व्यासका आठ जना स्वास्थ्य स्वंयसेविकाको विदाई
भञ्ज्याङ समाचारदाता/दमौली

सरस्वती थापाले स्वास्थ्य स्वंयसेविकाको काम थालेको ३० वर्ष भयो । थापाले घरदैलोमै पुगेर महिला तथा बालबालिकाको स्वास्थ्यको लागि स्वास्थ्य सेवा दिन्छिन् । बिना पारिश्रमिक जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा खर्चेकी थापालाई गाउँघरमा स्थानीयले डाक्टर समेत भनेर बोलाउँछन् ।
उनि मात्र होइन व्यास-३ की सरस्वती न्यौपानेले पनि स्वास्थ्य स्वयंसेविकाको काम थालेको ३१ वर्षभयो । उनले पनि आफ्नो जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा खर्चेकी छन् । उनिहरु जस्तै उमेरले ६० वर्ष पुरा भएका ८ जना स्वास्थ्य स्वयंसेविकालाई व्यास नगरपालिकाले प्रोत्सान स्वरुप ३५ हजार रुपैयाँ र सम्मानपत्र सहित पछ्यौरा ओडाएर बिदाइ गरेको छ । मंगलबार २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा नगरपालिकाले ८ जना महिला स्वास्थ्य स्वंयसेविकालाई बिदाइ गरेको हो ।
त्यस्तै कार्यसम्पादनको आधारमा १४ जनालाई उत्कुष्ट स्वंयसेविकाको रुपमा सम्मान गरिएको छ । प्रतिव्यक्तिलाई नगरपालिकाको आन्तरिक स्रोतबाट १५ हजार र स्वास्थ्य कार्यालय तनहुँको तर्फबाट २० हजार गरी ३५ हजार रुपैया प्रोत्सान रकम प्रदान गरेको छ ।
बिदाई कार्यक्रममा बोल्दै स्वास्थ्य स्वंयसेविका अध्यक्ष मायादेवि सोतीले सेवाको भावना सहित विना पारिश्रमिक धेरै महिला स्वंयसेविकाले आफ्नो जीवनको आधा उमेर स्वास्थ्य क्षेत्रमा बिताएको बताईन् । उनले भनिन्, ‘गाउँघरमा हामीलाई डाक्टर भनेर सम्बोधन गर्छन्, हामी बिना स्वार्थ स्वास्थ्य क्षेत्रमा आफनो समय दिएर काम गरेका छौं ।’
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिला स्वास्थ्य स्वंयसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान स्वरुप विभिन्न कार्यक्रम ल्याइने बताए ।
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको संयोजक समेत रहेकी उपप्रमुख दरैको सभापतित्वमा आयोजित कार्यक्रममा व्यास-६ का वडा अध्यक्ष जीवन गुरुङ, व्यास-२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक कल्पना कोइराला दाहाल, स्वास्थ्यकर्मी सागर तिवारी लगायतले बोलका थिए । महिला स्वास्थ्य स्वंयसेविकाहरुको सम्मानको लागि हरेक वर्ष नगरपालिकाले प्रोत्सान रकम प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।










