बाल स्वास्थ्यमा आयुर्वेद

शम्भु चापागाई

१. प्रस्तावना: राष्ट्र निर्माणमा बाल स्वास्थ्यको अपरिहार्यता बालबालिकाहरू कुनै पनि राष्ट्रको भविष्य, प्राण र समृद्धिका आधार स्तम्भ हुन् । एउटा स्वस्थ बालबालिकाको जगमा नै अन्ततः स्वस्थ समाज र बलियो राष्ट्रको परिकल्पना सम्भव हुन्छ । वर्तमान समयमा बाल स्वास्थ्य भन्नाले केवल शारीरिक रोगको अनुपस्थिति मात्र नभई उनीहरूको मानसिक, बौद्धिक र सामाजिक पक्षको समग्र सन्तुलनलाई बुझिन्छ । आधुनिक युगमा असन्तुलित खानपान, प्रदूषण, मोबाइल तथा डिजिटल उपकरणको अत्यधिक प्रयोग र शारीरिक सक्रियताको कमीले बालबालिकाको स्वास्थ्यलाई गम्भीर चुनौती दिएको छ । यस्तो अवस्थामा प्राचीन आयुर्वेदले प्रस्तुत गर्ने “समग्र स्वास्थ्य दृष्टिकोण” (Holistic Approach) अत्यन्तै सान्दर्भिक देखिन्छ, जसले रोगको उपचारभन्दा बढी रोग लाग्नै नदिने (Prevention) र स्वास्थ्यको रक्षा गर्ने पक्षमा जोड दिन्छ ।

२. ऐतिहासिक तथा नीतिगत पृष्ठभूमि: नेपालको स्वास्थ्य प्रणालीमा आयुर्वेद नेपालको स्वास्थ्य प्रणालीको इतिहास शताब्दीयौँ पुरानो छ, जहाँ परम्परागत उपचार पद्धति र आयुर्वेदको महत्वपूर्ण स्थान रहेको छ । वि.सं. ९३५ (८७९ ई.सं.) सम्म नेपालको स्वास्थ्य प्रणाली मुख्यतया परम्परागत औषधि र विशेष गरी आयुर्वेदमा आधारित थियो । वि.सं. २०१५ मा राष्ट्रिय स्वास्थ्य सेवाको संस्थागत विकास हुनुपूर्व आयुर्वेद नै स्वास्थ्यको मुख्य आधार थियो ।

नेपाल सरकारले आयुर्वेदलाई राष्ट्रको मौलिक चिकित्सा पद्धतिको रूपमा स्वीकार गर्दै विभिन्न नीतिहरू तर्जुमा गरेको छ। ‘राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२’ ले स्थानीय जडीबुटीको क्लिनिकल उपयोग बढाउने र आयुर्वेदलाई पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । त्यस्तै, ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ ले आयुर्वेद, प्राकृतिक चिकित्सा र योगलाई एकीकृत रूपमा विकास र विस्तार गर्ने रणनीति अंगीकार गरेको छ । हाल नेपाल सरकारको ‘आधारभूत स्वास्थ्य सेवा’ (BHS) प्याकेजमा पनि आयुर्वेदका पञ्चकर्म, योग र स्तनपान गराउने आमाहरूका लागि शतावरी वितरण जस्ता सेवाहरू समावेश गरिएको छ ।

३. कौमारभृत्य: आयुर्वेदको बालरोग विज्ञान र आधारभूत अवधारणा आयुर्वेदको आठ महत्वपूर्ण शाखाहरू (अष्टाङ्ग आयुर्वेद) मध्ये बाल स्वास्थ्यसँग सम्बन्धित विशिष्ट शाखालाई “कौमारभृत्य” भनिन्छ । यसले गर्भाधान पूर्वदेखि बाल्यावस्था र किशोरावस्थासम्मको शारीरिक तथा मानसिक विकासको वैज्ञानिक व्याख्या गर्दछ साथै बालकको भरण एवं पोषण तथा आमाको दूधमा हुने विकारको शोधन को व्याख्या गरेको पाईनछ ।

आयुर्वेदको मूल सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च” (स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु)  यही सिद्धान्त बाल स्वास्थ्यमा पनि लागू हुन्छ । बालकको शरीर अत्यन्त कोमल, संवेदनशील र विकासोन्मुख हुन्छ । शारीरिक प्रकृतिको आधारमा बाल्यावस्थालाई “कफ प्रधान अवस्था” मानिन्छ, जहाँ कफ दोषले शरीरको वृद्धि, पोषण र स्थिरतासँग सम्बन्धित मानिएको छ । यो अवधारणा आयुर्वेदको पारम्परिक शरीर-क्रिया विज्ञानमा आधारित व्याख्या हो ।

प्राचीन ग्रन्थहरू, विशेष गरी काश्यप संहिताले आहार र पोषणको आधारमा बाल्यावस्थालाई तीन मुख्य चरणमा वर्गीकरण गरेको छ:

  1. गर्भ
  2. बाल
  • क्षीरप अवस्था (Infancy): जन्मदेखि १ वर्षसम्म, जहाँ शिशु पूर्ण रूपमा आमाको दूधमा मात्र निर्भर रहन्छ ।
  • कुमार
  • क्षीरान्नाद अवस्था (Toddlerhood): १ देखि २ वर्षसम्म, जहाँ दूधका साथै अन्न वा ठोस आहारको सुरुवात गरिन्छ ।
  • अन्नाद अवस्था (Childhood): २ वर्षपछि, जहाँ बालक मुख्य रूपमा अन्न र अन्य ठोस आहारमा निर्भर हुन्छ ।

यसरी वर्गीकरण गर्नाले बालकको पाचन प्रणालीको परिपक्वता अनुसार आहार र औषधिको व्यवस्था गर्न सहज हुन्छ ।

४. गर्भावस्था: स्वस्थ बालकको आधारशीला (परिमार्जित)

स्वस्थ बालकको जग गर्भावस्थामा नै निर्माण हुन्छ भन्ने आयुर्वेदको दृढ विश्वास छ । गर्भवती महिलाको आहार, विहार र मानसिक अवस्थाले गर्भस्थ शिशुको शारीरिक तथा मानसिक विकासमा प्रभाव पार्न सक्छ ।

  • गर्भिणी परिचर्या: आयुर्वेदले गर्भवती महिलाका लागि सन्तुलित मात्रामा पौष्टिक बोसो, दूध, ताजा फलफूल र विविध पौष्टिक आहारमा जोड दिएको छ । आधुनिक अनुसन्धानले पनि गर्भावस्थाको पोषणले epigenetic mechanisms मार्फत शिशुको दीर्घकालीन स्वास्थ्यमा प्रभाव पार्न सक्ने विषयलाई महत्व दिएको छ ।
  • मानसिक स्वास्थ्य: आमाको तनाव, भय, क्रोध वा चिन्ताले शिशुमा नकारात्मक प्रभाव पार्ने भएकाले सकारात्मक सोच, योग र ध्यानमा जोड दिनु आवश्यक हुन्छ । आमा र शिशुको भावनात्मक सम्बन्ध गर्भावस्थादेखि नै सुरु हुने भएकाले यस समयमा शान्त वातावरणको आवश्यकता रहन्छ ।

५. बाल पोषण र आयुर्वेद: अमृत समान स्तनपान आयुर्वेदले आहारलाई जीवनको मुख्य आधार वा “महाभेषज” मानेको छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि उचित पोषण अनिवार्य छ।

  • स्तनपानको महत्व: आयुर्वेदमा आमाको दूधलाई शिशुको लागि “सर्वोत्तम आहार” मानिएको छ । आधुनिक विज्ञानले पनि आमाको दूधमा हुने प्रतिरक्षात्मक तत्वहरूले (Immunological factors) शिशुलाई संक्रमणबाट जोगाउन मद्दत गर्ने कुरा स्वीकार गरेको छ ।
  • अन्नप्राशन संस्कार: छ महिना पुगेपछि शिशुलाई सुपाच्य तथा पौष्टिक पूरक आहार दिन सुरु गर्ने प्रक्रियालाई आयुर्वेदमा “अन्नप्राशन संस्कार” भनिन्छ ।
  • आधुनिक पोषणका चुनौती: वर्तमान समयमा जंक फुड, अत्यधिक प्रशोधित खाद्य पदार्थ तथा चिनीजन्य पेय पदार्थको बढ्दो प्रयोगले बाल स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । आयुर्वेदले यसको सट्टा ताजा भोजन, मौसमी फलफूल, दाल तथा सन्तुलित प्राकृतिक आहारमा जोड दिन्छ ।
  • खोप र सार्वजनिक स्वास्थ्य: बाल स्वास्थ्य संरक्षणका लागि नियमित खोप (Routine Immunization), पोषण, सरसफाइ, स्तनपान तथा समयमै उपचार आधुनिक सार्वजनिक स्वास्थ्यका अत्यन्त प्रभावकारी उपायहरू मानिन्छन् । आयुर्वेदिक जीवनशैलीका सिद्धान्तहरू यी कार्यक्रमहरूको पूरक रूपमा उपयोगी हुन सक्छन् ।

नेपालको राष्ट्रिय स्वास्थ्य प्रतिवेदन २०८०/८१ अनुसार ५ वर्षमुनिका १९% बालबालिकामा अझै पनि कम तौलको समस्या छ र करिब ४३% बालबालिका रक्तअल्पताबाट ग्रसित छन् । यस्तो अवस्थामा आयुर्वेदिक पोषण सिद्धान्तको पालना प्रभावकारी हुन सक्छ।

६. स्वर्णप्राशन: व्याधिक्षमता (Immunity) वृद्धिको कुञ्जी आजको युगमा संक्रमणजन्य रोगहरूबाट बालबालिकालाई बचाउनु ठूलो चुनौती हो । स्वर्णप्राशन आयुर्वेदमा वर्णित एक अत्यन्त प्रभावशाली विधि हो, जसले बालबालिकाको स्मरणशक्ति, बौद्धिक क्षमता र रोग प्रतिरोधात्मक शक्तिमा अभूतपूर्व सुधार ल्याउँछ । काश्यप संहितामा स्वर्णप्राशनको महत्व यसरी बताइएको छ: स्वर्णप्राशनं हि एतन्मेधाग्निबलवर्धनम् । आयुष्यं मङ्गलं पुण्यं वृष्यं ग्रहापहम् ॥” । स्वर्ण भस्म, घ्यू, मह र विभिन्न मेध्य जडीबुटीहरूको मिश्रणबाट तयार गरिने यो औषधिले ‘Immunomodulator’ को रूपमा काम गर्छ । यसका मुख्य लाभहरू निम्नुअनुसार छन्:

  • रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि: यसले बालबालिकालाई पटक-पटक बिरामी हुनबाट जोगाउँछ ।
  • बौद्धिक र मानसिक विकास: स्मरणशक्ति र एकाग्रता बढाउन सहयोग गर्छ ।
  • पाचनमा सुधार: बालकको पाचन शक्ति सुधार्छ, जसले गर्दा पोषणको राम्रो अवशोषण हुन्छ ।

नेपालका धेरै आयुर्वेदिक चिकित्सालयहरूमा हाल यो स्वर्णप्राशन कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

७. सामान्य बालरोग र आयुर्वेदिक व्यवस्थापन बालबालिकामा देखिने सामान्य स्वास्थ्य समस्याहरूलाई आयुर्वेदिक र घरेलु औषधिहरूको माध्यमबाट सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ: १. ज्वरो: दोषहरूको असन्तुलनका कारण हुने ज्वरोमा तुलसी, गुर्जो र अदुवा जस्ता जडीबुटीहरू प्रभावकारी हुन्छन् । २. पाचन समस्या: अपच, कब्जियत र पेट दुख्ने समस्यामा जीरा, अजवाइन र त्रिफलाको प्रयोग लाभदायक हुन्छ । ३. खोकी र रुघाखोकी: मह, अदुवा, तुलसी र हल्दीको मिश्रणले प्राकृतिक एन्टिबायोटिकको काम गर्छ। ४. छालाका समस्या: एलर्जी र घमौरामा नीम र हरिद्रा (बेसार) को प्रयोगले छाला स्वस्थ राख्छ ।

हल्दीमा हुने ‘ Curcumin’ ले शरीरमा हुने जलन (Inflammation) कम गर्ने र संक्रमण रोक्ने वैज्ञानिक आधार समेत प्रमाणित छ । तथापि गम्भीर संक्रमण वा जटिल रोगहरूको अवस्थामा चिकित्सकीय उपचार आवश्यक हुन्छ ।

८. प्रारम्भिक बालविकास (ECD), सार्वजनिक स्वास्थ्य र आयुर्वेदको तालमेल

नेपालको ‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८’ ले बालबालिकाको सर्वाङ्गीण विकासका लागि “उचित स्याहारको ढाँचा” (Nurturing Care Framework) अगाडि सारेको छ । यसका पाँच आयामहरू आयुर्वेदका सिद्धान्तहरूसँग निकै मेल खान्छन्:

  • राम्रो स्वास्थ्य र पर्याप्त पोषण: आयुर्वेदको दिनचर्या, ऋतुचर्या र सन्तुलित आहार व्यवस्थापनले यसलाई सम्बोधन गर्दछ ।
  • संवेदनशील स्याहार र सुरक्षा: आयुर्वेदले बालकको कोमल प्रकृति अनुसारको व्यवहार, नियमित स्याहार र मानसिक सुरक्षामा जोड दिन्छ ।
  • प्रारम्भिक सिकाइ: खेल, कथा, संगीत, योग र सकारात्मक वातावरणले बालकको बौद्धिक तथा भावनात्मक विकासमा सहयोग पुर्‍याउँछ ।
  • मानसिक स्वास्थ्य: सात्विक भोजन, पर्याप्त निद्रा, परिवारसँगको आत्मीयता र ध्यानले मानसिक सन्तुलन कायम राख्न मद्दत पुर्‍याउँछ ।

नेपाल सरकारले सञ्चालन गरिरहेको ‘एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन’ (IMNCI) कार्यक्रम evidence-based pediatric care मा आधारित महत्वपूर्ण सार्वजनिक स्वास्थ्य कार्यक्रम हो । पोषण, स्वस्थ जीवनशैली, स्तनपान प्रवर्द्धन, मानसिक स्वास्थ्य तथा रोग रोकथामका क्षेत्रमा आयुर्वेदका केही पक्षहरूलाई पूरक रूपमा समन्वय गर्न सकिने सम्भावना रहेको छ ।

(क) सरसफाइ, सुरक्षित पानी र संक्रमण रोकथाम

बाल स्वास्थ्य संरक्षणमा औषधिको मात्र नभई सरसफाइ र वातावरणीय स्वास्थ्यको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार बालमृत्युदर घटाउन हात धुने बानी, सुरक्षित खानेपानी र सरसफाइ प्रभावकारी उपायहरू हुन् ।

  • साबुनपानीले नियमित हात धुने बानीले झाडापखाला, श्वासप्रश्वास संक्रमण र अन्य संक्रामक रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ ।
  • सुरक्षित र शुद्ध खानेपानीको प्रयोगले पानीजन्य रोगहरू रोक्न सहयोग पुर्‍याउँछ ।
  • खुला दिसामुक्त वातावरण, शौचालयको प्रयोग र फोहोर व्यवस्थापन बाल स्वास्थ्यका आधारभूत सार्वजनिक स्वास्थ्य उपायहरू हुन् ।

आयुर्वेदले पनि “शौच”, “स्वच्छता” र वातावरणीय सन्तुलनलाई स्वास्थ्य संरक्षणको महत्वपूर्ण आधार मानेको छ ।

(ख) कुपोषण, वृद्धि अनुगमन र पोषण सुरक्षा

नेपालमा अझै पनि बाल कुपोषण सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौतीको रूपमा रहेको छ । Underweight (कम तौल), Stunting (होचोपन), Wasting (दुब्लोपन) र रक्तअल्पता जस्ता समस्याहरूले बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा दीर्घकालीन असर पार्न सक्छन् ।

त्यसैले:

  • नियमित Growth Monitoring (तौल, उचाइ र वृद्धि अनुगमन)
  • सन्तुलित पोषण
  • स्तनपान
  • सूक्ष्म पोषक तत्व (Micronutrients)
  • समयमै पूरक आहार

अत्यन्त आवश्यक मानिन्छन् ।

आयुर्वेदले पनि बालकको “अग्नि” (पाचन क्षमता), सुपाच्य आहार र प्राकृतिक पोषणमा जोड दिएको पाइन्छ । आधुनिक पोषण विज्ञान र आयुर्वेदिक आहार व्यवस्थापनबीच सन्तुलित समन्वयले बाल पोषण सुधारमा सकारात्मक योगदान दिन सक्छ ।

(ग) खोप (Vaccination) र आधुनिक सार्वजनिक स्वास्थ्यको महत्व

बाल स्वास्थ्य संरक्षणका लागि नियमित खोप (Routine Immunization) आधुनिक सार्वजनिक स्वास्थ्यको सबैभन्दा सफल र प्रभावकारी कार्यक्रमहरूमध्ये एक मानिन्छ । खोपले दादुरा, पोलियो, डिप्थेरिया, टिटानस, हेपाटाइटिस लगायतका गम्भीर रोगहरूबाट बालबालिकालाई सुरक्षा प्रदान गर्दछ ।

आयुर्वेदले रोग प्रतिरोधात्मक क्षमता, उचित आहार, स्वस्थ जीवनशैली र शरीरको सन्तुलनमा जोड दिए पनि खोपको विकल्पको रूपमा लिनु उपयुक्त हुँदैन । आधुनिक खोप कार्यक्रम र आयुर्वेदिक स्वास्थ्य प्रवर्द्धनका उपायहरूलाई पूरक रूपमा प्रयोग गर्दा बाल स्वास्थ्यमा अझ राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।

(घ) Antibiotic Resistance र जिम्मेवार उपचार

हाल विश्वव्यापी रूपमा Antibiotic Resistance ठूलो सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ । चिकित्सकको सल्लाहबिना अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्दा औषधिप्रति जीवाणुको प्रतिरोध क्षमता बढ्न सक्छ ।

घरेलु तथा आयुर्वेदिक उपायहरूले सामान्य रुघाखोकी, घाँटी दुख्ने वा हल्का पाचन समस्यामा केही symptomatic relief दिन सक्ने भए पनि सबै संक्रमणको उपचार घरेलु औषधिबाट सम्भव हुँदैन । विशेष गरी:

  • निमोनिया
  • गम्भीर संक्रमण
  • नवजात शिशुको संक्रमण
  • झाडापखालाबाट हुने निर्जलीकरण

जस्ता अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु आवश्यक हुन्छ ।

त्यसैले आयुर्वेदिक तथा आधुनिक उपचार दुवैको जिम्मेवार, वैज्ञानिक र सन्तुलित प्रयोग आवश्यक छ ।

(ङ) Red Flag Symptoms: तुरुन्त चिकित्सकीय सहायता आवश्यक पर्ने अवस्था

बालबालिकामा केही लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु अत्यावश्यक हुन्छ । जस्तै:

  • अत्यधिक वा लगातार उच्च ज्वरो
  • सास फेर्न गाह्रो हुनु
  • निर्जलीकरण (शरीरमा पानीको कमी)
  • लगातार बान्ता वा पखाला
  • बेहोसपन वा अत्यधिक सुस्तता
  • दौरा (Fits/Convulsions)
  • खाना वा दूध खान छोड्नु
  • छालाको निलोपन वा श्वासको तीव्र समस्या

नेपाल सरकारले बाल स्वास्थ्यमा सुधार ल्याउन ‘एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन’ (IMNCI) कार्यक्रम सञ्चालन गरिरहेको छ, जसमा आयुर्वेदका स्वस्थ जीवनशैलीका पाटाहरूलाई जोड्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।

९. मानसिक स्वास्थ्य, योग र जीवनशैली डिजिटल लत, एकाग्रताको कमी र चिडचिडापन जस्ता आधुनिक मानसिक समस्याहरूको समाधानका लागि आयुर्वेदले सात्विक भोजन र योगमा जोड दिएको छ ।

  • योग र ध्यान: बालयोगले बालबालिकाको आत्मविश्वास बढाउन, तनाव कम गर्न र मानसिक शान्ति प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
  • दिनचर्या: बिहान चाँडै उठ्ने, नियमित व्यायाम गर्ने र पर्याप्त निद्रा लिने बानीले बालबालिकालाई अनुशासित र स्वस्थ बनाउँछ ।
  • ऋतुचर्या: मौसम अनुसारको खानपान अपनाउँदा शरीर बाह्य वातावरणसँग अनुकूल हुन सक्छ ।

१०. आयुर्वेद र आधुनिक चिकित्सा: Integrative Child Health को अवधारणा

बाल स्वास्थ्यको क्षेत्रमा आयुर्वेद र आधुनिक चिकित्सा दुवैका आफ्नै सबल पक्षहरू छन् । आधुनिक अवधारणाअनुसार यी दुई प्रणालीलाई प्रतिस्पर्धी होइन, पूरक (Complementary) दृष्टिकोणबाट हेर्नु अधिक उपयोगी हुन्छ । यसलाई “Integrative Child Health” को अवधारणाले स्पष्ट गर्दछ ।

आयुर्वेदका प्रमुख योगदान: आधुनिक चिकित्साका प्रमुख योगदान:
·       रोग रोकथाम (Prevention) ·       खोप कार्यक्रम
·       पोषण र जीवनशैली व्यवस्थापन ·       आपतकालीन उपचार
·       मातृ तथा गर्भावस्था स्याहार ·       नवजात शिशु सघन उपचार
·       मानसिक स्वास्थ्य र योग ·       गम्भीर संक्रमण व्यवस्थापन
·       दीर्घकालीन स्वास्थ्य प्रवर्द्धन ·       शल्यचिकित्सा तथा वैज्ञानिक निदान

Evidence-based medicine र परम्परागत ज्ञानबीच उचित समन्वय र सहकार्यबाट बालबालिकालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।

११. चुनौती र भविष्यको बाटो बाल स्वास्थ्यमा आयुर्वेदको यति धेरै महत्व हुँदाहुँदै पनि केही गम्भीर चुनौतीहरू विद्यमान छन्:

  • वैज्ञानिक अनुसन्धानको कमी: आयुर्वेदिक सिद्धान्तहरूलाई आधुनिक वैज्ञानिक मापदण्डमा प्रमाणित गर्न थप अनुसन्धानको आवश्यकता छ ।
  • गुणस्तरीय औषधिको अभाव: बजारमा उपलब्ध आयुर्वेदिक औषधिहरूको गुणस्तर र शुद्धता सधैँ प्रत्याभूत हुन सकेको छैन ।
  • जनचेतनाको कमी: धेरै अभिभावकहरू अझै पनि आयुर्वेदको वैज्ञानिक पक्ष र यसको महत्वबारे अनभिज्ञ छन् ।

समाधानका उपायहरू: १. विद्यालय स्तरको पाठ्यक्रममा आयुर्वेदिक स्वास्थ्य शिक्षा, योग र औषधीय वनस्पतिको ज्ञान समावेश गर्ने । २. सरकारी तहबाट आयुर्वेद अनुसन्धान र गुणस्तर नियन्त्रणमा लगानी बढाउने । ३. अभिभावकहरूलाई मोबाइलको सट्टा खेलकुद र पौष्टिक आयुर्वेदिक आहारतर्फ प्रेरित गर्ने ।

१२. निष्कर्ष स्वस्थ बालबालिका नै स्वस्थ राष्ट्रका आधार हुन् । आयुर्वेदले बाल स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक र जीवनशैलीगत दृष्टिकोणबाट हेर्दै रोग रोकथाम, पोषण, योग, मातृ स्याहार र मानसिक सन्तुलनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

त्यसैगरी आधुनिक चिकित्सा प्रणालीले खोप, आपतकालीन सेवा, नवजात शिशु उपचार, वैज्ञानिक परीक्षण र गम्भीर रोग व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आजको आवश्यकता “Ayurveda versus Modern Medicine” होइन, बरु “Integrative Child Health” को सन्तुलित अवधारणा हो, जहाँ प्रमाणमा आधारित आधुनिक चिकित्सा र जीवनशैलीमा आधारित आयुर्वेदिक ज्ञानबीच सहकार्य स्थापित गरिन्छ ।

यदि सार्वजनिक स्वास्थ्य नीति, वैज्ञानिक अनुसन्धान, पोषण, सरसफाइ, मानसिक स्वास्थ्य, खोप तथा सुरक्षित परम्परागत अभ्यासहरूलाई समन्वित रूपमा लागू गर्न सकियो भने भविष्यमा स्वस्थ, सक्षम र समृद्ध पुस्ता निर्माण गर्न महत्वपूर्ण योगदान पुग्न सक्छ ।

(लेखक प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका वरिष्ठ कविराज निरीक्षक हुन्)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker