पृथ्वीराजमार्ग अनुगमनः पूर्विखण्डमा २२.५ प्रतिशत, पश्चिमखण्डमा ६.०५ प्रतिशत भौतिक प्रगति

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशको लाइफलाइन र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार तथा स्तरोन्नतिको उपप्रधानमन्त्री सहितको उच्चस्तरीय टोलीद्वारा निरीक्षण गरेको छ ।

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले सडकको स्थलगत निरीक्षण गरेका छन् ।

सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आइतबार बिहान पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो । टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको छ ।

राजमार्गको पश्चिम खण्डको कामको प्रगति सन्तोषजनक नभएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । दमौलीमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री श्रेष्ठले अहिलेको स्थिति भन्दा कामको गति बढ्नुपर्छ र बढाउनका लागि निर्माणपक्षलाई निर्देशन दिएको बताए ।

यस्तै राजमार्गको पूर्वी खण्डको कामको प्रगति अहिलेसम्म राम्रै देखिएको र सडक निर्माण कार्यलाई तीब्रता दिएर तोकिएकै समयमा पुरा गर्नुपर्‍यो होइन भने नयाँ ढंगबाट अगाडि बढ्न सरकार बाध्य हुने गृहमन्त्री श्रेष्ठले बताए ।

यस्तै, सडक अनुगमनमा आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गण्डकी प्रदेशको लाइफलाई र राष्ट्रिय गौरवको आयोजना पनि भएकाले यो सडकलाई तोकिएकै अबधिमा निर्माण सम्पन्न गर्न हामीले जोड दिएको बताए।

पोखरादेखि अवलोकन गर्दै आउँदा राजमार्गको पश्चिम खण्डमा कामको प्रगतिमा निकै पछाडी परेको देखिएको छ । केही केही स्थानमा मात्रै काम भएको अन्य ठाउँमा कामहरु अघि नबढेको हुँदा कामको प्रगति र गति निराशजनक भएको उनले बताए । यस्तै, राजमार्गको पूर्वी खण्डको प्रगति अहिलेसम्म राम्रै देखिएको हुँदा दुवै खण्डका समस्य बुझेर के कसरी समाधान गर्न सकिन्छ, के कारण काममा बाँध आएको छ त्यो बुझेर समाधान गर्ने मन्त्री ज्वालले बताएका छन् ।

सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए । उनले भने, ‘निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्र्छौ तर काममा ढिलासुस्ती भए खबरदारी पनिसँगै गर्र्छौ ।’

पृथ्वीराजमार्गको पूर्वीखण्ड अन्तर्गत दमौलीको मादी नदीमा आधुनिक डिजाइनको चार लेनको पुल निर्माण गरिने भएको छ । ३१५ मिटर लम्बाई २३ मिटर चौडाइको पुल नेपालकै पहिलो चार लेनको पुल निर्माण हुने निर्माण कम्पनि एयनकेओ कन्ट्रक्सनका अमृत कुमार महर्जनले बताए । १ अरव २२ करोड रुपैयाँको लागतमा दायाँबायाँ फुटपाथ सहितको पुल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको डिजाइन अन्तिम चरणमा पुर्‍याइएको छ ।

पृथ्वीराजमार्गको पूर्वी खण्ड आँवुखैरेनी-जामुनेको भौतिक प्रगति २२.५ प्रतिशत भएको छ भने जामुने-पोखरा पश्चिम खण्डको ६.०५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण पक्षको कम्जोरीका कारण पश्चिम खण्डको काम सुस्त भएको आयोजनाले बताउने गरेको छ ।

यस्तै, पूर्वी खण्डमा अहिले पुल, कल्भर्ट निर्माण, सब-वेस र वेसका कामहरु पनि सुरु भएको उनले बताए । पूर्वी खण्डको आँबुखैरेनीदेखि ७ किलोमिटर पिच गर्ने तयारीमा काम अगाडि बढाइएको र सडक विस्तारमा बाधक बनेका विद्युत पोल हटाउने कार्य पनि भइरहेको छ । सडक सिमा भित्र रहेका भौतिक पूर्वाधार हटाउन र मुआवज वितरण गर्न समस्या देखिएपनि अन्य कामलाई तीब्रता दिएको पूर्वी खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा मुग्लिनदेखि पोखरासम्मको दुइ लेनको सडकलाई विस्तार गरी बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनको फराकिलो बनाउन लागिएको छ ।

मुग्लिन-पोखरा सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुइ भागमा विभाजन गरेर काम अघि बढाइएको छ। आँवुखैरेनीदेखि जामुनेसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा वि.सं. २०७८ वैशाख २ गते ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ ।

यस्तै, जामुनेदेखि पोखरासम्मको ३९ किमीको पश्चिम खण्ड निर्माणका लागि ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । यो योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker