जिपी कोइराला उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक थपियो

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा प्रवाहमा सहजता छ । अरु आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीहरू थप गरी केन्द्रबाट प्रदान हुने सेवा विस्तार गरिनेछ । अस्पतालमा मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस विस्तार गरिएको छ । आकस्मिक, शल्यक्रिया, स्त्रीरोग, नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया सुरु गर्ने लक्ष्य लिइएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “इन्कोस्कोपी सेवा सुरु भइसकेको छ भने ब्रोन्कोस्पोपी सेवा सञ्चालन गर्न लागेका छौँ । केन्द्रको मुख्य भवनमा लिफ्ट जडानका लागि बजेट प्राप्त भएको छ। लिफ्ट जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।” अस्पताललाई ३०० शय्यामा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले २०६७ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रका नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ। जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको डा श्रेष्ठले बताए ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे सेवा, समान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको छ ।










