बल प्रयोग गरी राजमार्गको दमौली-डुम्रे खण्डको अवरोध खुलाइयो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-डुम्रे खण्डको अवरोधलाई जिल्ला प्रशासन कार्यालयले बल प्रयोग गरी खुलाएको छ । तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले मंगलबार दिउँसो १२ बजेदेखि राजमार्गमा अवरोध खडा गरेका थिए ।
राजमार्ग लामो समय बन्दा हुँदा यात्रुलाई समस्या परेकाले बल प्रयोग गरेर राजमार्ग सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । घटनास्थल व्यास-१ मुसेखोलामा स्थानीय जम्मा भई राजमार्ग अवरोध गरिएकोमा प्रशासनले साँझ ६ बजे बल प्रयोग गरी अवरोध हटाएको थियो ।
पीडित पक्षले दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपार्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको सुनिश्चित हुनुपर्ने माग गर्दै आएका छन् । पीडित पक्षले सोमबार पनि करिब छ घण्टा राजमार्ग अवरुध गरेका थिए ।
घटनाको छानबिन र अनुसन्धान गरी छानबिनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदैसम्मको सजाय र मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु गरिएको भए पनि मंगललबार दिउँसोबाट पुनः राजमार्गमा यातायात बन्द गरिएको थियो ।
व्यास नगरपालिका-१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई पानी बोक्न ट्याङ्कर चालकले ट्याङ्कर ब्याक गर्दा ट्याङ्करको पछाडी रहेका मोटरसाइकल चालक कैनी दुर्घटनामा परेका थिए ।
डुम्रेबाट दमौली जाँदै गरेको बा. प्र. ०१-००१ नम्बरको पानी ट्याङ्कर र सोही दिशातर्फआउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो दुइ बजे ठक्कर दिँदा इन्जिनियर कैनीको मृत्यु भएको थियो ।
पीडित परिवार र चिनियाँ कम्पनीबीच दिनभर जिल्ला प्रशासन कार्यालयमा बसेको वार्ता निष्कर्षवहिन सकिएको छ ।










