तनहुँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु वार्ड

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु सङ्क्रमित वार्ड सञ्चालनमा आएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालले छुट्टै डेङ्गु वार्ड सञ्चालन गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा पनि पछिल्ला दिनमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । अस्पतालमा हालसम्म सात सय जनाको परीक्षण गर्दा एक सय १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसअगाडि १० शय्याको वार्ड सञ्चालनमा रहेकामा त्यसलाई विस्तार गरी २० शय्या पुर्‍याइएको छ । पचास शय्या क्षमताको सो अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर अड्किएको जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ क्षेत्रीय समितिले अस्पताललाई डेङ्गु किट प्रदान गरेको छ । सो किटले दुई सय पाँच जनाको परीक्षण गर्न सकिनेछ ।

प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीको पहलमा उक्त किट अस्पताललाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडामणि खनालले अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा क्षेत्रीय सभापति खनालले व्यास नगरपालिकामा डेङ्गुका बिरामी बढ्दै गएको सन्दर्भमा यस क्षेत्रमा पनि महामारी हुनसक्ने भन्दै पार्टीको पहलमा सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको छ । जिल्लाका १० वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या दैनिक बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ । दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ ।

“डेङ्गु सङ्क्रमण हुने क्रम बढ्दो छ, डेङ्गु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै खोज र नष्ट गर अभियान पनि चलिरहेको छ”, अधिकारीले भन्नुभयो । डेङ्गु नियन्त्रणका लागि दैनिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, “खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ, जनचेतनामूलक कार्यक्रम टोल–टोल र विद्यालयसम्म पनि सञ्चालन भइरहेको छ ।”

जिल्लामा अन्य स्थानीय तहमध्ये व्यास नगरपालिकामा बढी सङ्क्रमण फैलिएको छ । कुल सङ्क्रमितमध्ये ८८ प्रतिशत सङ्क्रमित व्यास नगरपालिकाभित्र छन् । त्यसमा पनि बजारका वडा नं १, २, ३ र ४ मा बढी सङ्क्रमित छन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker