नेताद्वय श्रेष्ठ एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले स्वागत गरेका थिए । यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।
तनहुँमा राजनीतिक कर्मथलो भएका नेता श्रेष्ठद्वय एमालेमा फर्किएपछि नेकपा एकिकृत समाजबादी तनहुँमा नाम मात्रैको भएको छ । श्रेष्ठद्वयको घर फिर्तीपछि अब तनहुँको एकिकृत समाजबादीलाई नै एमालेमा समाहित हुने चर्चा चलेको छ ।
नेकपा एकीकृत समाजबादी गण्डकी प्रदेश कमिटीका सचिव समेत रहेका प्रतापलाल श्रेष्ठले अब पनि नेकपा एकीकृत समाजबादीमा रहनु भनेको बालुवामा पानी खन्याए झैं कुनै अर्थ नरहने बताए । उनले एमाले अध्यक्ष केपी ओलीकै कारण आज कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर आफुलाई चिनाउन पाउँदा गर्व लागेको बताए ।
नेता शंकरनारयण श्रेष्ठले अब तनहुँमा नेकपा एमालेलाई सबैभन्दा ठुलो र बलियो पार्टी बनाउने बताए । अब जिल्लामा फरि्कएपछि नेकपा एकिकृत समाजबादीको जिल्ला कमिटीलाई नेकपा एमालेमा समाहित गराउने श्रेष्ठले बताए ।
सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर फर्कने सबै नेता कार्यकर्तालाई पार्टीले उचित जिम्मेबारी दिने बताए ।