सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पताल तनावग्रस्त

भञ्ज्याङ समाचारदाता/लमजुङ

सुत्केरी र शिशुको मृत्युपछि २ दिनदेखि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका-९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र २ प्रहरीलाई पनि ढुंगा लागेको छ ।

तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ । लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार अस्पतालतर्फ ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । अस्पताल प्रशासनले अहिलेसम्म घटनाबारे यथार्थ सार्वजनिक नगरेको मृतकको परिवार र आफन्तको भनाइ छ ।

साँझ परिसक्दा पनि अस्पताल, सरोकारवाला र प्रहरी प्रशासनले वार्तामा बोलाउन ढिलाइ गरेको भन्दै आफन्त आक्रोशित बनेका थिए । गर्भवती शोभा विकलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अस्पतालले विकको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियामार्फत निकालिएको शिशु मृत रहेको र सुत्केरी आमाको निरन्तर रक्तश्राब भएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । सुत्केरी विकको चितवनमा अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको थियो । सुत्केरी र शिशुकै मृत्यु भएपछि उनको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन् । अस्पतालले राम्रोसँग गर्भवतीको शल्यक्रिया नगरेको, बेलैमा रिफर नगरेको भन्दै आफन्त तथा परिवारले अस्पताल घेरेका थिए ।

अस्पताल, प्रहरी प्रशासन र आफन्तबीच बुधबारदेखि नै वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । आफन्तले घटनाको छानबिन हुनुपर्ने माग राखेपछि गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार प्रदेश निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । बुधबार बिना निश्कर्ष टुंगिएको वार्ता बिहीबार छानबिन समितिसँग बस्ने भनिएको थियो । छानबिन समितिका संयोजक खड्काले आफू लमजुङतर्फ गइरहेको बताएका थिए ।

‘मन्त्रालयले खटाउनेबित्तिकै म पोखराबाट लमजुङ अस्पताल हिँडेको हुँ । अब केहीबेरमा घटनाबारे छानबिन र अवस्था हेरेर छलफल सुरु हुन्छ’, खड्काले भने । खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनेको हो । समितिले छानबिन गरेर १ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker