विपद्का घटना : बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु

गएरातिदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका घटना भएका छन् । जुन घटनामा ७ जनाको मृत्यु भएको छ । यस्तै चट्याङका कारण थप ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु हुँदा केही घाइते समेत भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती बस्ने प्रकाश रानाभाटको घरको पछाडीपट्टीको माटोको ढिस्को खसेर घर पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुस्मा रानाभाटको गएराति मृत्यु भएको छ ।

साथै घरमा सुतिरहेकी उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुसल उद्धार गरिएको छ ।

यसैगरी यसैगरी कास्कीको पोखरा महानगरपालिका–२७ आरूपाटा बस्ने ३१ वर्षीय हरि सुनारको घरमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर घरमा सुतिरहेका सुनारको छोरा ३ वर्षीय अनमोल सुनारको गएराति मृत्यु भएको छ ।

साथै घाइते भएकी सुनारकी श्रीमती २७ वर्षीया रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । यस्तै घर पूर्णरूपमा क्षति भएको छ ।

यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देव कुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको छ ।

यसैगरी लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिएकामा बुधबार बेपत्ता भएकाहरूको शव भेटिएको हो ।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् ।

यसैगरी चितवनको माडीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसो माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

यसैगरी कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार बुधवार बिहान साढे ७ बजे डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए ।

यस्तै कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुर बस्ने वर्ष २९ की रिता कठरिया, वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत समेत चट्याङ लागेर घाइते भएका छन् ।

यस्तै चटयाङ लागेर कपिलवस्तुमा पनि दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

यसैगरी गएराति परेको चट्याङले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका छन् ।

घरमा सुतिरहेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएको दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए ।

घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको छ ।

यसैबिच बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विभिन्न ठाउँहरूमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker