तनहुँमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तयारी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तयारी गरिएको छ । व्यास नगरपालिकाले बुधबार सरोकारवालाहरु बीचको बैठक आयोजना गरी तयारी अभियानलाई प्रभावकारी बनाउने तयरी गरेको छ ।
व्यासकी उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा बसेको बैठकले अभियानलाई सफल बनाउन मूल समारोह समिति गठन गरेर अघि बढ्ने जनाएको छ । बैठकमा नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी तथा विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
अभियानलाई सफल बनाउन सम्बद्ध संघसंस्था लगायतका निकायहरु जिम्मेवार भएर लाग्नुपर्नेमा सो अवसरमा जोड दिइएको थियो । उपप्रमुख दरैको संयोजकत्वमा मूल समारोह समिति बनाएर मंसिर ९ देखि २४ गतेसम्म सो अभियानलाई सफल बनाउन पुनः बिहीबार बैठक बस्ने निर्णय गरेको बताइएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ तय गरिएको छ । लैङ्गकि हिंसाको अन्त्य गर्नका लागि समर्पित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिखदेखि यो अभियान मनाउँने गरिन्छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन गर्ने गरिन्छ । अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ ।
यस घटनालाई लैङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । तीन दिदीबहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए । त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापनासँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरी सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
नेपालमा पनि महिला हिंसाको घटनाहरु घट्ने क्रममा कुनै कमि आएको छैन । विभिन्न अध्ययनहरुका अनुसार संसारभरीका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरै जसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् । त्यस्तै संसारभरका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजज्य हिंसाको शिकार भएका हुन्छन् । घरेलु हिंसाका घटना पनि अझै घट्न सकेका छैनन् ।
समाजमा लिङ्गकै आधारमा महिलामाथी हुने महिला हिंसाका घट्नाहरुलाई न्यूनिकरण गर्नु हामी सबैको साझा दायित्व हो । यो अभियानलाई सफल पार्नको लागि सबै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने गर्छ । यो अभियान अन्तर्गत पहिलो दिन सेतो रिवन अभियानका साथ १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ गरिएको छ । त्यसैगरि अभियानको क्रममा विश्व एड्स दिवस, विश्व अपाङ्गता दिवस पनि मनाईन्छ ।
साथै अन्तिम दिन १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाई यो अभियान समापन गरिन्छ । पछिल्लो समय बढ्दो आधुनिकता र प्रविधिको प्रयोगले हिंसाका प्रकृति र घटना परिवर्तन भएका छन् । हाम्रा समाजमा लुकेर बसेका केही घटना त सार्वजनिक हुने गरेका छन् तर प्रविधि र सामाजिक सञ्चालको प्रयोग गरी हुने हिंसाका घटना त्यति र्सार्वजनिक हुन सकेका छैनन् । अभियानकर्मी तथा सचेत नागरिकले यस तर्फ पनि ध्यान दिनुपर्ने अहिलेको आवश्यकता छ ।










