कांग्रेसद्वारा तनहुँ–२ मा सहमतिमा उम्मेदवार सिफारिस, कारबाहीमा परेका कार्यकर्ता फुकुवा

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले बिहीबार सहमतिमा उम्मेदवारको नाम टुङ्गो लगाई जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस हुनुभएको छ ।

सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताउनुभयो ।

यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो ।

प्रत्यक्षतर्फ प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस हुनुभएको छ ।

समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, निरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस हुनुभएको छ । दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसङ्ख्यकतर्फ रोजिना खातुन सिफारिस हुनुभएको छ ।

संविधानसभा सदस्य आलेसहित कार्यकर्ताको कारबाही फुकुवा

नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारलाई सहयोग गरेको अभियोगमा निलम्बनमा पर्नुभएका संविधानसभा सदस्य आलेसहितका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरिएको हो ।

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले निलम्बित एवं राजीनामा दिएका ऋषिङ गाउँपालिकाअन्तर्गतका नेता कार्यकर्ताको सबै कारबाही फुकुवा गर्ने निर्णय भएको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।

सो गाउँपालिकाअन्तर्गत गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतका उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै आलेसहित केही नेता तथा कार्यकर्ताले राजीनामा दिनुभएको थियो । ऋषिङको अध्यक्षमा कांग्रेसकै श्रीराम आलेले बागी उम्मेदवारी दिनुभएको थियो भने दुई वडामा कांग्रेसकै बागी उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।

नेपाली कांग्रेसले यही भदौ १२ गते विज्ञप्ति जारी गरी राजीनामा दिएकालाई मूलधारमा फर्कन आह्वान गरेको थियो । सोहीबमोजिम ऋषिङका नेता तथा कार्यकर्ताले भदौ १४ गते पार्टी कार्यालयमा सम्पर्क गरी आफूहरु पार्टीमा फर्किने प्रतिबद्धता जनाएका थिए ।

मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले उम्मेदवार, प्रस्तावक र समर्थकको हकमा कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्बित एवं राजीनामा दिएकाको हकमा कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता वाग्लेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker