नयाँ वर्षमा बन्दिपुर : “हजारौंको संख्यामा पर्यटक आए तर, थोरै बास बसे”

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

कोरोना कहरका कारण सुनसान बनेको पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर नयाँ वर्षका अवसरमा भिडभाड बन्यो । बन्दिपुरका पर्यटन व्यवसायीहरुले नयाँ वर्ष २०७९ लाई लक्षित गरी आयोजना गरेको सडक खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रमका कारण पनि बन्दिपुरमा पर्यटकको उल्लेख्य आगमन हुन पुग्यो ।

प्राकृतिक हिसावले आफैमा सुन्दर पर्यटकीय नगरी बन्दिपुर धुलोधुँवा मुक्त शान्त वातारण भएकाले पर्यटकहरु लोभिने गरेका छन् । कोरोना कहरका कारण करिब तीन वर्षदेखि सुस्ताएको यहाँको पर्यटन व्यवसाय नेपाली नयाँ वर्षसंगै चलायमान बनेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्ने बन्दिपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको उल्लेख्य आगमन भएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउँछन् । नागरिकस्तरमा कोरोना विरुद्धको खोपको पहुँचसंगै कोरोना संक्रमणको त्रास पनि कम हुँदैका कारण बन्दिपुरमा पर्यटक आउने क्रम बढ्दै गएको उनेले बताए ।

२०७२ सालको गोरखा भुकम्पबाट थला परेको बन्दिपुरको पर्यटन व्यवसाय तङ्ग्रीदै गर्दा कोरोनाको चपेटामा पर्‍यो । कोरोना कहरसंगै पर्यटक आगमन घटेको बन्दिपुरमा नयाँ वर्षले केही उत्साह थपेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘नयाँ वर्षका अवसरमा गत बुधबार, बिहीबार र शुक्रबार दिनभर पर्यटकले खचाखच भरियो बन्दिपुर’, अध्यक्ष प्रधानले भने, ‘हाम्रो अपेक्षा अनुसार पर्यटकको आगमन नभएपनि आगामि दिनमा पर्यटकको आगमनका लागि व्यवसायलाई प्रवर्द्धनमा टेवा पुग्ने विश्वास जगाएको छ ।’

उनका अनुसार नयाँ वर्ष मनाउन बन्दिपुरमा करिव ३५ हजारको हाराहारीमा पर्यटक भित्रिएको अनुमान छ । आन्तरिक पर्यटकको आगमन राम्रो भएपनि बन्दिपुरमा रात बिताउने गरी आउने पर्यटकको संख्या न्यून रहेको उनले बताए । बन्दिपुर आएका पर्यटक मध्ये आन्तिरक २० प्रतिशत र ५ प्रतिशत वाह्य पर्यटकले बन्दिपुरमा रात बिताएको बन्दिपुर पर्यटन विकास समितिको अनुमान छ ।

‘नयाँ वर्षलाई स्वागत् गर्दै बन्दिपुरमा पर्यटक भित्र्याउनका लागि सडक खाना महोत्सव सञ्चालन गरिएको थियो’, उनले भने, ‘तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा हजारौंको संख्यामा अन्तरिक पर्यटक आए । केही भारत, जर्मनीबाट पनि पर्यटक आए तर, बास बस्नेको संख्या भने न्यून थियो ।’

सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच, पुतली च्वे लगायतका साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ले संगितिक प्रस्तुत दिएको थियो । धेरै जसो आन्तरिक पर्यटक बन्दिपुरमा आफै खाजा, पानी लगायतका खानेकुरा बोकेर पुगेका थिए ।

कोरोनाको कहरपछि बन्दिपुरमा यत्तिको मात्रमा पर्यटकको आगमन हुँदा पर्यटन व्यवसायीलाई उत्साह थपेको पर्यटन व्यवसायी बइस गुरुङ बताउँछन् । ‘नयाँ वर्षसंगै पर्यटकको आगमन वृद्धि हुनेमा हामी बिश्वस्ता छौं’, उनले भने, ‘बन्दिपुर घुम्न पर्यटक त आउँछन् तर उनीहरुको बसाइ लम्बिन नसक्दा व्यवसायमा खासै सुधार आउन सकेको छैन । पर्यटकको बसाइ लम्ब्याउन अब पर्यटन व्यवसायी, स्थानीय सरकार तथा सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’

यस्तै, स्थनीय तहको निर्वाचनको मिति नजिकिएसंगै बन्दिपुर पर्यटन व्यवसायीहरुले गाउँपालिकाको नेतृत्वमा अब बन्दिपुर र पर्यटन क्षेत्रको महत्व बुझेको व्यक्ति आउनेपर्ने बताउन थालेका छन् । बन्दिपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङले भने, ‘बन्दिपुर गाउँपालिकाका वर्तमान जनप्रतिनिधिले पर्यटन लक्षित पूर्वाधार निर्माणमा जोड दिएपनि विकासका नाममा विनास निम्त्याउने खतरा बढ्दै गएको छ ।’

‘पर्यटनलाई बन्दिपुर बजारमा मात्र सिमित राख्ने गरी नभई आसपासका सबै क्षेत्र समुदायलाई समेट्ने गरी स्पष्ट कार्यदिशा सहितको नेतृत्व बन्दिपुरले खोजेको छ’, व्यवसायी गुरुङ भने, ‘हामीले बनाउने पूर्वाधार पर्यटनमैत्री मात्र होइन सम्पदाको संरक्षण तथा पर्यवरणलाई समेत खलल् नपुग्ने हुनर्ुपर्छ । तर, अहिले त्यसको विपरित भइरहेको हामीले महशुस गरिरहेका छौं ।’


यस्तै, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका सभापति घनश्याम उपाध्यायले भने, ‘गाउँपालिकाले पर्यटन लक्षित पूर्वाधारहरु निर्माण गर्ने तथा आकर्षक नारा सहितको योजनाहरु पनि अगाडि ल्याएको छ तर, त्यसको कार्यान्वयनको पाटो फितलो बनेको छ । दीर्घकालिन भन्दा पनि क्षणिक चमकधम तर्फ केन्द्रित हुने तथा स्थानीय सरोकारवाला संघ संस्था, स्थानीयसंग समन्व बिना गरिएको कामको जस समेत गाउँपालिकाले लिन सकेको छैन ।’

बन्दिपुरका पर्यटन व्यवसायीहरुले पर्यटन लक्षित पूर्वाधारमा करोडौ लगानि गरेका छन् । कोरोना कहरको चपेटामा पर्दा बैंकको ऋण तथा भाडा समेत तिर्न नसक्दा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएपनि स्थानीय सरकार, अन्य सरोकारवाला निकायले कुनै साथ सहयोग नदिएको होटल व्यवसायी विपिन प्रधान बताउँछन् ।

बन्दिपुरमा सानाठूला गरी ७७ होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, मनास्लु लगायतका हिमश्रृंखलका साथै पहाडका आकर्षक तरेलीहरु अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

गाउँपालिकाले बन्दिपुरमा पर्यटकको बसाइ लम्ब्याउने भन्दै ग्रेटवालको झल्को दिने गरी मिनी ग्रेटवाल (मणिमुकुन्देश्वरी पर्खाल), साइकल लेन, पदमार्ग निर्माण गरिरहेको छ भने सिसाको भ्यू प्वाइन्ट, क्रृतिम ताल लगायतका पूर्वाधारहरु निर्माण गर्नका लागि २० वर्षे गुरुयोजना समेत तयार गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker