दलहरुबीच सहमति : सुन तस्करीको छानबिन गर्न अर्को महिना जाँचबुझ आयोग

काठमाडौं । संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार २ साउनमा ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउनेछ ।

सुन तस्करीमा भइरहेको अनुसन्धानमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । सुरुमा गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाएको एमालेले पछिल्लो समय जाँचबुझ आयोगलाई शर्त बनायो ।

तर एमालेले संसद अवरोध गर्दै आएको करिब एक महिनापछि दलरुबीच ६० किलो भन्दा बढी सुन तस्करीमा सीआईबीले अनुसन्धान सकेलगत्तै आयोग बनाउने सहमति भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने छ ।’

साथै इलेक्ट्रिक सिगरेट (भेप्स) मा राखेर ल्याएको सुन, ब्रेक शुमा लुकाएर ल्याएको सुन लगायतका तस्करीको छानबिन अनुसन्धानबारे अध्ययन गर्ने र संरचनागत तथा कानुनी सुधारका लागि सुझाव दिने गरी जाँचबुझ आयोग बनाउने सहमति पनि भएको छ ।

सहमतिमा भनिएको छ, ‘…जाँचबुझ आयोग ऐन २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ ।’

एमाले प्रमुख सचेतक पदम गिरीले २ साउनमा बरामद भएको सुनबारे सीआईबीले अनुसन्धान सकेर मुद्दा अघि बढाएलगत्तै आयोग बनाउने सहमति भएको बताए ।

सीआईबीले उच्च पदस्थ व्यक्तिहरुसम्म पुगेर छानबिन गर्छ भन्नेमा आशंका रहेकाले आयोग बनाउनुपरेको उनले बताए । यो आयोगले तथ्य प्रमाणले देखिए जो सुकैलाई पनि छानबिनको दायरामा ल्याउन सक्ने प्रमुख सचेतक गिरीले बताए ।

‘अब कम्तीमा भेपमा लुकाएर ल्याएको सुन, साउन २ गते तस्करी भएको आएको सुन लगायतका घटनाबारे उच्चस्तरीय आयोगले छानबिन गर्छ, अध्ययन गर्छ र भविष्यमा यस्ता खालका तस्करी नहुने सुनिश्चितता हुने गरी प्रतिवेदन बुझाउनेछ’, आयोग बनाउने सहमति ठूलो उपलब्धी भएको भन्दै प्रमुख सचेतक गिरीले भने, ‘तस्करीबाट मुक्त गराउन सकिन्छ भन्ने विश्वास जागेको छ ।’

हेर्नुहोस् सहमति

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker