मुग्लिङ-पोखरा सडक बिस्तार : सम्झौता समय सकिन लाग्दा पश्चिम खण्डमा १४ प्रतिशत, पूर्वी खण्डमा ४१ प्रतिशत भौतिक प्रगति

भञ्ज्याङ समाचारदाता/तनहुँ

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक बिस्तार कार्यको अपेक्षित प्रगति हुन सकेको छैन । राजमार्गको मुग्लिन-पोखरा खण्डलाई दुइ भागमा विभाजन गरी चाइनिज कम्पनीले कामको जिम्मा लिएका छन् ।

राजमार्गको आँवुखैरेनी-जामुनेको ४१.४५ किलोमिटर दुरीलाई पूर्वी खण्ड र जामुने-पोखराको ३९ किलोमिटर दुरीलाई पश्चिम खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नतीको काम भइरहेको छ । निर्माण पक्षले सम्झौताको अन्तिम समयमा पुग्दा समेत कामको प्रगति देखाउन सकेको छैन । पूर्वी खण्डको सडक विस्तार कार्य केही सन्तोषजनक देखिएपनि पश्चिम खण्डको कामले भने गति लिन सकेको छैन ।

चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको सडक विस्तारका लागि वि.सं. २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको निर्माण पक्षले २९ महिना बितिसक्दा जम्मा १४ प्रतिशतको हाराहारीमा भौतिक प्रगति देखाएको छ ।

कोरोना अवधिको ६ महिना सहुलियत समय थप हुँदा अब निर्माण पक्षसंग सम्झौता अनुसार जम्मा १४ महिना समय बाँकी रहेको छ । यो अवधिमा निर्माण पक्षले सडक विस्तार कार्यको काम सक्ने अवस्था भने देखिदैन ।

पृथ्वीराजमार्गको विस्तारको कार्यले अपेक्षित प्रगति देखाउन नसक्दा समग्र क्षेत्रलाई असर पारेको छ । राजमार्गको पश्चिम खण्डको स्तरोन्नतिका लागि निर्माण पक्षले आवश्यक श्रोतसाधान र जनशक्ति परिचालन गर्न नसक्दा कामले गति लिन नसकेको मुग्लिन-पोखरा सडक विस्तार योजना पश्चिम खण्डका योजना प्रमुख राजेश पौडेल बताउँछन् ।

‘कामको प्रगति देखाउन नसके ठेक्का सम्झौता तोड्ने तयारी भइरहेको थियो’, योजना प्रमुख पौडेलले भने, ‘पछिल्लो समय निर्माण पक्षले कामको गति बढाएको छ । यो खण्डको काम निकै सुस्त भएपछि ठेक्का सम्झौता तोड्ने तयारी गरिरहदा निर्माण पक्षले तोकिएकै समयभित्रै काम सक्ने प्रतिवद्धता जनाएर अहिले कामलाई तीब्रता दिएको छ ।’

यस खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । सडक कालोपत्रका लागि करिब २ किलोमिटर बेसको काम सकिएको छ । ‘लक्ष्य अनुसारको प्रगति देखाउन नसकेपनि अहिले कामको गति बढेको छ । ठेक्का तोडेर अर्को प्रक्रियामा जाँद थप समस्या देखिने हुँदै सकेसम्म यही निर्माण पक्षबाट काम सक्ने योजनामा हामी छौ’, उनले भने, ‘आगामि फेब्रुअरी महिनाबाट जामुनेदेखि थर्पुसम्मको करिब ५ किलोमिटर सडक कालोपत्र सुरु गर्ने र यो आर्थिक वर्ष भित्र जामुनेदेखि कोत्रेसम्म २ लेनको सडक कालोपत्र गरिसक्ने निर्माण पक्षले प्रतिवद्धता जनाएको छ ।’

अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिएपछि अहिले निर्माण पक्षले कामको गति बढाएको छ । यद्यपि बिजुली र खानेपानीको लाइन भने अझै हट्न सकेको छैन । ‘यो खण्डमा खानेपानीका ४३ वटा समिति छन् । उनीहरूसंग छुट्टाछुट्टै सहमति गरेका छौं । विद्युत प्राधिकरणले हामीबाट पैसा लगिसक्यो तर पोल हटाइदिएको छैन’, उनले भने, ‘सरासर काम गर्न पाएको भए यस्तो समस्या आउँथेन । पाइलैपिच्छे नयाँ नयाँ समस्या छ । सबै हल गर्दै काम गरेका छौं । पूर्व तयारी बिना नै ठेक्का प्रक्रियामा गएका कारण कामको चरणमा विभिन्न समस्या देखिने गरेको छ ।’

उनका अनुसार चिनियाँ स्टाफ ४० जना छन् भने नेपाली इन्जिनियर पनि काममा खट्टएिका छन् । कामदारसंगै उपकरण पनि निकै वृद्धि गरिएको छ । निर्माण पक्षले पहिलेको भन्दा ३ गुणा कामदार र उपकरण बढाएको योजना प्रमुख पौडेलले बताए ।

जनवरीको अन्तिम वा फेब्रुअरी महिनादेखि कालोपत्रेको काम सुरु गर्ने निर्माण पक्षले बताएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा ४६ मिटर चौडाइमा कालोपत्र हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटरको चौडाइ र बाँकी रहेको सडक खण्डमा २३ मिटर चौडाइमा कालोपत्र हुने भएको छ ।

यस्तै, काम सुस्त गरेपछि कम्पनीले राखेको नेपाली पेटी ठेकेदार हटाएको छ । यसअघि दुइवटा पेटी ठेकेदार नियुक्त गरिएको थियो । उनीहरूकै कारण काम ढिलो भएको भन्दै पूरै जिम्मा कम्पनीले नै लिएको छ । अहिले खण्डखण्डको कामको जिम्मा चिनियाँहरूले नै लिएका छन् । योजना प्रमुख पौडेलले भने, ‘सबै चीनबाट आएकै ग्रुपले कामको जिम्मा लिएका छन् । यसअघि २ वटा नेपाली ठेकेदार थिए । उनीहरूले काम सन्तोषजनक नगरेपछि गत बर्खादेखि सम्झौता तोडेको छ ।’

यो सडक स्तरोन्नतिको मुख्य समस्या बिजुलीको पोल र खानेपानीको पाइप देखिएको छ । पोल स्थानान्तरणको काम बल्ल विद्युत् प्राधिकरणले अघि बढाएको छ । खानेपानीका लाइन पनि स्थानान्तरण भइरहेको छ । रुख कटानको काम अन्तिम अवस्थामा पुर्‍याइएको छ ।

पटक-पटक सडक, पुलको डिजाइन फेरबदल हुनु, सडक सीमा तथा सडकको मध्यविन्दु जस्ता समस्या देखिने गरेका छन् । पुराना घर ७५ फिटको मापदण्डमा बनेका र अहिले ८२ फिटको मापदण्डमा सडक विस्तार गर्न लागिएको छ । सडकको सेन्टरलाइन अलिकति तलमाथि हुने बित्तिकै स्थानीयको अवरोध आउने अवस्थ्ा रहेको निर्माण पक्षले गुनासो गर्दै आएको छ ।

यस्तै, पूर्वी खण्डको स्तरोन्नतिका लागि निर्माण पक्षले सम्झौता गरेअनुसारको समय सकिन करिव ४ महिना बाँकी छ । काम सुरु गरेको ३३ महिना बित्दा यो खण्डमा ४१ प्रतिशत भौतिक प्रगति देखिएको छ । कोरोना अवधिको ६ महिना सहुलियत समय थप हुँदा करिव १० महिनासम्मको समय निर्माण पक्षले पाउने भएको छ । पश्चिम खण्डको तुलानामा पूर्वी खण्डको काममा केही सन्तोषजनक देखिन्छ ।

वि.सं. २०७७ माघ १७ गते सम्झौता गरी २०७८ वैशाख २ गतेबाट यस खण्डमा काम सुरु गरिएको हो । वि.सं. २०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

४१.४५ किलोमिटर दुरी रहेको पूर्वी खण्डमा आँबुखैरेनी र डुम्रे खण्डको करिव १६ किलोमिटर सडक २ लेन कालोपत्र गरिसकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनले भने, ‘यो मध्ये ४ किलोमिटर सडक ४ लेनमा कालोपत्र गरिएको छ ।’

पूर्वी खण्डमा अहिले स्ल्याब कल्भर्ट राख्ने, सडक चौडा गर्न भित्तो कटिङ, ह्युम पाइप राख्ने लगायतका काम ९० प्रतिशत बढि सकिएको छ । उनले भने, ‘१३ वटा साना पुल बनिसकेका छन् भने ३ वटा ठूला पुल मध्ये २ वटाको काम ७० प्रतिशत भएको छ । एउटा पुलको काम हालै सुरु गरिएको छ ।’

वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक -एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने बताइएको छ ।

सडक विस्तारको कार्यलाई व्यवस्थित बनाउन नसक्दा राजमार्गको यात्रा जोखिमपूर्ण बन्नेको ग२ख ४९ नम्बरका बस चालक ताराबहादुर थापा बताउँछन् । मुग्लिङ-पोखरा खण्डमा यात्रुबाहक बसका चालक थापाले सडक निर्माणमा ढिलाई हुँदा जोमिख मोलेर यात्रा गर्नुपरेको र हिलोधुलोले पनि सताउने गरेको बताए ।

‘सडकको खराव अवस्थाले नयाँ सवारी साधन पनि चाँडै विग्रिए’, उनले भने, ‘पछिल्लो समय भने डुम्रे आँबुखैरेनी खण्डमा काम तीब्र भएकाले सडकको अवस्था पनि सुधार भएको छ । पूर्वी खण्डको यात्रा पनि सहज भएको छ ।’ दुवै खण्डको कामले तीव्र गति लिएर चाडोभन्दा चाडो कालोपत्रको काम सम्पन्न भए सबैलाई सहज हुने चालक थापा बताउँछन् ।

राजमार्गका यात्रु, यातायात व्यवसायीहरु हिलो र धुलोको चपेटामा परेका छन् । पर्यटकीय नगरी पोखरा पुग्न पर्यटकहरुले पनि निकै सास्ती झेल्नुपरेको छ । राजमार्गको सडक सहज नहुँदा गण्डकी प्रदेशको पर्यटन व्यवसाय समेत प्रभावित हुँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker