व्यास नगरपालिकाले प्रत्येक वडाबाट गौरवका आयोजना छनोट गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडाबाट गौरवका आयोजना छनोट गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्रत्येक वडाको न्यूनतम एउटा गौरवका आयोजना छनोट गर्न पूर्वाधार विकास समितिलाई निर्देशन दिइएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकमा प्रत्येक वडाको न्यूनतम एक वा १४ वडाबाट बढीमा १५ आयोजना छनोट गरी नगरसभामा प्रस्ताव गर्न समितिलाई निर्देशन दिएको हो ।
आगामी पुस २५ हुने ४०औं नगरसभाका लागि पुस २० गतेसम्म राजश्व परामर्श समिति, विधायन समिति, अन्य विषयगत समिति लगायतका समितिहरुको बैठक बसी प्रस्ताव पेश गर्न सम्बन्धित समितिलाई निर्देशन दिइएको प्रवक्ता जीवन गुरुङले बताए ।
यस्तै चालु आर्थिक वर्षका लागि सडक बोर्ड अन्तर्गतको एक करोड ३५ लाख ७२ हजार रुपैयाँ बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतीका लागि सडक बोर्ड समक्ष पेश गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा नगरपालिका अन्तर्गतका विद्यालयका विद्यार्थीहरुले १५ स्वर्ण, एक रजत र नौ कास्य पदक गरी २५ पदक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएकामा सम्बन्धित खेलाडीलाई बधाई एवं धन्यवाद दिएको छ ।
यस्तै नगरपालिकाका अन्तर्गतका शाखा उपशाखाका पदाधिकारी र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता र विषयगत समितिका संयोजकहरुको नियमित बैठक हरेक महिनाको ५ गते बस्ने र नगरपालिकाका विभिन्न कार्यहरुको मासिक प्रगति समिक्षा गरिने भएको छ ।










