“पर्यटन प्रवर्द्धनमै समृद्ध तनहुँको आधार”

सम्झना रसाइली/तनहुँ

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, कृषि उत्पादन, पर्यटकीय आकर्षण र रणनीतिक सडक सञ्जालले तनहुँलाई गण्डकी प्रदेशको एक महत्वपूर्ण जिल्ला बनाएको छ

मध्यपहाडी जिल्लामध्ये एक जिल्ला हो तनहुँ । धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण तनहुँ बत्तिमुनीको अध्याँरो जस्तै अवस्थामा छ । तनहुँको सदरमुकाम दमौली हो जुन प्रशासनिक, शैक्षिक र व्यापारिक हिसाबले जिल्लाको मुख्य केन्द्रका रुपमा छ। ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु छन्। तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासमा एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्ग (संस्कृत भाषामाः त्रि अर्थान तीन, तुङ्ग अर्थात चुचुरा) नामकरण भई क्रमशः तनुङ्ग बनेको र सोही शब्द अपभ्रंश भई ‘तनहुँ’ नाम रहेको भनिन्छ । यस भेगका कतिपय गाउँका नामहरू मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा समेत ‘हुँ’ आउँदछ ।

चार वेद अठारा पुराणका रचायीता वेदव्यासको जन्मभुमि पनि तनहुँको दमौली रहेकाले यस क्षेत्रलाई हिन्दु धर्मालम्बीहरुको तपोभूमिका रुपमा लिइने गरिएको छ । तर, यस क्षेत्रको जुन रुपमा विकास र प्रवर्द्धन हुनुपथ्र्यो त्यो भने हुन सकेको छैन । धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण व्यास परासर क्षेत्र अहिले बत्तिमुनिको अध्याँरो जस्तै अवस्थामा छ । मादी र सेती नदीको संगमस्थलमा रहेको व्यास परासर क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने प्रतिक्षमा बसेको छ । व्यास ऋषिको जन्मस्थललाई विश्वमाझ परिचित गराउने उद्देश्यले १०८ फिट अग्लो व्यास ऋषिको शालिक निर्माण प्रक्रिया अगाडि बढाइएपनि आवश्यक बजेट अभावका कारण यसले पूर्णता पाउन सकेको छैन । वेदव्यासको नामले नामकरण गरी व्यास नगरपालिकाको स्थापना गरिएको छ । व्यास नगरपालिका जिल्लाकै जेठो नगरपालिका हो ।

एक हजार ५४६ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तनहुँमा मुलक संघीय संरचनामा गएसंगै ४ नगरपालिका र ६ गाउँपालिका कायम गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र रिसिङ्ग गाउँपालिकाले स्थानीय सरकारको भूमिका निर्वाह गर्दै आएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको जनसंख्या करिब ३ लाख २१ हजार १५३ रहेको छ । जसमा पुरुष एक लाख ४६ हजार ८८९ र महिला एक लाख ७४ हजार २६४ रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा मगर, क्षेत्री, ब्राम्हण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, दरै, तमाङ, भुजेल कुमाल, ठकुरी आदि छन् । यी समुदायको आ–आफ्नै जातीय पहिचान झल्कने भेषभूषा, संस्कार, सँस्कृतिक र मौलिक परम्पराहरु रहेका छन् ।

यस जिल्लाका मुख्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा देवघाटधाम, छाब्दीबाराही, ढोरबाराही, थानीमाई मन्दिर, अकला मन्दिर, तनहुँसुरको भगवती मन्दिर, पराशर आश्रम, तनहुँसुर दरवार, भानु जन्मस्थल, घाँसीकुवा, कोटदरवार, ऋषिङरानीपोखरी, व्यास र पराशर ऋषिको तपोभुमी, आँधीमूल, छिम्केश्वरी लेक, मिर्लङकोट, मानुङकोट, सिद्ध गुफा, ढुन्दुर सिद्धगुफा, मिलेनियम गुफा, व्यास गुफा आदि रहेका छन् ।

तनहुँ प्रकृतिक छाटाले भरिपूर्ण जिल्ला हो । यस जिल्लाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा बन्दीपुर रहेको छ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ । बन्दीपुर परम्परागतशैलीमा निर्माण गरिएका घर, यहाँका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृति लगायतका विविध आयमहरुले आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गर्दछ ।

