मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

जानकी (बाँके) : बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाउनु भएको हो ।

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताउनुभयो । उहाँले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताउनुभयो ।

‘म आफु ३५ वर्षको हुँदादेखि नै दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो ।’ सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगञ्जस्थित बौद्धगुम्बा टोलमा रहेको सिद्धिकीको घरमा जानु भएको उहाँले बताउनुभयो ।

सामाजिक अभियानकर्मी सिद्धिकी पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको बताउनुहुन्छ,‘हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ ।’ उहाँले भन्नुभयो,“दुवै समुदाय एकअर्काको पर्वमा सहभागी हुने र मनाउने यहाँको परम्परा बनिसकेको छ ।” सिद्धिकी वर्षाँैंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मानेर रमाउँदै आइरहनुभएको छ ।

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाउनुभएको छ । उहाँले बहिनीको हातबाट भाइटीका लगाएको तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोष्ट गर्नुभएको छ । उहाँले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । ‘हामी सद्भावको सहरमा छौँ ।

यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ ।’ उहाँले भन्नुभयो,“मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ ।

टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा हामी अवस्य सहभागी हुन्छौँ र हुनैपर्छ ।” मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताउनुभयो । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिनुभएको छ । दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker