अवसरवादीबाट सचेत रहनुपर्छ : नेता कोइराला
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका-२ नारेश्वरटारमा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।
‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’, नेता कोइरालाले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।’
तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराइले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे । उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आम मतदातासँग आग्रह गरे ।
नेपाली कांग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको भन्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र मन दुःखेका साथीलाई भन्न चाहन्छु, कांग्रेसको नेतृत्व अब हामीको बीचमा आउँदैछ । अब कुनै किसिमको द्विविधा नराख्नुहोस्, केही कमजोरी भएका छन्, ती कमजोरीलाई थाँती राख्दै निर्वाचन पश्चात् सुल्झाउने प्रयास हुन्छ ।”
नेता कोइरालाले वर्तमान सरकार पाँच वर्ष चल्ने बताउँदै अहिलेकै सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने बताए । उनले भ्रष्टाचारमुक्त समाज, पारदर्शीता, जवाफदेहीता, जनताप्रति उत्तरदायित्व र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न संकल्प बोकेर आफूहरू लागि परेको बताए । कांग्रेसबाट अवसर लिएका भागेकाले देश बनाउन नसक्ने पौडेलको भनाइ थियो। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले उपनिर्वाचनका सन्दर्भमा तनहुँका जनतालाई भ्रममा पार्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
तनहुँमा कांग्रेसका शीर्ष नेताहरुको लर्को
सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराइको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ । शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् । दमौलीमा आज मंगलबार सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आउने भएका छन् ।
महामन्त्रीद्वय थापा र शर्मा एकपटक चुनावी कार्यक्रमका लागि तनहुँ आएर फर्किसकेका छन् । उम्मेदवारी दर्ताको दिन थापा दमौली आएका थिए भने अघिल्लो साता शर्मा दुइ दिन तनहुँमा बसेर फर्केका हुन् । सहमहामन्त्री बद्री पाण्डे पनि चुनावी प्रचारका लागि तनहुँका चुनावी प्रचारमा खटिएर काठमाडौं फर्केका छन् ।
संस्थापनइतरका नेता डा. शेखर कोइराला व्यास नगरपालिकाका घरदैलो प्रचारमा व्यस्त छन् । कोइरालासँगै केन्द्रीय सदस्य सञ्जय गौतम पनि प्रचारमा छन् । नेता प्रदीप पौडेल चुनावी प्रचारकै लागि सोमबार तनहुँ आइपुगेका छन् । गत साता भट्टराइको प्रचारका लागि घरदैलो गरेर काठमाडौं फर्केका पौडल पुनः तनहुँ आइपुगेका छन् ।
उपसभापति धनराज गुरुङ र नेता डा. मिनेन्द्र रिजाल वैशाख २ मा भएको अन्तक्रियाका लागि तनहुँ आएका थिए । ‘तनहुँको समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तक्रियामा उपसभापति गुरुङ, नेता रिजाल लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि सहभागी थिए ।

यस्तै, केन्द्रीय सदस्य नैनसिंह महर चुनावमा खटिनका लागि चितवन २ सकेर तनहुँ १ मा सोमबार आइपुगेका छन् । केन्द्रीय सदस्य उर्मिला थपलिया क्षेत्रका कार्यक्रमका लागि तनहुँ पुगेकी छन् । पार्टीले केन्द्रीय नेतासहित भ्रातृ संस्थाका पूर्व नेताहरुलाई तनहुँ १ मा सक्रिय हुन निर्देशन दिएको छ । पार्टीले वडा वडाको जिम्मेवारी दिएर भ्रातृ संस्थाका पूर्व नेताहरुलाई खटाएको छ । तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण, नेविसंघका पूर्व नेताहरु मनोजमणि आचार्य, युवराज पाण्डे लगायत क्षेत्रमा मतदाताकहाँ पुगिरहेका छन् ।
कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ तथा युवा नेता कुन्दनराज काफ्ले पनि तनहुँ आएर भट्टराइको पक्षमा भोट मागेका छन् । वैशाख २ गतेबाट केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्तालाई क्षेत्रमा परिचालित गरिएको छ । सामाजिक सञ्जालको प्रचारलाई व्यापक बनाउन छुट्टै टीम केन्द्रबाट तनहुँ आएका छन् । कांग्रेसले चुनावी परिचालनको नेतृत्व केन्द्रीय सदस्य शंकर भण्डारीलाई सुम्पिएको छ । गत निर्वाचनमा कांग्रेसले जितेको यस क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । सत्ताघटकका माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस उम्मेदवार भट्टराइलाई सघाएका छन् ।
यस्तै, तनहुँ-१ को उपनिर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले चैत्र ६ गते डुम्रे र चैत्र ७ गते आँबुखैरेनीमा सभा गर्ने भएको छ । डुम्रेमा गरिने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका शीर्ष तहका नेताहरु तनहुँ आउने बताइएको छ ।
लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराइलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पार्टीका नेताहरु समेत तनहुँमा आएका छन् । केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ-१ को उपनिर्वाचन रोचक बनेको छ । भट्टराइको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार दमौली आएका छन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराइलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले बताएका छन् ।










