बन्दीपुरले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौताअनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने तयारी गरिएको हो ।

ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा काम सम्पन्न नगर्ने, अलपत्र पार्ने तथा गुणस्तरीय काम नगर्ने कम्पनीलाई धरौटी जफत गर्ने तयारीमा लागेका छौँ । त्यस्ता निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्नेजस्ता प्रक्रिया पनि अगाडि बढाएका छाँै ।”

उहाँले एक पटक काम सञ्चालन गर्न आग्रह गर्ने र आलटाल गरे नियमानुसार कारबाही गरिने जानकारी दिनुभयो । विभिन्न बहानामा काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उहाँको भनाइ छ । बन्दीपुरमा कुसुम कन्स्ट्रक्सन, कस्यप निर्माण सेवा, धर्म एण्ड कस्यप जेभी र खड्गदेवी कन्स्ट्रक्सनले निर्माणसम्बन्धी कामलाई अलपत्र पारेको गाउँपालिकाका इन्जिनियर सन्तोष थापाले जानकारी दिनुभयो ।

यी निर्माण कम्पनीले क्रमशः बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित चिस्यान केन्द्र, डुम्रे बन्दीपुर सडक, मुकुन्देश्वरी पदमार्ग (मिनिग्रेटवाल), बन्दीपुर बाहुनभञ्ज्याङ धरमपानी सडक, वडा नम्बर २ को कार्यालय भवन ठेक्का लिएर अलपत्र पारेको इन्जिनियर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ती कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक आग्रह गर्दा पनि काम गरेका छैनन् ।

बन्दीपुर–१ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले काम अलपत्र पार्नेमध्येको कस्यप कन्ट्रक्सनका प्रोपाइटरसँग भेटघाट र छलफल भएको बताउनुभयो । डुम्रे–बन्दीपुर मार्गको काम अब छिट्टै सुरू गर्ने प्रतिबद्धता उक्त कम्पनीको तर्फबाट भएको र लिखित सहमति भएको बताउँदै उहाँले भन्नुभयो, “अब अन्य ठेकेदार कम्पनीलाई पनि सम्पर्कमा ल्याउने प्रयास गरेका छौँ । काम नगर्ने ठेकेदार कम्पनीलाई, धरौटी जफत, ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने गाउँपालिकाले निर्णय गरिसकेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker