भट्टराइ जिताउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको तनहुँमा लर्को

भञ्ज्याङ समाचारदाता/दमौली

वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार तथा आवद्ध दलहरुले चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् । केन्द्रीय राजनीतिसंग समेत हलचल ल्याउने गरी तनहुँ-१ को उपनिर्वाचनलाई निकै चासोको रुपमा हेर्ने गरिएको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो । विभिन्न ९ राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएपनि मुख्य तीन राजनीतिक दलका बीच कडा प्रतिस्पर्धाका साथ चुनावी प्रचार अभियान अगाडि बढेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइ, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले बीच त्रिपक्षीय चुनावी प्रतिपर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेकपा एमाले मात्र आफ्नो प्रमुख प्रतिस्पर्धी रहेको बताउने गरेपनि उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वणिर्म वाग्ले मुख्य बाधक बनेर अगाडि खडा भएका छन् ।

हालै नेपाली कांग्रेस प्ररित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ को उपनिर्वाचनमा भिड्न आएका छन् । नेपाली कांग्रेसले प्रतिस्पर्धी एमालेलाई भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बढि लक्षित गरी अहिले चुनावी गतिविधि अगाडि बढाइरहेको छ । यता नेकपा एमालेले भने मंसिर ४ को निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको मतलाई कसरी सुरक्षित गर्न सकिन्छ र उक्त मत मात्र संरक्षण गर्न सके जित आफ्नो पक्षमा आउने भन्दै चुनावी अभियान अगाडि बढाइरहेको छ ।

यस्तै, कांग्रेसका उम्मेदवार भट्टराइलाई निर्वाचन गराउन भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा मंगलबार दमौलीमा चुनावी कोणसभा गरिएको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले दमौलीमा आयोजना गरेको चुनावी सभामा महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताए ।

‘पाँच वर्ष सरकारलाई निरन्तरता दिएर जनताका पक्षमा काम गर्नुपर्छ’, उनले भने, ‘जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन । अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको हो ।’

देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्नुपर्ने उनले सुझाएका छन् । उनले भने, ‘रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ । तबमात्र परिणाम आउँछ ।’

खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको महामन्त्री थापाले बताए । उनले भने, ‘जनतामा विश्वास जागृत गराउनुपर्ने उल्लेख गर्दै मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्छ ।’

वैशाख १० गते हुने उपनिर्वाचनले सरकार गठन प्रक्रियामा केही प्रभाव नपर्ने भएपनि राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो । मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँका जनताले दिएको मतका कारण आज तनहुँले राष्ट्रपति पाएको भन्दै महामन्त्री थापाले राष्ट्रपतिले संवैधानिक दायित्व सफलतापूर्वक पूरा गर्नुपर्ने बताए ।

उक्त कोणसभामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांगे्रसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताए । कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांगे्रसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो ।

गोविन्द भट्टराइलाई उम्मेदवार बनाएर कांगे्रसले न्याय गरेको भन्दै धेरै युवा उहाँलाई मतदान गर्न आतुर रहेको आफूले पाएको बताउँदै उनले भने, ‘तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराइ भएकाले उहाँको जित अनिवार्य रहेको छ ।’

‘देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको छ । देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा हुँदैन’, उनले भने, ‘देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ संकल्प बोकेका छौँ । आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक हुन्छ ।’ राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दै उनले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताए । पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उनको भनाई थियो ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताए । ‘नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको छ’, उनले भने, ‘नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुइ धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछ । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ ।’

वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गरे । उनले भने, ‘यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि हो । प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ ।’

महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गरे । कुशासन र भ्रष्टाचार विकासमा बाधक भएकाले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन दिनुको विकल्प नभएको चर्चा गर्दै उनले भने, ‘यसका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ, वर्तमान सरकार भ्रष्टाचारलाई शून्यमा पुर्‍याएर सुशासन कायम गर्न प्रतिबद्ध छ ।’

महासचिव गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या आएको छ, युवाशक्ति वैदेशिक रोजगारमा जाने समस्या व्यापक छ, यसको समाधानका लागि पनि गठबन्धन आवश्यक छ ।’

कोणसभामा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराइ उपयुक्त उम्मेदवार भएको बताए । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए । उनले भने, ‘गठबन्धनलाई स्थिरताको खुडि्कलाका रूपमा अगाडि बढाइने छ ।’

कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराइले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको छु । पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे । नेपाली कांगे्रसका केन्द्रीय सदस्य डिला संग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गरिन ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले संघीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

यस्तै, सत्ता गठबन्दनले तनहुँ-१ उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी प्रचारप्रसार अभियानलाई आक्रमक रुपमा अगाडि बढाएको छ । कांग्रेस तनहुँको विरासत जोगाउनेका रुपमा उपचुनावलाई हेरिएको छ । गठबन्धनले बुधबार डुम्रे बजारमा वृहत चुनावी सभा समेत आयोजना गरेको छ । उक्त चुनावी सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका पार्टी सभापनि शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेस तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker