गण्डकीमा दूध, मासु र अण्डा उत्पादन घट्यो

रासस/गण्डकी

गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुइ आर्थिक वर्षे तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । आव २०७८/७९ मा दुइ लाख ८२ हजार १८६ मेटि्रक टन दूध उत्पादन भएकामा गत आवमा दुइ लाख ६४ हजार ८४९ मेटि्रक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब १४ प्रतिशतले कमी हो । मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ ।
आव २०७८/७९ मा ६२ हजार दुइ सय ६० मेटि्रक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार ९८७ मेटि्रक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो संख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिनुभयो । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलब ७२ प्रतिशतले गिरावाट आएको उहाँको भनाइ छ ।
“दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो”, डा न्यौपानले भन्नुभयो, “गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ ।”
उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन् । उक्त रोगको संक्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार २४७ गाईवस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार ५३६ गाईभैँसी अहिले पनि संक्रमित अवस्थामा छन् । गत आवमा अप्रिmकन स्वाइन फ्लुका कारण ठूलो संख्यामा बंगुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताउनुभयो । “गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै रु२४ करोडको क्षति भएको हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ ।” उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बंगुर संक्रित भएका थिए ।
संयक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ । मापदण्ड अनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा ११० लिटर दूध उपलब्ध भएको पाइएको छ । एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८/७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
वर्षा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८/७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ । वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन । मासु २० किलो र अण्डा ६० गोटा पुर्‍याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker