म्याग्देमा राष्ट्रिय उद्योग दिवस : उद्योगमा लगानी र रोजगारी सिर्जनामा जोड

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा ‘उद्योगमा लगानी, रोजगारी वृद्धि, समृद्ध म्याग्दे हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबार राष्ट्रिय उद्योग दिवस मनाइएको छ । स्वदेशी उद्योगको महत्व, स्थानीय उत्पादनको सम्भावना र औद्योगिक विकासका विषयमा छलफल तथा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय उत्पादन र उद्यमशीलताको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पशुपालन तथा कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक बन्न प्रेरित गरेको उनको भनाइ थियो ।
महिलालाई सीपमूलक तालिम, विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा कृषकलाई कृषि यान्त्रीकरणतर्फ प्रोत्साहित गर्दै स्वरोजगार र आत्मनिर्भर बनाउने प्रयास भइरहेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन नगरेसम्म स्थानीय अर्थतन्त्रको विकास सम्भव नहुने बताए । उनले कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिक प्रवद्र्धनमा गाउँपालिकाले प्राथमिकता दिँदै आएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास परियार र म्याग्दे उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका अध्यक्ष मनोजकुमार अधिकारीले पर्यटन, उद्योग र उत्पादनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए । उनले उद्योग सञ्चालन गर्नुअघि सम्भाव्यता अध्ययन र स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुको बजारीकरण, भण्डारण र उत्पादकलाई अनुदानको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस म्याग्देका सभापति नरसिं थापाले उद्योग सञ्चालन हुने स्थानसम्म सहज सडक पहुँच र आवश्यक अनुदान उपलब्ध गराउन गाउँपालिकाले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए। नेकपा एमाले म्याग्देका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक समृद्धिका लागि उद्योग तथा कलकारखाना सञ्चालन गर्न प्रोत्साहन आवश्यक रहेको चर्चा गरे ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले उद्योगमैत्री नीति अवलम्बन गरी स्थानीय स्रोतसाधनको उपयोग र उत्पादन वृद्धिमा जोड दिए । आत्मनिर्भर र समृद्ध म्याग्दे निर्माणका लागि गाउँपालिकाले उद्योगमैत्री वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले यस अभियानमा संघको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
आर्थिक विकास समितिका संयोजक वसन्तकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा बाराही बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुभद्रा घिमिरेले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन गाउँपालिकाले खेलेको भूमिकाबारे चर्चा गरेकी थिइन् । जनगणपति माध्यमिक विद्यालयका छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत कार्यक्रममा गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले सहजिकरण गरेका थिए ।










