घामसँगै खुल्ने लोभलाग्दा दृश्य, हिमालको मोह र पर्यटकको बढ्दो चहलपहलले मानुङकोटलाई नयाँ पहिचान दिँदै

तनहुँ : बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडामा पर्यटकको चहलपहल सुरु हुन थालेको छ । तल दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको छ । माथि क्षितिजबाट घामका सुनौला किरण फैलिन थालेका छन् । टाढा देखिने हिमाल, कुहिरोले ढाकिएका पहाड र मानुङकोट क्षेत्रमा फुलेका रङ्गीचङ्गी फूलले यहाँको वातावरणलाई थप मनमोहक बनाएका छन् ।
यही प्राकृतिक सौन्दर्यमा रमाउँदै कोही सूर्योदय नियालिरहेका छन्, कोही फूललाई स्पर्श गर्दै तस्बिर खिचिरहेका छन् त कोही मोबाइलमा आकर्षक भिडियो कैद गर्न व्यस्त छन् ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले बिहानको दृश्य हेर्न पुग्ने पर्यटकको यस्तै रमाइलो देख्न पाइन्छ। कुहिरो र सूर्योदयको मोहक दृश्यसँगै फूलैफूलले सजिएको डाँडाले पर्यटकलाई थप आकर्षित गरेको छ । यहाँ पुग्नेहरू प्रकृतिको सुन्दरता नियालेर मात्र फर्किंदैनन्, ती क्षणलाई तस्बिर र भिडियोमा कैद गरेर सम्झनाका रूपमा सँगाल्न पनि उत्तिकै उत्साहित देखिन्छन् ।

भानु नगरपालिका–१३ का सुरज गुरुङ र व्यास नगरपालिका–१ भादगाउँकी मोनिका गुरुङ बिहानै मानुङकोट पुगेर कुहिरो र सूर्योदयको दृश्यमा रमाए। बिहानको चिसो वातावरण, कुहिरोले ढाकिएको दमौली बजार र विस्तारै उज्यालिँदै गएको आकाशले उनीहरूलाई आकर्षित ग¥यो । प्रकृतिको यही सुन्दरता नजिकबाट नियाल्न पाउँदा उनीहरू दङ्ग देखिन्थे ।
ऋषिङ गाउँपालिका–कोइदिमकी सोफिया सारु मगरको आकर्षण भने कुहिरो र सूर्योदयमा मात्रै सीमित रहेन । मानुङकोट क्षेत्रमा फुलेका रङ्गीचङ्गी फूललाई स्पर्श गर्दै उनले प्राकृतिक वातावरणको आनन्द लिइन् । कुहिरो, उदाउँदो घाम, फूलले सजिएको डाँडा र पृष्ठभूमिमा देखिने हिमाललाई समेटेर आकर्षक तस्बिर तथा भिडियो खिच्ने उनको उत्साहले मानुङकोटको अर्को आकर्षण उजागर ग¥यो ।

यहाँ पुग्ने धेरै पर्यटकले मोबाइलबाट टिकटक र फेसबुक रिलका लागि भिडियो बनाउने तथा सामाजिक सञ्जालमा साझा गर्न तस्बिर खिच्ने गरेका छन् । कसैले कुहिरोमाथि उदाउँदै गरेको सूर्यलाई पृष्ठभूमिमा राख्छन्, कसैले हिमाल र पहाडी दृश्य समेट्छन् त कसैले रङ्गीचङ्गी फूलसँगै आफ्ना खुसीका क्षण कैद गर्छन्। यसरी मानुङकोटको प्राकृतिक सौन्दर्य व्यक्तिगत सम्झनामा मात्र सीमित नरही सामाजिक सञ्जालमार्फत अरूसम्म पनि पुगिरहेको छ ।
प्रकृतिसँग रमाउने, सुन्दर दृश्यमा तस्बिर खिच्ने र छोटा भिडियो बनाउने नयाँ पर्यटकीय संस्कृतिले मानुङकोटको आकर्षण थप बढाएको छ । यहाँ खिचिएका तस्बिर र भिडियोले अन्य सम्भावित पर्यटकलाई पनि यस ठाउँबारे जान्न र घुम्न आउने प्रेरणा दिन सक्छन् । कुहिरो, सूर्योदय, हिमाल र फूलको एकै ठाउँमा अनुभव गर्न पाइने भएकाले मानुङकोट अहिले घुमघामसँगै दृश्यात्मक सामग्री तयार पार्न चाहनेहरूका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ ।

यही दृश्य हेर्न चिसो मौसम सुरु भएसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । कोही सूर्योदय हेर्न बिहानै आइपुग्छन्, कोही अघिल्लो दिन नै होटलमा बास बसेर बिहानको प्रतीक्षामा हुन्छन् । मोबाइल र क्यामेरा तेस्र्याउँदै तस्बिर खिच्ने, कुहिरोको दृश्यमा रमाउने र साथीभाइसँग समय बिताउने पर्यटकले डाँडाको वातावरणलाई चहलपहलपूर्ण बनाएका छन् ।
पोखराबाट मानुङकोट पुगेकी गीता पराजुलीका लागि यहाँको बिहान एउटा अविस्मरणीय अनुभव बन्यो । एक रात मानुङकोटमै बिताएर बिहान सूर्योदय र कुहिरोको दृश्य नियाल्दा आफू निकै लोभिएको उनले सुनाइन् । पोखराकै राधिका पराजुली पनि कुहिरोले ढाकिएको दमौली र त्यसबीचबाट देखिने प्राकृतिक दृश्यले मन्त्रमुग्ध भइन् ।

उनीहरूको अनुभवले मानुङकोटको आकर्षण केवल डाँडाबाट देखिने दृश्यमा मात्र सीमित नरहेको देखाउँछ। यहाँको वातावरणमा केही समय बिताउने, रात बस्ने र बिहानको प्राकृतिक रूपान्तरण नजिकबाट अनुभव गर्ने चाहना पनि पर्यटकमा बढ्दै गएको छ ।
कुहिरो हेर्ने रहरले बढायो चहलपहल
मानुङकोटको मुख्य आकर्षण बिहान देखिने कुहिरो र सूर्योदय हो । मौसम खुलेका बेला यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । तल फैलिएको कुहिरो, माथि नीलो आकाश र क्षितिजमा देखिने हिमालले यहाँको प्राकृतिक सौन्दर्यलाई विशिष्ट बनाउँछन् ।

दमौली बजारबाट नजिकै रहेको मानुङकोटमा छोटो घुमघामका लागि पुग्नेहरूदेखि रात बिताएर बिहानको दृश्य हेर्न चाहनेसम्मको आकर्षण बढेको छ । परिवारसहित आउने, साथीभाइसँग घुम्न निस्कने र प्रकृतिसँग समय बिताउन चाहनेका लागि यो सहज गन्तव्य बनेको छ । स्थानीय युवा अनिल अधिकारीका अनुसार पछिल्ला केही दिनयता दैनिक दुईदेखि तीन सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन् । बिहान सूर्योदय हेर्न आउने पर्यटकको चहलपहलले यहाँको वातावरण थप चलायमान बनेको उनले बताए ।
तर मानुङकोटको आकर्षण हरेक दिन एउटै हुँदैन । मौसम, बादल र कुहिरोको अवस्थाअनुसार दृश्य बदलिन्छ । कहिले बाक्लो कुहिरोले तलको बस्ती पूरै ढाक्छ, कहिले केही बेरमै कुहिरो पन्छिएर बजार र वरिपरिका डाँडा देखिन थाल्छन् । यही अनिश्चितताले पनि बिहानको दृश्यलाई प्रतीक्षायोग्य बनाएको छ । प्रकृतिले हरेक दिन फरक दृश्य देखाउन सक्ने भएकाले यहाँ पुग्ने पर्यटकका लागि मानुङकोट केवल तस्बिर खिच्ने ठाउँभन्दा बढी अनुभव गर्ने गन्तव्य बन्दै गएको छ ।

पर्यटकसँगै गाउँमा फर्किंदै आर्थिक गतिविधि
पर्यटकको बढ्दो आवागमनको प्रभाव मानुङकोटको स्थानीय अर्थतन्त्रमा पनि देखिन थालेको छ । कुनै समय खानेपानी र आवश्यक पूर्वाधारको अभाव झेलेको यस गाउँमा अहिले होटल तथा अन्य व्यवसाय सञ्चालनमा छन् । एक दर्जनभन्दा बढी होटल सञ्चालनमा रहनुले पर्यटनप्रतिको स्थानीय आकर्षण र सम्भावनालाई देखाउँछ । स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको उपस्थिति बढेसँगै व्यवसायमा चहलपहल थपिएको छ । पर्यटकको आवागमनले होटलमा बस्ने पाहुना र खानपानसम्बन्धी सेवाको माग बढाउन सहयोग पु¥याएको छ ।

पर्यटनबाट हुने लाभ होटल व्यवसायीमा मात्र सीमित रहनुपर्दैन। स्थानीय कृषि उपज, दूध, तरकारी तथा अन्य उत्पादनको बिक्री बढाउन सके किसानले पनि लाभ लिन सक्छन् । सवारीसाधन सञ्चालन, स्थानीय परिकारको बिक्री र पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउने कामले थप रोजगारी सिर्जना गर्न सक्छ ।
यसरी हेर्दा मानुङकोटको पर्यटनले गाउँको अर्थतन्त्र चलायमान बनाउने सम्भावना बोकेको छ । तर पर्यटकको संख्या बढ्नु र स्थानीयको आम्दानी बढ्नु एउटै कुरा होइन । पर्यटकबाट हुने खर्च स्थानीय उत्पादन र सेवासँग जोड्न सके मात्र पर्यटनको वास्तविक लाभ गाउँका धेरै घरपरिवारसम्म पुग्न सक्छ ।

कुहिरोसँग जोडिएको पौराणिक कथा
मानुङकोटबाट देखिने कुहिरोले प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक विश्वासको सम्झना पनि गराउँछ । दमौली र आसपासको क्षेत्रलाई कुहिरोले ढाक्ने दृश्यसँग महर्षि वेदव्यासका पिता पराशर ऋषि र सत्यवतीसम्बन्धी पौराणिक किंवदन्ती जोडिएको छ ।
किंवदन्तीअनुसार पराशर ऋषिले सत्यवतीसँग एकान्तमा बस्न चाहँदा अरूले थाहा नपाऊन् भनेर कुहिरो उत्पन्न गराएका थिए । यही कथाका कारण यहाँ देखिने कुहिरोलाई स्थानीय धार्मिक विश्वाससँग जोडेर व्याख्या गर्ने गरिन्छ ।

प्राकृतिक दृश्यसँग जोडिएको यो कथा मानुङकोटको छुट्टै पहिचान हो । पर्यटन प्रवर्द्धन गर्दा स्थानीय समाजमा प्रचलित यस्ता किंवदन्ती, परम्परा र सांस्कृतिक पक्षलाई पनि पर्यटकसमक्ष प्रस्तुत गर्न सकिन्छ । यसले मानुङकोटलाई सूर्योदय हेर्ने गन्तव्यबाट प्राकृतिक र सांस्कृतिक अनुभव एकैसाथ लिन सकिने स्थलका रूपमा चिनाउन मद्दत पुर्याउनेछ ।
सात सय रोपनीमा पर्यटकीय ग्राम बनाउने तयारी
पर्यटकको आकर्षण बढ्दै गएपछि व्यास नगरपालिकाले मानुङकोटलाई योजनाबद्ध रूपमा विकास गर्ने तयारी गरेको छ । करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गरी यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय ग्रामका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार मानुङकोटको दीर्घकालीन पर्यटन विकासका लागि जग्गा एकीकरण आयोजनाको तयारी भइरहेको छ । प्रारम्भिक अध्ययनबाट आयोजना कार्यान्वयनका लागि क्षेत्र उपयुक्त देखिएको उनले बताए । नगरपालिकाको आफ्नै जग्गा एकीकरण आयोजना कार्यान्वयन इकाइमार्फत कार्यक्रम सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको उनको भनाइ छ ।
‘दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ’, लम्सालले भने ।

