दुइवटा सिम चलाएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ (भिडियो सहित)
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडामा गत मंगलबार बोराभित्र भेटिएको महिलाको शवको पहिचान खुलेको छ । उक्त स्थानको सुवर्ण मार्गको कच्ची सडक हुँदै ओहोरदोहोर गर्ने स्थानीयले नराम्रो दुर्गन्ध आएको बताएपछि प्रहरीले हृयुम पाइपमा प्लास्टिकको बोराभित्र शव फेला परेको थियो ।
शव भेटिएसंगै हत्या गरेको अशंक गरी प्रहरीले तत्काल अनुसन्धान कार्य अगाडि बढाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धनबाट आफ्नै श्रीमानले हत्या गरी त्यहाँ फालेको खुल्न आएको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।
तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा मृतकका श्रीमानलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका-४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ ।
मृतक व्यास नगरपालिका-१२ लामीडाँडा माइती भएकी २२ वर्षीया रंगिला भुजेल रहेको प्रहरीले बताएको छ । रंगिलाका बुबा मनबहादुर भुजेलले मंगलबार तनहुँ प्रहरीमा रंगिलाको तस्विर सहित हुलिय निवेदन दिएका थिए । प्रहरी उपरीक्षक विष्टले भने, ‘२०८० जेठ २४ गतेदेखि छोरी सर्म्पर्कबिहिन रहेको भनि मनबहादुरले हुलिय निवेदन दिएका थिए । त्यही दिनको साढे ११ बजे शव भेटिएको र मनबहादुरले शवको पहिचान गरेका हुन् ।’
मनबहादुर भुजेलले पेश गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरिक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरिक्षक विष्टले बताए ।
प्रहरीले रंगिलाका श्रीमानलाई मंगलबार राति व्यास-३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । पक्राउ परेका मनोज उपर जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शिर्षमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको छ ।
मनोज र मृतक रंगिला समाजिक संजालमार्फ भेट भई प्रेम सम्बन्धमा थिए । उनीहरुले २०८० बैशाख १ गते विवाह गरेको बताइएको छ ।
मृतक रंगिलाले मोबाइलमा दुइ वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए । उनका अनुसार मनोजले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।










