आदिकवि भानुभक्त क्याम्पसको वार्षिकोत्सव : सामुदायिक क्याम्पसको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले सोमबार ३७औं वार्षिकोत्सव कार्यक्रम गरेको छ । क्याम्पसको वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

‘सामुदायिक क्याम्पसको स्तरोन्नति र पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रदेश सरकार लागि परेको छ । शैक्षिक क्षेत्र गुणस्तर बनाउन नसकिए मुलुकको भविष्य अन्धकार हुन्छ । मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्ने थलो शैक्षिक क्षेत्र हो, त्यसको दायित्व सरकारले लिनैपर्छ ।’

मुख्यमन्त्री पाण्डेले सामुदायिक क्याम्पसको विकासको दायित्व सरकारले लिनुपर्छ भनेर यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम अगाडि बढाइएको भन्दै उनले यो कार्यक्रममार्फत अनुदानको व्यवस्था गरिने बताउँदै उनले भने, ‘सीमित स्रोत र साधनलाई असीमित चाहनासँग लय मिलाउँदै केही सहयोग गरिनेछ ।’

प्रदेशभित्रका ९० वटा सामुदायिक क्याम्पसका आवश्यकता सम्बोधनका लागि सरकारले रु पााँच करोड विनियोजन गरिएको उनले जानकारी गराए । मुख्यमन्त्री पाण्डेले भने, ‘राज्यले धेरै क्षेत्रमा लगानी गरेको छ । हरेक क्षेत्रको दायित्व सरकारले बेहोर्नुपर्छ भन्ने मानसिकता विकास भइरहेको छ । विशेषगरी शैक्षिक र स्वास्थ्यको दायित्व सरकारले लिनैपर्छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शिक्षाको गुणात्मक विकासका लागि स्थानीय तह अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सामुदायिक क्याम्पसको मर्मका बारेमा आफू जानकार रहेको छ । कार्यविधि बनाएर सामुदायिक क्याम्पसलाई अनुदान दिने नीति सरकारले लिएको छ ।’

मन्त्री आलेले भने, ‘सामुदायिक क्याम्पसमा विभिन्न समस्या छ, त्यो समस्याबारे म आफैँ जानकार छु, सामुदायिक क्याम्पसको विकासका लागि सरकार गम्भीर छ ।’ ‘माध्यमिक तहको शिक्षा सुदृढीकरणका लागि प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको छ’, उनले भने, ‘जहाँ विद्यार्थी छन् त्यहाँ पूर्वाधार छैन, जहाँ पूर्वाधार छ त्यहाँ विद्यार्थी छैनन् । यस्तो अवस्थाको अन्त्यका लागि सरकारले प्रयास गरेको छ ।’

शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै उनले जीवन उपयोगी शिक्षा र मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेकामा मन्त्री आलेले जोड दिए ।

गण्डकी प्रदेशससभा सदस्य एवं नेकपा (माओवादी) केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सामुदायिक क्याम्पसमा भुइँ तहका जनताका छोराछोरी अध्ययन गर्ने भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्यमा समाजवाद देखाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेशले अनुदान दिने नीति ल्याएको उल्लेख गरे ।

यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसलाई सम्बोधन हुने गरी अलग विश्वविद्यालयको प्रावधान अगाडि बढाउन माग गरे । उनले आग्रह पूर्वाग्रहबाट माथि उठेर क्याम्पसको विकासका लागि सबै पक्ष लागिरहेको उल्लेख गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समाजले माग गरेका शिक्षा क्याम्पसले प्रदान गर्दै आइरहेको बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शैक्षिक केन्द्रका रूपमा विकास भइरहेको क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिलाई जोड दिनुपर्ने बताए । उनले क्याम्पसलाई साझा शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले क्याम्पस गण्डकी प्रदेशकै अब्बल क्याम्पसको रूपमा विकास भइरहेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेकपा -एमाले) गण्डकी प्रदेश कमिटी सदस्य श्रीराम कार्की, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक ओमराज आले लगायतले शिक्षाको विकासमा प्राध्यापक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसलाई शैक्षिक एवं आर्थिकरूपमा सबल बनाउन प्रयासरत रहेको बताउँदै क्याम्पस देशकै उत्कृष्ट संस्थाका रूपमा विकास भइरहेको बताए । क्याम्पसले करिब चार सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसलाई सहयोग पुर्‍याउने म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी प्रा डा ध्रव अधिकारीलाई मुख्यमन्त्री पाण्डेले सम्मान गरेका छन् । विसं २०४३ मा स्थापित क्याम्पसमा व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट विद्यार्थी पठनपाठनका लागि आउने गरेका छन् ।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिएड, बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker