मुग्लिङ-पोखरा सडक : विस्तारको कामले गति लिन सकेन

नारायण खड्का/तनहुँ

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ । सन् १९७४ मा चीन सरकारको सहयोगमा राजमार्गको नौबिसे-पोखरा १७४ किमी लम्बाइको सडक खण्ड निर्माण गरिएको थियो । एक लेन मात्र निर्माण गरिएको सडक आर्थिक वर्ष २०४९/०५० मा दुइ लेनमा विस्तार गरिएको हो ।

मुग्लिनबाट करिब १६ किमीसम्म दुइ लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ विस्तार गरिएको थियो। गत आर्थिक वर्षबाट राजमार्गको मुग्लिन-पोखरा खण्ड चार लेनमा विस्तार कार्य अगाडि बढाइएको छ ।

आर्थिक वर्ष २०८५/०८६ सम्म सडकको स्तरोन्नती गर्ने गरी ठेक्का सम्झौता गरिएको करिब एक वर्ष बितेको छ । मुग्लिन-पोखरा सडकलाई दुइ खण्डमा विभाजन गरी सडकको स्तरोन्नती कार्य अगाडि बढाइएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको यो सडकखण्ड निर्माण सुरु गरेको पहिलो वर्ष लक्ष्य अनुसार प्रगाति हासिल गर्न सकेको छैनन् ।

चार लेनमा विस्तार हुन लागेको मुग्लिन-पोखराको दूरी करिब ८८ किमी छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किमी छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले आँबुखैरेनी-पोखरा सडकलाई आँबुखैरेनी-जामुने (४१ किमी) पूर्वी खण्ड र जामुने-पोखरा (३९ किमी) पश्चिम खण्ड गरी दुइ खण्डमा विभाजन गरी निर्माण व्यवसायीसंग ठेक्का सम्झौता गरेको छ ।

पूर्वी खण्ड (आँवुखैरेनी-जामुने भञ्ज्याङ)

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आँबुखैरेनीबाट-जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई ६ अर्व २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा जिम्मा दिइएको छ । सो ठेक्काको सम्झौता वि.सं. २०७८ वैशाख २ गते भएको थियो ।

कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्किसहित १७ प्रतिशत रहेको छ ।

निर्माण सुरु भएको वर्षदिन हुन लागेपनि निर्माणको गति कम देखिएको छ । यो अवधिमा निर्माण पक्ष्यले १५ प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य लिएपनि ३ दशमलव ५ प्रतिशत मात्र प्रगति भएको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए ।

यो खण्डमा सडक सिमा भित्र रहेका ९५ प्रतिशत रुख काटिसकिएको र सडक फराकिलो बनाउने काम भइरहेको उनले बताए । प्रमुख सुवेदीका अनुसार यस खण्डमा साना ठुला गरी १८ वटा पुल बन्ने छन् । अहिले ५ वटा पुल निर्माण भइरहेका छन् ।

कोभिडकै समयमा सडक ठेक्का सम्झौता, उपकरण र कर्मचारी ढिलो आउँदा, सडकसिमा भित्रका विद्युत पोल नहटाउँदा, भत्काउनुपर्ने भौतिक संरचनाको क्षतिपुर्ति समयमा नआउँदा, वर्षा, स्थानीय तह र संघको आ-आफ्नै कानून जस्ता कारणले कामले सोचेजस्तो गति लिन नसकेको प्रमुख सुवेदीले बताए । उनले भने, ‘कन्ट्याक्टरको तर्फबाट पनि जति सक्रियताका साथ काम अगाडि बढाउनुपर्ने थियो त्यो हुन नसक्दा पनि ढिलाई भयो।’

यो खण्डमा करिव ५०५ वटा भौतिक संरचना भत्काइने रेसिडेन्ट स्पेसलिष्ट चिन्तामणी शर्माले बताए । ‘पूर्वी खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड रुपैयाँ बराबरको क्षतिपुर्ति व्यहोर्नुपर्ने र्सर्भेमा देखिएको छ’, उनले भने, ‘हालसम्म प्राप्त ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षतिपुर्तिको रकमबाट बितरण गरिसकिएको छ ।’

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन् ।

पश्चिम खण्ड (जामुने भञ्ज्याङ-पोखरा)

यस्तै, योजनाको जामुने भञ्ज्याङ-पोखरा (पश्चिम खण्ड) सडक स्तरोन्नतीको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा वि.सं. २०७८ जेठ ३ गते सम्झौता गरेको छ ।

निर्माण सुरु भएको एक वर्षभित्र ६ प्रतिशत भौतिक प्रगतिको लक्ष्य लिएपनि हालसम्म १ प्रतिशतमात्र काम सम्पन्न भएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताए । यो खण्डको वित्तीय प्रगति मोबिलानइजेशन पेश्कीसहित ७ दशमलव ५ प्रतिशत भएको उनले बताए ।

‘ठेक्का सम्झौता जेठमा भएतापनि काम सुरु भदौबाट भएको थियो’, उनले भने, ‘काम सुरु गरेलगातै चार्डपर्वका कारण कर्मचारी परिचालन गर्न सकिएन। अर्को कोरोना कहरका कारण चीनबाट उपकरण र कामदार पनि समयमा ल्याउन सकिएन । अहिले वर्षाको समय सडक फराकिलो गर्ने कामले गति लिन सकेको छैन ।’

उनका अनुसार पश्चिम खण्डमा हालसम्म जम्म ३ किलोमिटरमात्र सडक सिमाको माटो काट्ने काम सक्किएको छ भने करिव ९५ प्रतिशत रुख कटानको काम सकिएको छ । यस खण्डको सडक सिमाक्षेत्रभित्र पर्ने विद्युतका पोलहरु नेपाल विद्युत प्राधिकरणले नै हटाउने इन्जिनियर पौडेलले बताए ।

सडक विस्तारका लागि घर, टहरा, पाटीपौवा, पर्खाल लगायतका गरी तनहुँ खण्डको खैरेनीटार बजार क्षेत्र बाहेकका १३८ वटा भौतिक संरचना भत्काइने भएको छ । उक्त संरचनाको क्षतिपूर्तिका लागि आयोजनाले २ करोड ४५ लाख ३९ हजार ६३३ रुपैयाँ रकम दिन स्वीकृत गरेको उनले बताए । उनका अनुसार हालसम्म करिव ४२ घरलाई ४० लाख बराबरको क्षतिपूर्ति बितरण गरिसकिएको छ ।

त्यस्तै, खानेपानीको संरचना हटाउन पनि समस्या रहेको बताइएको छ । जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन् । उनका अनुसार करिव ३० वटा खानेपानी उपभोक्ता समितिहरु योजनाको सर्म्पर्कमा आएका छन् ।

स्थानीय पालिका बाधक बन्दै

सडक चौंडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनी रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको योजनाले जनाएको छ । सो विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमार्फ स्थानीय सरकारसँग पटक-पटक छलफल हुँदासमेत समाधान हुन नसकेको बताइएको छ ।

सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन् गर्ने उल्लेख छ । स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने र यस्तो भए सडक विस्तारमा थप ढिलाई हुने देखिएको छ ।

यस्तै, अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था नभएको सडक विभागले बताएको छ ।

अहिले वर्षा समयमा आँबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने भएको छ । पानी जम्ने र नाली थुन्ने समस्या रहेकाले सडक भासिने हुँदा निर्माण व्यवसायीले नै खुलाइरहेको सडक विभागले बताएको छ ।

राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० रुख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै, सडक बिस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ ।

विश्व बैंकबाट ऋण सहयोगमा सडक चार लेनमा विस्तार गर्ने अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ । यी दुबै ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्षसम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता गरिएको छ । निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ । यस्तै, आँवुखैरेनी-पोखरा सडक स्तरोन्नती गर्दा साना ठुला गरी ३१ वटा मोटरेवल पुल निर्माण गरिने भएको छ ।

यता, आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने सडक स्तरोन्नतीको डिजाइन हुँदैछ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको योजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker