“पुरानो संस्कार र पि.बि. खड्काको नयाँ विचार”
देव बस्न्यात/ पि.बि. खड्का

सबैको मुखमा छिटो आउने नाम हो पि.बि. खड्का । तर उहाँको असली नाम भने पूर्णबहादुर खड्का हो । उहाँ वि.सं. १९९७ सालमा तनहुँ जिल्लाको साविक धरम्पानी गाउँ पञ्चायतको दारसेङदीमा जन्मनु भएको हो । ब्रिटिस गोर्खामा भर्ती हुँदा भने उहाँले आफ्नो जन्म मिति वि.सं. २००० साल लेखाउनु भएको छ । उहाँको बाबाले भारतको गान्धीघाटमा जीवन उत्सर्ग गरेका हुनाले पि.वि.जी ५/६ वर्षको उमेरमा नै टुहुरो बन्नु भयो । परिवारमा उहाँको एक भाइ र एक बहिनी पनि थिए ।
वि.सं. २०१७ साल मंसिर ४ गते लाहुर हिडेका पि.वि. बडो कष्टका साथ पक्लिहवा पुगेका थिए । तौलमा नपुग्दा र जात नढाँट्दा पनि लाउरे भएका पि.वि. लामो समय सैनिक सेवामा रहेर २ वर्ष ८२ दिन अगावै सैनिक सेवाबाट अवकास लिने निर्णय गरे । लमजुङ तान्द्र्राङ निवासी क्या आशबहादुर गुरुङको सहमती र सिफारिसमा सैनिक सेवा अवधी नपुग्दा पनि २ वर्ष ८२ दिन सेवाअवधि थप गरेर उहाँलाई निवृतिभरण (पेन्सन) पाउने गरी अवकाश दिइएको थियो ।
ब्रिटिस आर्मीबाट अवकाश प्राप्त गरेका पि.बि. खड्काले रामनाथ भट्टराइ उत्प्रेरण र इन्जिनियर हरिभक्त भट्टराइको करले ४० वर्षको उमेर पार गर्दा पनि पढाइमा मन दिनु भयो । अन्ततः उहाँले प्राइभेट परीक्षमा सम्मिलित भई राम्रै डिभिजनमा एस.एल.सी पास पनि गर्नुभयो । सत्यवती प्रा.वि.का प्रधानाध्यापक श्री गङ्गानाथ न्यौपानेको प्रेरणाले उहाँले सत्यवती प्राथमिक विद्यालय दमौलीमा शिक्षक पेसा आरम्भ (२०३८-२०५९) गरेर सेवानिवृत हुनु भएको हो। अहिले उहाँ ब्रिटिस सरकार र नेपाल सरकारका तर्फबाट निवृत्तिभरण बुझ्दै आउनु भएको छ । यसैले अहिले उहाँलाई सबैले ब्रिटिस आर्मीको कर्मठ लाउरेका साथै इमान्दार एवं परिश्रमी शिक्षक भनेर चिन्ने गर्दछन्।
वास्तवमा उहाँ नेपाली साहित्यका नाटककार र कवि पनि हुनुहुन्छ । हालसम्म उहाँका कृतिहरु स्वर्गीय कर्मविधि (२०६१), पुरानो संस्कार र नयाँ बिचार (२०६२) केही भोगाइ र केही सोचाई कृतिहरु प्रकाशन भइ सकेका छन् । विसं. २०४६ सालमा दमौली जिल्ला सभागृहमा मञ्चन भइसकेको नाटक प्रकाशन हुनै बाँकी छ । उहाँका प्रकाशित कृतिहरुले उहाँलाई सामाजिक विषयका सर्जकको रुपमा प्रस्तुत गरेको छ । उहाँका नाट्क लगायत अन्य धार्मिक, सामाजिक र सांस्कृतिक कृतिहरुले उहाँको व्यासत्वलाई अझ प्रवाहित गरेको छ । उहाँको यस कृतिलाई प्रकाशन गर्ने व्यक्ति तथा संस्थालाई पनि साधुवाद टक्रयाउन चाहन्छौं । उहाँको पुरानो संस्कार र नयाँ बिचार कृति २०६२ सालमै हाम्रो माझ आएको हो ।
गुरु पुरोहितका माध्यमबाट कर्मकाण्ड गरेमा मात्र यो लोक र परलोक दुबै सप्रने, पितृ खुसी हुने, पितृले आशिष दिने कुरामा केन्द्रित रहेको पाइन्छ । अलि हुने खाने बनेपछि हाम्रो समाजका हरेक व्यक्तिमा देखिने मपाइत्व उहाँलाई पटक्कै मन पर्दैन । अस्वाभाविक तथा भडकिलो भोजभतेर आफु पनि नगर्ने र अरुले आयोजना गरेको भोजभतेरमा पनि सरिक नहने उहाँको नानीदेखिको बानी हो । साधारण रहनसहन उच्च विचारका धनी पि.बि. खड्का प्रथम रजवती कन्या सुद्धिकरण परम्परा, न्वारन, छैटी, व्रतवन्ध, विवाह समेत तेह्रदिने काजक्रिया पद्धति, पुरेतमुखी कर्मकाण्ड वाहियात सम्झनुहुन्छ । मनुस्मृतिले खसजातिलाई धर्मच्यूत मानेको र हिन्दुपुराण तथा धर्मशास्त्रले ब्रात्य जाति मानेको देख्दा नेपालका क्षत्रीहरु आर्यमूलका नभई खसजातिका हुनुपर्छ भन्ने धारणा राख्नु हुन्छ ।
झल्लो मल्लश्च राजन्याद् व्रात्यान्निच्छिविरेबच
नटश्च करणश्चैब खसो द्रविड एवच ।। मनुस्मृती १०.२२ मा ।।
(झल्ल मल्ल नट करण खस र द्रविडहरुलाई व्रात्य) भनिएको छ । आर्यहरुको वर्णधर्म अस्वीकार गरेकै कारण खसहरुलाई वृषल (जातिच्यूत), व्रात्य (अयोग्य तथा भ्रष्ट) जाती भनेर तिरस्कार गरेको पाइन्छ ।
महाभारतमा बहिष्कृता हिमवता गङ्गाय च बहिष्कृता ।
सरस्वत्या यमुनाय कुरुक्षेत्रेण चापि ये ।
पंचाना सिन्धु षष्टानं नदीनां ये अन्तराश्रतिताः।
तान धर्म बाहृयान शुचीन् वाही काँनपि वर्जयेत।। (८.४४ः६/७)
अर्थात हिमालय गङ्गा सरस्वती, यमुना र कुरुक्षेत्रको सीमा भन्दा बाहिर तथा सतलज, व्यास, रावी चिनाव, झेलम समेत पाँच र छैटौ सिन्धु नदीको बीचमा अवस्थित बाल्हिक प्रदेशहरु धर्मबाहृय र अपवित्र छन्, यिनीहरुलाई पनि त्याग गर्न पर्दछ भनिएको छ । अनैकौ संघर्षका बाबजुद केही ब्यक्तिहरु आजसम्ममा वर्णाश्रम धर्म बाहिर छन् भने कतिपय व्यक्तिहरुले हिन्दुकरणसंगै एउटा परिवेशमा वर्णाश्रम धर्म अप्नाएको पाउँदछौं । हिंजो-अस्ति जसरी खसहरु आफ्नो धर्मप्रति कट्टर थिएनन् त्यसरी नै वर्तमानका दिनहरुमा पनि पूर्वजहरुले अङ्गिार गरेको धर्म प्रति गौण नभएको तथ्य महसुस गर्नु भएको छ । अहिले उहाँले स्वामि हरिदाशजीबाट सुनेको “आत्म तीर्थ, महातीर्थ, अन्य तीर्थ, सबै व्यर्थ भन्ने मूल सिद्धान्त स्वीकार्नु भएको छ ।
कर्म भन्दा देखाउनका लागि गरिने परम्परागत रुपमा चलिआएका हाम्रा सोह्रसंस्कार मध्ये नगरी नहुने केही संस्कारहरुलाई उहाँले आफ्नो सानासाना पुस्तिकाहरु स्वर्गिय कर्मविधि र पुरानो संस्कार नयाँ बिचार मार्फत परिमार्जनका ढाँचाहरु प्रस्तावित गर्नु भएको छ । पुरानो संस्कार नयाँ बिचारमा न्वारन, व्रतबन्ध, रजस्वाला, विवाह र दाइजो, कुमार कन्ये प्रेम र सासु बुहारी लगायतका विषयहरुलाई प्राथमिकतामा राख्नु भएको छ भने स्वर्गिय कर्मविधिमा अन्तिम संस्कार कसरी गर्ने भन्ने स्पष्ट धारण राख्नु भएको छ । २१औं शताब्दीमा आइपुग्दा नदीहरुमा धेरै पानी बगिसकेकाले हिंजो जे गरियो आजका पुस्ताले सोही अनुसार कर्मकाण्ड गर्नुपर्छ भन्ने मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्न हुँदैन ।
धर्म, राजनीति, विवाह जस्ता कुराहरु व्यक्तिका स्वविवेकीय अधिकार भन्न थालिएको यस समयमा जबरजस्ती थोपर्न खोज्ने प्रयत्नलाई अपराध सम्झनु भएको छ । मानिस मानिसको बीचमा ठूलो जात र सानो जातको विभेद रहनु, पवित्र खलक र अपवित्र खलक भनिनु, जन्म, विवाह र मृत्यृ संस्कारमा पुरेतको अनिवार्यता ठान्नु, रजवती नारीलाई अछुतको व्यवहार गर्नु, प्रेम विवाह तथा अन्तरजातीय विवाहलाई छाडावादको परकाष्ठा सम्झनुका कारण हामी स्वयंले हामी स्वयंलाई असजिलो मार्ग तर्फ धकेली रहेका त छैनौ भनेर सम्झाउने प्रयत्न गर्नु भएको छ । कतिपय हाम्रा संस्कार पुरेतमुखी भएकाले त्यस्ता संस्कारहरुलाई सहज तुल्याउन हामीले हाम्रा विवेकहरुको सही सदुपयोग गर्नु पर्दछ ।
जीवनका गोरेटोहरुमा धेरै मोडहरु रहेका छन् । एउटी नारी जन्मदा छोरी, किशोरी, बुहारी हुँदै सासु बन्दछे । सासुले बुहारीहरुलाई बुहार्तन दिनर्ैपर्छ भन्ने मानसिकताबाट माथि उठेर बुहारीले सासुलाई आमा सरह र सासुले बुहारीलाई छोरी र छोराको जीवन साथी, वंश निरन्तरताको धरोहर सम्झेर उनीहरुले नजानेका र नसम्झेका कुराहरुमा अर्राई सिकाइ र सम्झाई काम लगाउनु सासुहरुको नैतिक कर्तव्य हो भन्ने सन्देश दिन खोजिएको छ ।
आमा मनज्ञान
नारीरत्न यी हुन सुकोमल अनि छोराको प्रिया पनि ।
छाडी त्यो अनमोल मातृ ममता आइन बुहारी बनी ।
मेरो उत्तर कालको सुरु भयो पाएँ बुहारी अब ।
गर्नुपर्छ अराइ सिकाई घरको बाहिर भित्र सब ।।
जान्छन् छोरीहरु पराइघरमा बन्छन बिरानासरी ।
हुन्छिन यी दुलही नजिक हरदम साख्खै छोरी झैं गरी ।।
आफ्नो वंश बढाउने अशकमा पानी तताइदिने ।
यो भन्दा अरु मित्र हुन्न जगमा बुद्धि पुराइ दिने ।
हिजोआज बृद्धबृद्धा, बाबाआमा, छोरा बुहारीको नजरमा बोझ भएको सम्झेर बृद्धाश्रम पठाउने, तिरस्कार गर्ने प्रचलन हावी हुँदै गएको पाएका छौं । लामो बसन्तपार गरी जीवनका हरेक दुःख सुखका मोड पार गरेका हाम्रा अग्रजहरु हाम्रा जीवनका गुरु र आफ्ना जीवनसाथी, श्रीमानका पुजनीय माता भएकीले आफुलाई जन्मदिने आमा समझेर सासुआमा र गुरुहरुलाई शिर नुहाएर प्रणाम गर्नु सिक्नु पर्दछ भनेर ज्ञान प्रवाह गर्नु भएको छ । यही हुन सके हाम्रा आफ्नै घरहरु र्स्वर्ग बन्ने कुरामा उहाँमा दृड विश्वास रहेको छ ।
बहु मनज्ञान
माता हुन श्रीमानको पुजनीयआमा यी मेरी पनि ।
गर्ने खुब रखबार नानीहरुको संरक्षिका हुन यनी ।।
थापे आशिष त्यो बिहे लगन दिन झुकेर पाउ शिर ।
भावी सन्तती औ स्वदम पनि जीवन कल्याणका खातिर
धेरै अर्ती पनि दिने र गाली पनि क्यै दिने यी घरपरिवारमा
छैनन कोही अरु यिनी सरी गुरु हाम्रो यी संसारमा ।।
पालो बृद्ध हुने दिन घुमीफिरी आउने छ मेरो पनि
सेवा नै सत्कर्म हो बुझी गरुन सेवा विनम्री बनि ।।
अन्त्यमा साँस्कृतिक आन्दोलन राजनैतिक आन्दोलन जस्तो होइन । यो आन्दोलन नान्तहिन हो । हुनत आन्दोलनको उठान हुनसाथ बैठान हुँदैन । निरन्तर लागि रहनु पर्छ । साँस्कृतिक आन्लोन गर्दा हजारौका भनाइहरु पनि सुन्नपर्छ । विषयका उठानहरु जायज नै भएतापनि खिस्सिटिउरी गर्नेहरुको पनि कमी पाइंदैन । हिजो हलो नजोत्ने बाहुन आज जोत्न थालेका छन् । हिँजो सुरा र सुन्दरीबाट टाढा रहनु पर्छ भनेर पाठ घोकाउनेहरु अहिले आफै अति निकट बनेका छन् । कर्मकाण्डीय पद्धतिमा एकोहोरो रटान लगाउने समुदाय आज स्वयं परिवर्तनको आवाज बुलन्द गर्दछन् तर व्यवहारमा उतार्न हिचकिचाउँछन । अरुलाई अन्याय गर्न पनि नचाहने तर आफ्ना ब्रहृमले देखेका कुराको वहस पैरवी गर्न नहिचकिचाउने पि.वि.जी आफैले सुरुआत गरेको यस अभियानलाई शिखर चुमाउन प्रयत्नशिल हुनुहुन्छ। बदलिंदो परिवेशमा उहाँले प्रस्तुत गर्नु भएका हाम्रा संस्कार र संस्कृतिहरु प्रेरणाादायी र सुधारोन्मुख पनि बनुन । उहाँको प्रयास अविरल अगाडि बढोस यही शुभेच्छा छ । उहाँको बाहुलीबाट अरु पनि साहित्यिक कुञ्जहरु हाम्रा हातमा निरन्तर परी रहुन यही हाम्रो सदिच्छा छ।










