प्रदेशबाट स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शय्याको प्रक्रिया थाल्नेछु : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए ।

‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु’, मन्त्री पौडेलले भने, ‘प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।’

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्या पुर्याउने काममा सघाइदिन संविधान सभासद रामचन्द्र पोखरेल र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनुरोध गरेका थिए ।

१५ शय्या क्षमता भएपनि बेड थप गरेर चलेको अस्पताललाई ५० शय्यामा परिणत गर्न जग्गा अभाव देखिंदै आएको छ । विगतमा धेरै पटक विस्तारको कुरा चलेपनि अघि बढ्न सकेको थिएन । अस्पतालसँग हाल १५ रोपनी जग्गा छ ।

तर कृषि ज्ञान केन्द्रको २ रोपनी र भेटेरिनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ । सोही जग्गा प्रदान गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले स्वीकृति दिए पनि प्रदेश र संघीय मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव गएको छैन ।

मन्त्रिपरिषदबाट अस्पताललाई जग्गा प्राप्तिको निर्णय गराउन पहल गर्ने बताएका मन्त्री पौडेलले जनशक्ति र पूर्वाधारका लागि यसै वर्ष काम थाल्ने प्रतिबद्धता जनाए ।

७२ किलोमिटर लामो पृथ्वी राजमार्गको बीच भागमा अवस्थित दमौलीमा रहेको अस्पतालको क्षमतावृद्धि नहुँदा ठूला दुर्घटनाका बिरामी र शल्यक्रिया तथा आकस्मिक अवस्थाका बिरामी पोखरा र चितवनका अस्पताल जानुपर्ने बाध्यता छ ।

तनहुँको स्वास्थ्य क्षेत्रको समस्यालाई आफूले बुझेको बताएका मन्त्री पौडेलले तनहुँको स्वास्थ्य क्षेत्रमा गर्न सकिने अरु कामका लागि पनि तयार रहने प्रतिबद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker