घुस लिएको रकम सहित दमौलीबाट एक इन्जिनियर पक्राउ
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारस्थित एक होटलबाट घुस लिएको रकम सहित एक इन्जिनियर पक्राउ परेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका इन्जिनियर अम्लेशकुमार निक्लमलाई रकम सहित पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
स्याङ्जास्थित एक विद्यालयको पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले ७५ हजार रुपैयाँ सहित उनलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
‘अम्लेशकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धन गरिरहेका छौं । पक्राउ परेका प्रविधिक करारका कर्मचारी रहेको र पदमा हुँदाको बाग्रेनीङ रहेको बुझिएको छ’, प्रहरी नायव उपरीक्षक खड्कले बताए ।
इन्जिनियर अम्लेशकुमार गत असार मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा करारमा कार्यरत रहेका र त्यसपछि यता करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको बताइएको छ ।
स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा अन्तिम निकासाका लागि काम गरिदिनका लागि इन्जिनियर अम्लेशकुमारले रकम माग गरेको बताइएको छ । सप्तरीमा रहेका उनि रकम बुझ्नका लागि भनि शनिबार बिहान दमौली आइपुगेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।









