पृथ्वीराजमार्ग विस्तारको सकस : वर्षाका कारण सडक हिलाम्य हुँदा यात्रा सकसपूर्ण

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । राजमार्गको आँवुखैरेनी-जामुनेलाई पूर्वी र जामुने-पोखरालाई पश्चिम खण्ड गरी दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्य अगाडि बढाइएको छ । राजमार्गको पूर्वीखण्ड अन्तर्गत आँवुखैरेनी-जामुने खण्डमा सडक विस्तारको कामले गति लिएपनि पश्चिम खण्डको अपेक्षित प्रगति हुन सकेको छैन । सडक विस्तारको कामलाई तीब्रता दिन नसक्दा अहिले पश्चिम खण्डको यात्रा निकै सकसपूर्ण बन्दै गएको छ । यस खण्डमा घामलाग्दा धुलो र पानी पर्दा हिलोले सताउने गरेको छ ।

यति मात्र होइन केही दिन यता परेको पानीले राजमार्गको पश्चिम खण्डको यात्रा निकै सकसपूर्ण बनेको छ । तनहुँ सदरमुकाम दमौलीबाट खैरेनीटारसम्मको दूरी करिब २२ किलोमिटर छ । राजमार्ग सहज हुँदा यो दूरी आधा घण्टामा पुरा हुन्छ । तर, बिहीबार दमौलीबाट बिहान साढे १० बजे बस चढेका यात्रुले २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार पुग्न कम्तीमा चार घण्टा खर्चिनुपरेको छ ।

दमौलीबाट बिहान १० बजे सार्वजनिक बसबाट भिमाद जाँदै गरेका ५५ वर्षीय भिमबहादुर आले मगर खैरेनीटार पुग्दा दिउँसोको पौने ३ बजेको थियो । छोटो दूरीको यो सडक पुरा गर्न खेप्नुपरेको सकस अरु केही नभई बिस्तारको क्रममा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदाको कारण थियो ।

पोखरा-आँबुखैरेनी खण्ड बिस्तार चलिरहँदा सडकको अधिकांश भाग भत्काइएको छ । त्यही राजमार्ग भएर दिनहुँ हजारौं सवारी विभिन्न गन्तव्यका लागि ओहोरदोहोर गर्छन्। पृथ्वी राजमार्गको पोखरा-मुग्लिन खण्ड अन्तर्गत पोखरा-आँबुखैरेनी (८०किमि) सडक अहिले दुइ खण्डमा बाँडेर बिस्तार भइरहेको छ । पूर्वीखण्ड (आँबुखैरेनी-जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने-पोखरा ३९ किलोमिटर) पर्छ । पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै भएको छ । यो खण्डको यात्रा अहिले केही सहज बन्दै गएको छ ।

राजमार्ग बिस्तार भइरहँदा यतिबेलाको वर्षाले सडक अस्तव्यस्त छ । राजमार्ग फराकिलो बनाउनका लागि आँबुखैरेनीदेखि पोखरासम्मैको भाग भत्काइएको छ । त्यसमध्ये पूर्वी खण्डमा धेरै भाग कालोपत्रे पनि भइसकेको छ । तर पश्चिम खण्डमा भने कामको गति अझै सुस्त छ ।

बिस्तारको क्रममा रहेको राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ । बाटो चिप्लो बनेको छ । वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ । वर्षाको पानी जम्दा ट्र्याक पहिचान गर्न समेत चालकलाई सकस हुने गरेको दमौली-पोखराका यातायात व्यवसायीको गुनासो छ । चारपांग्रे साना र दुइपांग्रे सवारीको यात्रा त झनै सकसपूर्ण बन्ने गरेको सवारीचालकहरु बताउँछन् ।

‘बढीमा एकघण्टामा खैरेनीटार पुग्न सकिने आँकलन गरेर म दमौलीबाट बस चढेको हुँ । तर, २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार आउँदा मलाई चार घण्टा भन्दा बढी समय लाग्यो । बीचमै फर्किन पनि सकिन’, आले मगरले भने, ‘बाटोमा हिलोले गर्दा हिँडिनसक्नु छ । गाडी गुडाउनै सकस छ । ठाउँ ठाउँमा गाडी नै चिप्लिने डर छ । हिलोमा गाडी नै फस्ने पनि गरेका छन् ।’

हिलोमा फसेको गाडी निकाल्न नसक्दा पनि उत्तिकै अप्ठेरो पर्ने गरेको उनले बताए । यतिसम्मकी गाडीको पुरै टायर नै हिलोमा गाडिने अवस्था रहेको उनले बताए । उनका अनुसार सबैभन्दा बढी सकस डाइभर्सनमा छ । साँघुरो डाइभर्सनमा गाडी उक्लिनै नसकेको उनले बताए । उनका अनुसार जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, लगायतका ठाउँमा यात्रा निकै नै सकसपूर्ण छ। जाममा फसेका गाडीका कारण यात्रा नै अनिश्चित बनेको उनले बताए ।

वर्षासँगै अहिले राजमार्गको यात्रा अवधि समेत बताउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाई छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरि अधिकारीका अनुसार काठमाडौंबाट बिहान ७ बजे छुटेका पर्यटक बस दिउँसो ४ बजेभित्र पोखरा आईपुग्नु पर्ने भएपनि बुधबार बेलुकी ६ बजेमात्र आएको थियो ।

‘कुन बेला कहाँ रोकिनुपर्छ भन्ने यकिन छैन । सडकयात्रा सकसपूर्ण छ’, अधिकारीले भने, ‘यसैपनि राजमार्ग बिस्तारले सकस थियो । त्यसैमा हिलोका कारण झनै सकसपूर्ण यात्रा बनेको छ ।’ अधिकारीका अनुसार अहिले गन्तव्यमा कतिबजे पुग्न सकिन्छ भनेर समेत भन्न सकिने अवस्था छैन। ‘पछिल्लो समय नियमितजसो दिउँसो ४ बजे बस पोखरा आइसकेका हुन्थे । तर, अहिले वर्षायामले गर्दा बाटो हिलाम्य भएकोले पनि हिँडडुल सहज छैन’, अधिकारीले भने ।

राजमार्ग अन्तर्गत पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी नारायण पौडेलका अनुसार वर्षायाम अघि नै सडकको नाली बनाउने योजना भएपनि अहिले नाली तयार नभइसकेकोले यो समस्या आएको हो । ‘आगामी वर्षायाम अघि नै नाली बनाएर वर्षाको पानी पन्छाउने योजना छ। अहिले खनेको माटोमा पानी परेपछि चिप्लो र हिलो भएको हो’, उनले भने, ‘कतिपय ठाउँमा डाइभर्सनमा पनि समस्या आएको हुनसक्छ ।’

एसियाली विकास बैंक

(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा-आँबुखैरेनीसम्मको दुइ लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ ।

आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी-जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ । यो रकम सडक बिस्तारका लागि मात्र हो ।

वर्षाले राजमार्ग विस्तार कार्य प्रभावित

यस्तै, वर्षाका कारण पृथ्वी राजमार्ग अर्न्तर्गत पोखरा-मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ । वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौंडा लगायत खण्डमा कालोपत्रको काम रोकिएको छ । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, ‘दुइ किलोमिटर क्षेत्रमा प्राइमर बिछयाइसकिएको थियो, वषर्ा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ।’ वर्षाकै कारण काम दुइ हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनको भनाइ छ ।

आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए । पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन् । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार तयारीको काम भइरहेको छ। कुनै अवरोध नआएमा आगामी दुइ वर्षाभित्र आयोजनाको काम सम्पन्न हुने उनले बताए ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८.८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए । हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

घाम लाग्दा सडक धुलाम्य र वर्षा हुँदा हिलाम्य हुँदा यातायात सञ्चालनमा असहज भएको छ । दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ। आयोजनाको पूर्वी खण्डमा पनि वर्षाका कारण सडक विस्तार र कालोपत्रको काम प्रभावित भएको छ । ४१.४५ किलोमिटर दूरीको पूर्वी खण्डमा हालसम्म ५१ प्रतिशत प्रगति भएको इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker