रास्वपाले संसदमा सक्रिय भूमिका खेल्दै आएको छ : सांसद डा. वाग्ले
भञ्ज्याङ न्यूज

तनहुँ क्षेत्र नं. १ का प्रतिनिधी सभासदस्य डा. स्वर्णिम वाग्लेले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले सक्रिय भूमिका खेल्दै आएको बताएका छन् । व्यास नगरपालिका-२ पदमचोकमा बुधबार पार्टीको सर्म्पर्क कार्यालयको उद्घाटन गर्दै उनले रास्वपामाथि चुनौति र अवसर दुबै भएको बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफ्नो पार्टीले कर्डाईका साथ संसदमा उठान गर्दै आएको छ’, उनले भने, ‘हामीले एक पटक संसद अवरोध गर्यौ त्यो पनि शालिन तरिकाले अबरुद्व गरेका हौ ।’
पुराना राजनीतिक दल भन्दा फरकपन दिने गरी पार्टीको अडान कायम राख्नका लागि यतिबेला चुनौति बनेको छ’, उनले भने, ‘कहि चुकिन्छ कि भन्नेतर्फ पनि उत्तिकै सचेत भएर लागेका छौ ।’
आफु तनहुँबाट निर्वाचित भएपनि जिम्मेवारी राष्ट्रको पाएको बताउँदै उनले भने, ‘यतिबेला संसद चलिरहेको र त्यो पनि महत्वपूर्ण बजेट अधिवेशन भएकाले यसअघि जिल्ला दौरानमा चाहेर पनि आउन सकिन ।’
जिल्लाका ऐतिहासिक, साँस्कृतिक र धार्मिक क्षेत्रको विकासका लागि आफ्नो पार्टीले शसक्त रुपमा आवाज उठाउँदै आएको समेत डा. वाग्लेले बताए। उनले भने, ‘तनहुँबासीको शीर झुक्ने गरी कुनै किसिमको काम गर्दिन ।’
‘भ्रष्टाचारको कुरिती अन्त्य प्रमुख मुद्दा हो । हामी संसदमा मर्यादित भएर जनताका आवाज बोलिरहेका छौ’, उनले भने, ‘आगामी चार वर्ष निष्ठा, क्षमताको कसीमा अब्बल देखिनुपर्ने भन्दै २०८४ को चुनावपछि रास्वपा अझै बलियो भएर उदाउने छ ।’
यस्तै, आफूले पार्टीमा केही भूमिका नमागेको भन्दै वाग्लेले भने, ‘मलाई सांसदको भूमिकामा काम देखाउनुपर्नेछ, पार्टीमा साथीहरुले पद लिइदियोस् भन्ने आशय छ । तर मलाई अहिले सांसदको भूमिका ठूलो र जिम्मेवारी छ ।’