उनका अनुसार आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग र पार्कलगायतका पूर्वाधार योजनाबद्ध रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । जग्गा एकीकरणमार्फत बस्ती र पूर्वाधार व्यवस्थित बनाउने योजनाले स्थानीयलाई व्यवस्थित बसोबास र रोजगारीका अवसरसमेत प्रदान गर्न सक्नेछ ।
यसअघि अलैँचेदेखि मानुङकोटसम्म करिब चार हजार तीन सय मिटर सडक कालोपत्र गरिएको छ । कठिन भूभागमा आरसिसी ढलान तथा दृश्यावलोकन स्तम्भ र रेलिङसहितको पैदलमार्ग निर्माणले आवागमनलाई सहज बनाउन सहयोग पुर्याएको छ । त्यस्तै, संघीय सरकारले चालु आर्थिक वर्षमा खानेपानी योजनाका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । स्थायी खानेपानी व्यवस्था हुन सके पर्यटक र स्थानीय दुवैलाई सुविधा पुग्नेछ ।
आकर्षण जोगाउने कि भीड मात्र बढाउने ?
मानुङकोटमा पर्यटक बढ्नु अवसर हो, तर बढ्दो चहलपहलसँगै व्यवस्थापनको आवश्यकता पनि उत्तिकै बढेको छ । पर्यटकको संख्या बढ्दै जाने तर खानेपानी, शौचालय, पार्किङ र फोहोर व्यवस्थापनजस्ता आधारभूत सुविधा पर्याप्त नहुने हो भने गन्तव्यको आकर्षणमै असर पर्न सक्छ ।

यहाँको सबैभन्दा ठूलो सम्पत्ति प्राकृतिक दृश्य हो । त्यसैले पूर्वाधार निर्माणका नाममा जथाभावी सडक विस्तार गर्ने, अव्यवस्थित संरचना बनाउने र प्लास्टिकजन्य फोहोर थुपार्ने प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न आवश्यक छ । होटल तथा अन्य संरचना निर्माण गर्दा स्थानीय वास्तुकला, पहाडी जीवनशैली र बस्तीको मौलिक स्वरूप जोगाउन पनि ध्यान दिनुपर्छ ।
नगरपालिकाले पर्यटकीय ग्राम विकासको योजना अघि बढाउँदा स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्नुपर्छ । जग्गा एकीकरण, पूर्वाधार निर्माण र बस्ती व्यवस्थापनका प्रक्रियामा स्थानीयको आवश्यकता र हितलाई प्राथमिकता दिन सके विकासप्रति अपनत्व बढ्नेछ । होटल व्यवसायी र स्थानीय समुदायले पनि सरसफाइ, पर्यटकको सुरक्षा र गुणस्तरीय सेवामा साझा जिम्मेवारी लिनुपर्छ ।
मानुङकोटमा अहिले देखिएको चहलपहलले पर्यटनमार्फत गाउँको भविष्य बदल्न सकिने सम्भावना देखाएको छ । तर त्यसका लागि पर्यटकको संख्या गन्नेभन्दा उनीहरूलाई कस्तो अनुभव दिन सकियो र त्यसबाट स्थानीयले कति लाभ पाए भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

बिहानको घामसँगै कुहिरो पन्छिँदा तलको दमौली बजार बिस्तारै स्पष्ट देखिएझैँ मानुङकोटको भविष्य पनि योजनाबद्ध विकाससँगै उज्यालो बन्न सक्छ । त्यसका लागि यहाँको प्राकृतिक सौन्दर्य, पौराणिक पहिचान र स्थानीय जीवनशैलीलाई जोगाउँदै पर्यटनका पूर्वाधार विस्तार गर्नुपर्छ । मानुङकोटको वास्तविक सफलता डाँडामा पर्यटकको भीड बढ्नुमा मात्र होइन, त्यही भीडले गाउँमा रोजगारी, आम्दानी र समृद्धिको नयाँ बाटो खोल्नुमा हुनेछ ।










