तनहुँमा दुइ सय एक क्षयरोगका बिरामी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नर्सर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए । छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ ।

क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला-बेलामा खकार परीक्षण गर्ने गरेको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उनले बताए । ‘क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।’

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । ‘उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ’, उनले भने, ‘सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।’

क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुइ हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार संकलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, उनले बताए ।

क्षयरोगी पहिचानका लागि कन्टयाक्ट ट्रेसिङको व्यवस्था पनि छ । कार्यालय प्रमुख अधिकारीका अनुसार छ महिनामा दुइ पटक कन्टयाक्ट ट्रेसिङ गरिन्छ । दुइ महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्टयाक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरिइएको छ । ‘घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरूलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो’, उनले भने । लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने उनले बताए ।

अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँ-गाउँ पुगेर सहयोग गरिरहेको छ । उनले भने, ‘नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ ।’ नेपालमा ८० हजार क्षयरोगी छन् ।

वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट संक्रमित हुने गरेको तथ्याङ्क छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker