तनहुँ, कास्की र स्याङ्जा तीन जिल्ला हुँदै बग्ने सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी : कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ ।

कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका बासिन्दा कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । यस क्षेत्रमा पुलको अभाव उत्तिकै खड्किएको छ । कहिले कास्कीको क्षेत्र नं १ त कहिले क्षेत्र नं २ मा पर्दै आएको यो पोखरा महानगरपालिका–३३ मा रहेर पनि कास्कीको दुर्गम भेगझैँ बनिरहेको स्थानीय समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो ।

महानगरको वडा भएर पनि यहाँ पोखराबाट नभइ तनहुँको दुलेगौँडाबाट आउन सजिलो छ । सडक तथा यातायातको पहुँच नभएकैले यहाँका सर्वसाधारण आफ्नै जिल्ला सदरमुकाम पोखरा पुग्न तनहुँको दुलेगौँडा हुँदै जानुपर्ने बाध्यता छ ।

सुरौदी खोला कटान नियन्त्रणका लागि पटक पटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्शाउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा देख्न नपाएको गुनासो गर्छन् ।

सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई आत्मनिर्भर बनाउन सक्ने अगुवा किसान रमेश आचार्य बताउनुहुन्छ । कटानको कहर पटक–पटक सुनाए पनि यसतर्फ राज्यको चासो नपुग्दा स्थानीयले दुःख पाएको उहाँले बताउनुभयो ।

कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने स्थानीयको भनाइ छ । यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक देखिन्छ । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

खोला आसपासका उब्जाउ योग्य भू–भागमा खोलाको पानीको उपयोग हुन सकेको छैन । ती क्षेत्र सिँचाइविहीन रहेको चण्डी माध्यमिक विद्यालय बरभोटेनीका प्रधानाध्यापक सन्तोराज लामिछानेले बताउनुभयो । “खोलाले बर्सेनि कटान गरिहेको समस्या त छँदैछ, तल खोला बगिरहेको छ तर किनाराका खेत तथा बारी सिँचाइ गर्ने पानी नहुँदा सुख्खा बनेका छन्”, उहाँले भन्नुभयो ।

कुर्लिङ क्षेत्रमा तटबन्ध निर्माण गरी जलाशय निर्माण गर्ने होभने त्यसबाट जलपर्यटनसँगै माछापालन एवम् खेतीयोग्य भूभागमा सिँचाइ गर्न सकिने समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker