तनहुँका २ जना संक्रमितको मृत्यु, ८ जना संक्रमित थपिए, पिसिआर परीक्षणका लागि स्वाब लिन छाडियो
भञ्ज्याङ न्यूज

तनहुँका दुइ जना कोरोना संक्रमितको विहीबार मृत्यु भएको छ। संक्रमण भई पोखरामा उपचाररत म्याग्दे गाउँपालिकाका र शुक्लागण्डकी नगरपालिकाका गरी दुइ जना वृद्धको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण म्याग्दे गाउँपालिका-५ का ७३ वर्षका वृद्धको मृत्यु भएको छ ।
उनको बुधबार बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनमा न्युमोनिया सहितका समस्या देखिएको बताइएको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिका-५ निवासी ७१ वर्षका संक्रमित वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको बिहिबार दिउँसो १ बजे प्रतिष्ठानमै उपचारका क्रममा ज्यान गएको बताइएको छ । उनी पाँच दिन अघि प्रतिष्ठानमा भर्ना भएका थिए। उनमा पनि न्युमोनियासहितका समस्या देखिएको बताइएको छ ।
यी सहित तनहुँमा मृत्यु हुनेको संख्या २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा कोरोना संक्रमणबाट ६ जना महिला र १६ जनाको पुरुषका मृत्यु भएको छ ।
यस्तै, बिहीबार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिकगरेको विवरण अनुसार म्याग्देका १, शुक्लागण्डीका ३, बन्दिपुरका २ र व्यास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय तनहुँको विवरण अनुसार जिल्लाका १० वटै स्थानीय तहले १२ हजार १७५ जनाको स्वाब नमुना संकलन गरी गरेको पिसिआर परीक्षणमा १ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये हालसम्म १ हजार २५४ जना निको भएका छन् भने ८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन्।
यस्तै, जिल्लामा पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य रोकिएको छ । सबै क्षेत्र खुला भई पुरानै अवस्थामा तनहुँको दैनिकी फर्किएपनि कोरोना संक्रमण जोखिम बढ्दै गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि निजी अस्पताल तथा जिल्ला बाहिर गई परीक्षण गर्ने अधिकांश व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।
जिल्लाका स्थानीय तहले क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यवस्था मिलाएपनि ती खालि अवस्थामा छन् । संक्रमण पुष्टि भएका व्यक्तिहरु पनि होम आइसोलेसनमा बस्ने गरेका छन् भने स्थानीय पालिका तथा स्वास्थ्य संस्थाहरुले परीक्षणका दायारा घटाउँदै गएका छन् ।










