तनहुँको म्याग्दे गाउँपालिकाका विदुर र एकल व्यक्तिलाई भत्ता वितरण
भञ्ज्याङ न्यूज

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ४७ जना विदुर र २९ जना एकल व्यक्तिलाई भत्ता वितरण गरेको छ । पालिकाले एकल भत्ता तर्फ ४० वर्ष उमेर कटेका अर्थात विवाह नै नगरेका र ज्येष्ठ नागरिक भत्ता पनि प्राप्त नगरेका २९ जना महिला तथा पुरुषलाई एकल भत्ता वितरण गरेको हो ।
पालिकाले विवाह गरेर श्रीमान तथा श्रीमती वितेर दोश्रो विवाह नगरी बसेका र ज्येष्ठ नागरिक भत्ता समेत प्राप्त नगरेका ४७ जनालाई बिदुर भत्ता वितरण गरेको छ । यसैगरि पालिकाले यस आर्थिक वर्षमा सम्वन्धित वडा कार्यलयबाट सिफारिस भई आएका ८६ जना विभिन्न प्रकारको अपाङ्गता भएका ग र घ वर्गका व्यक्तिलाई अपाङ्गता भत्ता वितरण गरेको छ ।
समाजमा रहेका विभिन्न प्रकारले बाध्यात्मक जीवन व्यतित गर्ने व्यक्तिहरुलाई जीवन यापनमा केही सहज होस भन्ने हेतुले विदुर, एकल र अपाङ्गता भत्ता वितरण गरेको पालिकाले जनाएको छ । यस आर्थिक वर्षा पालिकाले विदुर, एकल र अपाङ्गता भत्ता वापत कुल १६२ जनालाई माशिक ५ सय रुपैयाँका दरले ९ लाख ६९ हजार पाँच सय रुपैयाँ वितरण गरेको छ ।











