स्वागत
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिका स्थित तनहुँ प्राविधिक शिक्षालयले प्रशिक्षार्थीहरुलाई विदाई तथा स्वागत गरेको छ । शिक्षालयले तीन वर्षे कृषि वाली विज्ञान कार्यक्रम अध्ययन पुरा गरेका प्रशिक्षार्थिको विदाई तथा नव आगन्तुक प्रशिक्षार्थिलाई स्वागत गरिएको हो ।
शिक्षालयमा दोश्रो र तेश्रो बर्षमा अध्ययनरत प्रशिक्षार्थिहरुले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य जित प्रकाश आलेले प्राविधिक शिक्षा देश बिकासको मेरुदण्ड भएको बताए । उनले शिक्षालयमा प्रशिक्षार्थिहरुलाई प्रशिक्षणसंगै उत्पादन र आय आर्जनमा जोड्नु पर्ने, कृषि प्रविधि समुदायमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
प्राविधिक शिक्षालयको महत्व बुझेर स्थानीय समुदायले सहि सदुपयोग गर्नुपर्ने बताउँदै संसद आलेले बिदाई हुने र नव आगन्तुक प्रशिक्षार्थिलाई शुभकामना व्यक्त गर्दै शिक्षालयको विकास र बिस्तारमा आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले अनुशासनमा रही आफ्नो दक्षतालाई कार्यस्थलमा प्रदर्शन गरी भिमादमा रहेको शिक्षालयको गरिमालाई उच्च राख्न प्रशिक्षार्थीहरुसंग आग्रह गरिन । उनले शिक्षालयको वृत्ति बिकासका लागि नगरपालिकाबाट बजेट कार्यक्रममा बिशेष भूमिका खेल्ने प्रतिवद्धदा जनाइन् ।
शिक्षालय प्रमुख प्रदिपराज पौडेलले शिक्षालयको सम्पूर्ण बस्तुस्थिति बारे सहजिकरण गर्दै प्राविधिक शिक्षा प्रति आकर्षण बढाउन तीनै तहका सरकारबाट बिशेष रुपमा हेरिदिनुपर्ने बताए । शिक्षालयमा थप कार्यक्रम संचालनको लागि थप जग्गा र श्रोतको आवश्यक पर्ने हुँदा स्थानीय सरकारबाट सहयोग सहकार्यको आवश्यकता रहेको प्रमुख पौडेलले बताए ।
्कार्यक्रममा भिमाद नगरपालिका शाखा अधिकृत टेकावती ढकाल, कृषि प्रशिक्षक कुसुम गौतम, प्रशिक्षार्थी रुपी परियार, भुवन कंडेल, रन्जना सिग्देल, प्रेम थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षालयले खेलकुद सप्ताहमा उत्कृष्ट प्रशिक्षार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।










