एमालेको संकल्प यात्रा : लमजुङमा हुने जनसभामा तनहुँका नेता तथा कार्यकर्ता समेत सहभागि हुने
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा तनहुँबाट नेता तथा कार्यकर्ता समेत सहभागि हुने भएका छन् ।
नेकपा (एमाले)ले लमजुङको सुन्दरबजारमा गर्ने जनसभामा तनहुँबाट पाँच हजार बढि नेताकार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता हुने बताइएको छ । एमाले तनहुँ प्रचार विभागले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ र तनहुँबाट हुने सहभागिताका विषयमा जानकारी गराएको छ ।
एमालेले गत मंसिर १४ गतेदेखि शुरु गरेको पुष्पलाल (मध्यपाहाडी) लोकमार्गमा पर्ने बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको संकल्प यात्रा अन्तर्गत सो लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा आगामी मंसिर २२ गते जनसभामा गरिने भएको छ । उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
सो जनसभामा धेरै भन्दा धेरै जनसहभागिता गराउने र त्यसकालागि तनहुँका १० वटै स्थानीय तह कमिटीहरु परिचालन गर्ने निर्णय भएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताए । जनसभामा उपस्थित गराउन पालिका तोकेरै जनसहभागिताको संख्या निर्धारण गरिएको कडेलले बताए ।
निर्धारित जनसहभागिता जुटाउन केन्द्रीय सदस्यदेखि प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका सदस्यहरुलाई जिम्मेबारी तोकिएको एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताए ।
पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’को कार्यक्रम समेत मानेको छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएका कारण समेत यात्राले महत्व राख्ने उपसचिव अधिकारीले बताए ।
यस्तै, नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त संकल्प यात्रा अन्तर्गत कास्कीमा दुइ दिनसम्म विविध कार्यक्रम तय गरिएको छ ।
एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको संकल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने भएको छ । ‘हेम्जा र तालचोकमा भेटघाट सहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ’, गुरुङले भने, ‘स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नुहुनेछ ।’
संकल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ । एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न संकल्प यात्रा सुरु गरिएको बताए । संकल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा संकलन गरिएको उनले बताए ।