बन्दीपुर बजार क्षेत्रमा ढुंगा विछ्याएका सुन्दर बजार, भक्तपुरे शैलिमा बनेका घरहरु, थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, घोडा सयर, तीन धारा, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, मिनि ग्रेट वल, केवलकार लगायतका संरचना यहाँको मुख्य आकर्षण हुन् । पृथ्वीराजमार्गको डुम्रेबाट करिव ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक पक्षले आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

यस्तै, व्यास गुफा, देवघाटधाम, थानीमाई मन्दिर, ऋषि पराशरको आश्रम, देवि मत्स्यकन्याको मन्दिर छाब्दी बाराही, अकलादेवी मन्दिर, ढोरबराही, छिम्केश्वरी मन्दिर, आधिमुल आदि जिल्लाका महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हुन् । यी धार्मिक गन्तव्यलाई स्थानीय पालिकाहरुले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्दै प्रवद्र्धनका कार्यक्रम अगाडि बढाएका छन् ।

तनहुँ प्राकृतिक सौन्दर्य र धार्मिक महत्व मात्र नभई नेपाली साहित्य तथा भाषीक एकीकरणका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्मभूमि पनि हो । नेपाली साहित्यका नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा भएको थियो । पिता धनञ्जय आचार्य र माता धर्मावती आचार्यका कोखबाट जन्मिएका भानुभक्त नेपाली साहित्यका प्रथम महाकवि अर्थात् आदिकवि हुन् । उनले संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई साहित्यिक स्वरूप दिएका थिए ।

तनहुँ जिल्ला नेपाली साहित्यको इतिहाससंग गहिरो रूपमा गाँसिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमि र व्यास ऋषिसंगको सम्बन्धले यस जिल्लालाई साहित्यिक र धार्मिक तीर्थस्थलका रूपमा परिचित गराएको छ । त्यसैले तनहुँ केवल भौगोलिक क्षेत्र मात्र नभई नेपाली भाषा र साहित्यको गौरवपूर्ण धरोहरका रुपमा पनि लिन सकिन्छ ।

समुद्र सतहबाट १८४ देखि २ हजार १३४ मिटर उचाईबीच रहेको तनहुँको होचो भू–भागमा देवघाटधाम र अग्लो भुभागमा छिम्केश्वरी पहाड हो । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा अवस्थित यस छिम्केश्वरी मन्दिरलाई गाउँपालिका र गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा प्यागोडा शैलिको मन्दिरमा पुर्ननिर्माण तथा पदमार्ग निर्माण गरी धार्मिक तथा प्राकृतिक छटामा रमाउने पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा विकास गर्दै लगिएको छ । गोरखा मनकामना माताको जेठी दिदीका रुपमा रहेकी छिम्केश्वरी मन्दिर धार्मिक पर्यटकको आकर्षण गन्तव्यको रुपमा विकास गर्दै लगिएको छ ।

जिल्लाको मुख्य पेशा कृषि हो । उर्वर भुमि, प्रशस्त वर्षा र नदीको उपलब्धताले यहाँ धान, मकै, गहुँ, कोदो, मास, पिडालु, सुन्तला, अदुवा जस्ता अन्नबाली उत्पादन हुन्छ । तरकारी खेती, फलफूल उत्पादन र पशुपालन पनि यहाँका आम्दानीका मुख्य स्रोत हुन् । विशेषगरी सुन्तला, कागती, अदुवा तथा तरकारी खेतीले किसानलाई नगदे आम्दानी दिने गरेको छ ।

जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, पुट्टार, आँबुखैरेनी, साँगेफाँट लगायतका स्थानमा धान खेती हुने गर्छ । जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती गरिने भए पनि ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र ७ हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिंचाइ सुविधा रहेको हुँदा आकाशे पानीको भरमा पनि कृषकले धान खेती गर्छन् । पछिल्लो समय व्यवसायिक कृषि, बाख्रा पालन, कुखुरा पालन र दुग्ध उत्पादनमा पनि वृद्धि भएको छ। ग्रामीण क्षेत्रमा सहकारी संस्था र कृषक समूहको सक्रियताले बजार पहुँच विस्तार हुँदै गएको छ । कृषिमा आधुनिकरण, सिंचाइ सुविधा विस्तार र प्रविधिको प्रयोगले तनहुँको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ। तर, सरकारद्वारा उपलब्ध अनुदानका कार्यक्रम भने व्यवसायिक कृषि पेशा अंगालेका कृषकले सहज रुपमा प्राप्त गर्न नसेकको गुनासो बढ्ने गरेको छ ।

शैक्षिक क्षेत्रमा पनि तनहुँ अब्बल नै देखिन्छ । जिल्लामा विद्यालय र क्याम्पसहरूको संख्या बढ्दै गएका छन् । सदरमुकाम दमौली तथा जिल्लाका बजार क्षेत्रमा निजी विद्यालय तथा उच्च शिक्षाका संस्थाहरू सञ्चालनमा छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ४४५ सामुदायिक र ११७ निजी विद्यालय रहेका छन् । दमौली, डुम्रे, आँवुखैरेनी, भिमाद, दुलेगौंडा सहित विभिन्न स्थानमा क्याम्पस र प्राविधिक शिक्षालयहरू पनि सञ्चालनमा छन् । शिक्षा क्षेत्र सुधारात्मक भएपनि महिला साक्षरता अझै पुरुषभन्दा कम छ।

तर, तनहुँमा शिक्षाको गुणस्तर भने अझै चुनौतीपूर्ण छ । ग्रामीण विद्यालयमा विषयगत शिक्षक अभाव, विद्यार्थी संख्या घट्दै जानु तथा युवा विदेश पलायन जस्ता प्रमुख समस्या बनेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन । शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन दीर्घकालीन योजना, प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी र विद्यार्थीमैत्री वातावरण आवश्यक रहेको छ ।

यस्तै, जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको छ। जिल्लाका स्थानीय तहमा स्वास्थ्य चौकी, आधारभूत अस्पताल तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। सम्बन्धित स्थानीय सरकार तथा संघसंस्थाले ग्रामीण क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने अभ्यासले ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपभोग गर्न सहज बन्दै गएको छ। तथापि विशेषज्ञ चिकित्सकको अभाव, उपकरणको कमी र ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा नपुग्नु अझै चुनौतीको रूपमा रहेको छ । सदरमुकाम तथा बजार क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवा सहजै पहुँच भएपनि विशेषज्ञा सेवाको लागि भने पोखरा, चितवन, काठमाडौं लगायतका स्थान जानुपर्ने बाँध्यता यथावत नै छ ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, वेलचौतारामा सञ्चालनमा आएपनि यसले आफ्नो सेवा फराकिलो बनाउन सकेको छैन । भौतिक पूर्वाधार, विषेशज्ञा चिकित्सक, दक्ष जनशक्तिको अभाव लगायतको चुनौति झेल्नुपरेको छ ।

विकास र सडक सञ्जाल

पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर दुरी तनहुँ जिल्लामा पर्दछ । ग्रामीण सडक विस्तार र यातायात पहुँच तुलनात्मक रूपमा राम्रो देखिएपनि ग्रामीण क्षेत्रका बासिन्दाले अझै सहज रुपमा सडक तथा यातायतको उपभोग गर्न पाएका छैनन् । २०७७ सालबाट सुरु गरिएको पृथ्वीराजमार्गको स्तारोन्नतीसंगै यातायातमा पछिल्लो समय सहज बन्दै गएको छ । अहिले आँवुखैरेनीबाट पोखरासम्मै चार लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पु¥याइएको छ। पर्यटकीय नगरी पोखरासंगै जोडिएको पृथ्वीराजमार्ग स्तारोन्नतीसंगै तनहुँमा प्राकृतिक, साँस्कृतिक तथा धार्मिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। तनहुँको कला संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र उजागर गर्न यस राजमार्गले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस्तै, ग्रामीण सडक विस्तारले गाउँलाई बजारसंग जोडेको छ । तर धेरै ग्रामीण सडक अझै कच्ची अवस्थामा छन् । निर्माणमा ढिलाइ र कमसल सामाग्रीको प्रयोगले वर्षातको समयमा सडक हिलाम्मे हुनु र हिउँदको समयमा धुलाम्मे हुने समस्याले सर्वसाधारणले सास्ती झेल्दै आएका छन् । जिल्लाका ग्रामीण सडक सञ्जाल सुधार गर्न सके कृषि उत्पादनको बजारीकरण बढ्नुका साथै ग्रामीण पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ । तर, आधारभूत आवश्यकता सहज रुपमा उपभोग गर्न नपाउँदा तनहुँका अधिकांश ग्रामीण बस्ति बसाइसराईका कारण उजाडिदै गएका छन् भने खेतीयोग्य जमिन बाँझिदै जाँदा ग्रामीण अर्थतन्त्र संकटमा पर्दै गएको छ ।

जिल्लामा निर्माणधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । ऐसियाली बिकास बंैंकको ऋण सहयोगमा निर्माणधिन जलविद्युत आयोजनाले जिल्लाका अधिकांश युवाहरुलाई रोजगारी दिनुका साथै पर्यटक बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । जलविद्युत आयोजनाको जलाशय आसपासका क्षेत्रलाई पर्यटनमैत्री ढंगले विकास प्रवर्द्धन गर्न सके सम्बन्धित पालिका र स्थानीय बासिन्दाले रोजगारी पाउनुका साथै आर्थिक समृद्धि हाँसिल गर्न सक्ने सम्भावना देखिन्छ ।

खानेपानीमा स्रोत प्रशस्त तर व्यवस्थापन कमजोर

तनहुँ जलस्रोतका हिसाबले धनी जिल्ला हो । यहाँका नदी, खोल्सा र मुहानहरूले खानेपानी तथा सिंचाइका लागि पर्याप्त सम्भावना प्रदान गरेका छन् । कालीगण्डकी, मादी, सेती, मस्र्याङ्दी, त्रिशुली नदी तथा अन्य साना ठूला खोला खोल्सा हुँदै बग्ने पानीको यथोचित रुपमा उपभोग गर्न सकिएको छैन । जलश्रोतले धनी भएपनि यसको उचित व्यस्थापन हुन नसक्दा उच्च भु–भागमा रहेका क्षेत्रमा खानेपानीको अभाव रहेको छ । धेरै ठाउँमा खानेपानी योजना सञ्चालन भएपनि वर्षायाममा मुहान धमिलिनु र सुख्खा मौसममा पानी कम हुने जस्ता समस्या रहदै आएका छन् । कति योजनाहरुको सुरुवात भएपनि बजेट अभाव र ठेकेदारले काम सम्पन्न नगरिदिदा अलपत्र अवस्थामा रहेका छन् ।

अन्य जिल्लाजस्तै यस जिल्लामा पनि बैदेशिक रोजगारीमा जाने युवायुवतीहरुको संख्या उल्लेखनीय छ। तर पछिल्लो समय युवाहरु स्वदेशमै उद्यम–व्यवसायतर्फ आकर्षित हुँदै पनि गएका छन् । साना उद्योग, व्यापार, कृषि, पशुपालनमा युवाहरु आकर्षित हुन थालेका छन् । साथै महिलाहरुपनि पालिकाले सञ्चालन गरेका सीप मुलक तालिममा सहभागि भई स्वरोजगार बन्न थालेका छन् । विभिन्न तालिम तथा प्रशिक्षण लिएर साना उद्योग तथा व्यवसाय संचालन गरी आर्थिक आत्मनिर्भरता बढाउँदै महिलाहरु सामाजिक, आर्थिक सशक्तिकरणमा अगाडि बढ्दै गएका छन् ।

यस्तै, जिल्लाका बजार क्षेत्रका पालिकाहरुले व्यवस्थित ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रबाट उत्सर्जन हुने फोहोरमैलालाई उचित व्यवस्थापन गर्न सकेका छैनन् । ल्याण्डफिल्ड साइट निर्माणका लागि प्रयास भएपनि उपयुक्त स्थान प्राप्त गर्न नसक्दा यो कार्यले पूर्णता पाउन सकेको छैन । जिल्लाको व्यास नगरपालिकाले भने पछिल्लो समय संकलित फोहोरलाई वर्गीकरण पश्चात विक्री वितरण गरी आम्दानी लिन समेत सुरु गरेको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, कृषि उत्पादन, पर्यटकीय आकर्षण र रणनीतिक सडक सञ्जालले तनहुँलाई गण्डकी प्रदेशको एक महत्वपूर्ण जिल्ला बनाएको छ। जनसंख्याको विविधता, सांस्कृतिक समृद्धि र विकासका सम्भावनाले यस जिल्लालाई भविष्यमा अझ समुन्नत बनाउन सक्ने आधार तयार गरेको छ । उचित योजना, पूर्वाधार विस्तार र स्थानीय स्रोतको सदुपयोग गर्न सके तनहुँ नेपालकै अग्रणी जिल्लामध्ये एक बन्न सक्ने देखिन्छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker