हावाहुरी सहित आएको असिना पानीले तनहुँमा सयौं घरटहराको छानो उडायो, मकै र तरकारी खेतीमा पनि क्षति

हावाहुरी सहित आएको असिना पानीले तनहुँमा तीन सय बढि घरटहरा, गोठ, विद्यालयमा क्षति पुरर्याएको छ । बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले तनहुँका विभिन्न ग्रामीण क्षेत्रहरुमा ठूलो क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी गराए ।
उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । ‘हालसम्म करिब तीन सय बढी घर, दुइ विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको रिपोर्ट आएको छ’, उनले भने, ‘क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क संकलनका लागि खट्टएिका छन् ।’
प्रजिअ गौतमका अनुसार विहीबार साँझको हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको छ ।

यस्तै, चट्याङ पर्दा व्यास नगरपालिका-८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरी नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रजिअ गौतमले बताए ।
हावाहुरीसँगै आएको असिनापानीले किसानले लगाएको मकै र तरकारी खेतीमा समेत ठूलो क्षति पुर्याएको छ । फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ ।
यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीका कारण रुख तथा विद्युतपोल ढल्दा सडक तथा विद्युत सेवा अवरुद्ध भएकमा मर्मत सुधार गर्ने कार्यलाई पनि तीब्रता दिइएको छ ।
विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । विद्युत् सेवा सुचारु गर्न विद्युतका कर्मचारीको टोली अवरोध भएको स्थानमा खटिएका छन् ।

ठूला-ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले बताए । व्यास नगरपालिका-१० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर-१२ को छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौं स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको थियो ।
हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका-१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले बताएका छन् ।
यस्तै, विहीबार साँझ आएको हावाहुरी सहितको पानी र केही स्थानमा लेदो पहिरो समेतले आँवुखैरेनी गाउँपालिकाका ५० भन्दा धेरै घर गोठमा क्षति गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताएका छन् । वाड कार्यलय मार्फत क्षतिको विवरण संकलन कार्य भइरहेको र केही घरहरुमा शुक्रबारनै राहत सम्बोधन भएको अध्यक्ष चुमानले बताए ।
‘अन्य पीडित परिवारलाई पनि आवश्यक राहतका सामाग्रि उपलब्ध गराउने कामलाई तीब्रता दिइएको छ’, उनले भने, ‘यो बर्खा मौसममा छाना बिहिन हुनुको पीडा प्रती हामी गम्भीर छौ र समाधानका लागि लागिरहेका छौ । यो बिपत्तिको बेला छिमेकीमा सक्दो सहयोग गर्न सम्पूर्ण युवा साथिहरुमा हार्दिक अनुरोध गर्दै पालिका हजुर को घर दैलोमा सम्भब हुँदासम्मको समाधान बोकेर आउने छ ।’









