तनहुँमा फस्टाउँदो ड्रागन खेती
सानेबहादुर नेपाली/तनहुँ

तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट आठ लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गरिसक्नुभएको छ ।
विसं २०७९ वैशाखदेखि व्यवसाय थाल्नुभएकी गौलीले एक वर्षको अवधिमा आठौं पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताउनुभयो । “अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ”यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उहाँको आशा रहेको छ ।
उहाँलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उहाँले बताउनुभयो। वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ”कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ”, उहाँले भन्नुभयो ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।” उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सय रुपैयाँसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार रुपैयाँ भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उहाँले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाउनु भएको छ ।
उहाँले गत वर्षभारतको हैदरावादबाट दुइ हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रु १० हजारका दरले खर्च भएको उहाँको भनाइ छ ।
त्यसैगरी कृषक गौलीले यस वर्ष रु तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रतिबिरुवा रु दुइ सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँ लगायत विभिन्न जिल्लाबाट मानिसहरू आउने गरेका छन् । उहाँको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।
त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गर्नुभएको छ । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ रहेको छ । निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्र लगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फआकषिर्त हुनु भएको छ। व्यास नगरपालिका-३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।










