बन्दिपुरको बजेट पारित : पर्यटन पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा प्राथमिकतामा

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष२०७८/७९ का लागि ५१ करोड ३४ लाख एक हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ । नवौं गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकालाई संघ सरकार मार्फ वित्तीय समानीकरण अनुदान बापत नौ करोड चार लाख रुपैयाँ, सशर्त अनुदान बापत १८ करोड ७५ लाख रुपैयाँ, विशेष अनुदानबापत दुइ करोड ४९ लाख रुपैयाँ, राजश्व बाँडफाँड बापत छ करोड ५४ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी गराइन् ।

गण्डकी प्रदेश सरकारमार्फ वित्तीय समानीकरण अनुदान बापत एक करोड पाँच लाख ३१ हजार रुपैयाँ, राजश्व बाँडफाँड बापत ८९ लाख ३२ हजार रुपैयाँ, विशेष अनुदान बापत ५० लाख रुपैयाँ र समपुरक अनुदान बापत ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ ।

यस्तै, गाउँपालिकाले पर्यटन पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पर्यटकीय हबका रुपमा परिचित गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाललाई गाउँपालिकाले एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । वडा नं २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । नयाँ-नयाँ गन्तव्य बनाउने लक्ष्यसहित शुरु गरिएको ग्रेटवाललाई पर्यटकीय हबका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

गत वर्षदेखि निर्माण शुरु गरिएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । ‘बन्दीपुरमा नयाँ-नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौं, मिनी ग्रेटवाल निर्माणका लागि संघ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ’, अध्यक्ष थापाले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि काम अगाडी बढाउन सहज हुने बताइएको छ। गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न गरिएकोमा चालु आवमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको अध्यक्ष थापाले बताए ।

गत वर्ष ७० लाख रुपैयाँ खर्च भएकामा चालु आर्थिक वर्षमा तीस लाख रुपैयाँ बराबरको काम भइरहेको छ । ‘पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौं’, अध्यक्ष थापाले भने, ‘कूल साढे दुइ किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपौयाँ लागत इष्टमेट गरिएको छ ।’

बन्दिपुरमा थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामाकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वाषिर्क एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

गाउँपालिकाले टुँडिखेलमा शिशाको भ्युटावर निर्माणका लागि पनि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त केन्द्रबाट एकपटकमा १५ व्यक्तिले अवलोकन गर्न मिल्ने बताइएको छ ।

शिशाको दृश्यावलोकन केन्द्र निर्माणका लागि करिब तीन करोड रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्ने देखिएको छ । ‘संघ र प्रदेश सरकारलाई पनि योजनाका बारेमा पटक पटक जानकारी गरायौ, चासो कम भयो’, अध्यक्ष थापाले भने, ‘बजेटको सुनिश्चितता हुने बित्तिकै टेण्डर प्रकृयामा जान्छौ ।’

टेण्डर निकाल्नका लागि बजेटको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले स्रोत जुटाएर मात्रै टेण्डर निकाल्न खोजिएको थापाले बताए। यो योजनाका बारेमा केही प्राविधिक समस्या थियो, त्यो हल भएको छ, विज्ञ समूह गठन गरेर यसको थालनी गर्ने सोच बनाएका अध्यक्ष थापाले बताए ।

यस्तै, गाउँपालिकाले बजेटमा कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउने गरी आवश्यक बजेट व्यवस्थापन गरेको छ । प्रविधि र सिपयुक्त शिक्षा र सहज र शुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने गरी बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।

उत्कृष्ट कर्मचारी पुरस्कृत

गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारीलाई पुरस्कृत गरेको छ । कर्मचारीलाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्रले पुरस्कृत गरेको हो । लेखा अधिकृत कृष्णप्रसाद बसौला, कृषि शाखा प्रमुख सुलभ अधिकारी, प्राविधिक अजयकुमार पण्डित, राजश्व र न्यायिक शाखाकी बन्दना लामा गुरुङ, सवारी चालक नारद पाटा मगर, कार्यालय सहयोगी रामेश्वर कुंवर र वडा नम्बर १ का सचिव कुमार लम्साललाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताइन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker