हरिबोधनी एकादशी : आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा आज एकैदिन दश हजार भक्तजनले पूजाआजा गरेका छन् । आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन पुगेका हुन् ।
त्यसक्रममा २५ भन्दा बढी फूलको तोरण आँधीमूलमा टाँगिएको छ । यहाँ प्रत्येक वर्ष फूलको तोरण तार्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
स्थानीय मनोज बाँस्तोलाका अनुसार तनहुँसहित छिमेकी गोरखा, चितवन, लमजुङका विभिन्न ठाउँबाट भक्तजन आँधीमूल आएका थिए । उहाँले भन्नुभयो, “बिहानैदेखि भक्तजनको आगमन उल्लेख्य रह्यो । यस ठाउँको धार्मिक महत्वका कारण एकादशीमा विशेष मेला लाग्ने गर्दछ ।”
मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताउनुभयो ।
आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मगरले बताउनुभयो ।
मन्दिर परिसरमा रहेका माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो । दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जाली सहितको रेलिङ निर्माण गरिएको छ ।
प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलि आएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
आँधीमूलस्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।
पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।
गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
एकादशीको अवसरमा व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी महादेव मन्दिरमा १७ तोरण तारिएको स्थानीय लक्ष्मी गुरुङले जानकारी दिनुभयो । त्यस्तै व्यास नगरपालिकास्थित सेतीमादी सङ्गमस्थलमा पाँच वटा फूलको तोरण तारिएको छ ।
दमौलीस्थित मादीसेतीको दोभानमा विभिन्न ठाउँबाट आएका सर्वसाधारणले फूलको तोरण तारेका छन् । विभिन्न ठाउँबाट ल्याइएको फूलको डोली सहितको तोरण व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारमा तारिएको छ । फूलको डोली सर्वसाधारणले बाजागाजा सहित दमौली ल्याएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker