आदिकवि भानुभक्त क्याम्पसमा तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण

रैथाने भाषा संरक्षण अभियानमा २७ युवा सहभागी

दमौली : बढ्दो आधुनिकीकरण, बसाइँसराइ र विदेशी संस्कृतिको प्रभावका कारण रैथाने भाषा तथा लिपिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले नेपालमै पहिलोपटक आफ्नै आन्तरिक स्रोतबाट ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सञ्चालन गरेर भाषा संरक्षण अभियानमा नयाँ इतिहास रचेको छ ।
क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति संवद्र्धन एवं विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको सातदिने तालिममा तनहुँका विभिन्न पालिकाबाट छनोट भएका २७ जना युवा सहभागी छन्। तालिमपछि उनीहरूले आफ्ना–आफ्ना स्थानीय तहमा पुगेर तमु -गुरुङ) भाषा तथा लिपिको प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य राखिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलले जनाए ।
उनका अनुसार नेपालका सामुदायिक क्याम्पसमध्ये आफ्नै आर्थिक स्रोतबाट प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको यो पहिलो कार्यक्रम हो । सहभागी प्रशिक्षार्थीका लागि क्याम्पसकै छात्रावासमा निःशुल्क आवासको व्यवस्था गरिएको छ ।

भाषा हराए संस्कृति पनि हराउने चेतावनी

उद्घाटन समारोहका वक्ताहरूले नयाँ पुस्तामा मातृभाषा बोल्ने र लिपि लेख्ने अभ्यास क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा संरक्षणलाई अब अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले भाषा र लिपि हराएसँगै समुदायको इतिहास, संस्कृति, मौलिकता र पहिचानसमेत संकटमा पर्ने भएकाले संस्थागत प्रयास अपरिहार्य भएको बताए ।

क्याम्पसको सामाजिक दायित्व

आदिवासी जनजाति भाषा तथा संस्कृति संवद्र्धन एवं विकास समितिका संयोजक ठाकुरबहादुर दरैको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले कार्यक्रमको महत्व र आवश्यकताका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु सामुदायिक क्याम्पसको सामाजिक दायित्व भएको उल्लेख गर्दै गत वर्ष मगर भाषासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको र यस वर्ष तमु भाषाको संरक्षण अभियान सुरु गरिएको जानकारी दिए ।
निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले स्थानीय संस्कृति संरक्षणमा दीर्घकालीन योगदान पुग्ने बताए। सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सात दिन भाषा र लिपिको गहन प्रशिक्षण

तालिमको पाठ्यक्रम, प्रशिक्षण मोड्युल तथा उद्देश्यबारे विज्ञ समूहका संयोजक हरिसिंह गुरुङले जानकारी गराएका थिए । क्याम्पस प्रमुख हड्खलेले क्याम्पसले अघि सारेको ‘तमु भाषा, साहित्य, कला तथा संस्कृति वर्ष–२०२६’ अभियानबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रगबहादुर गुरुङ, जिल्ला संयोजक देवबहादुर गुरुङ, तमु लिपिका विज्ञ भीमबहादुर गुरुङ लगायत केन्द्र, प्रदेश, जिल्ला तथा पालिका तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
तालिमको पहिलो दिन हरिसिंह गुरुङले गुरुङ भाषाको इतिहास, विकास र वर्तमान अवस्थाबारे प्रशिक्षण दिएका थिए भने गुरुङ लिपिका विज्ञ भीमबहादुर गुरुङले तमु लिपिको संरचना, प्रयोग र संरक्षणका विषयमा सहजीकरण गरेका थिए ।
उक्त तालिममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकासहित विभिन्न क्षेत्रका कम्तीमा स्नातक तह अध्ययनरत २७ जना युवाको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरूले भविष्यमा स्थानीय तहमा भाषा तथा लिपि प्रशिक्षण सञ्चालन गर्दै नयाँ पुस्तामा मातृभाषाप्रति आकर्षण बढाउने विश्वास आयोजकले लिएको छ ।
रैथाने भाषा संरक्षणमा सरकारीभन्दा अघि सामुदायिक शैक्षिक संस्थाले आफ्नै स्रोतबाट यस्तो अभियान सुरु गर्नु भाषा संरक्षणका क्षेत्रमा उदाहरणीय पहलका रूपमा हेरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker