गणित विषय शिक्षकलाई अतिरिक्त शिक्षक पेशागत विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरका कक्षा २ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि अतिरिक्त शिक्षक पेशागत विकास तालिम बन्दिपुरमा सम्पन्न गरिएको छ । भानु माध्यमिक विद्यालयमा सञ्चालित तालिममा बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा साउन १८ देखि संचालन भएको तालिम आइतबार सम्पन्न गरिएको हो ।
शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर बृद्धि गर्दै एकीकृत पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी हासिल गर्दै बालबालिकाको सिकाईमा सुधार गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।
तालिमको समापन गर्दै बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले शैक्षिक गुणस्तर बृद्धि गर्न तालिमले सघाउ पुग्ने हुँदा सिकेको ज्ञान तथा सिपलाई कक्षाकोठामा उतार्न आग्रह गरिन । उनले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
जाईका आइमिन परियोजनाका कैनिचि तानाकाले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाईसँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने साथै प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने बताए ।
परियोजनाबाट संचालन गरिएको आधार सर्वेक्षणको नतिजाको आधारमा तालिमको सत्रहरु विकास गरिएको र यसले बालबाललिकाका सिकाइमा समस्या पहिचान गर्दै अवलोकनका माध्यमबाट खोज सहजिकरण गर्न मद्दत गर्न तालिम औचित्यपूर्ण रहेको उल्लेख गरे । कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकामा शैक्षिक क्षति भएका कारण शिक्षकले नै उनीहरुको अवस्था, समस्या बुझ्दै बालबालिकाको सिकाईमा सहयोग गर्न पनि उनले अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत जगननाथ अधिकारीले आईमिन परियोजनाको सहयोगमा नेपाल सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार परियोजना संचालन गरेकाले यस परियोजना मार्फ शिक्षकको क्षमता विकास, पाठ्यसामाग्रीको विकास तथा वितरण गरिएको जानकारी दिए ।
साथै उनले यस तालिमबाट विद्यालय स्तरीय शिक्षक पेसागत विकास तथा सहयोगलाई सहकार्यात्मक उपागम जसलाई पाठ अध्ययन भनिन्छ, लाई जोड दिएकाले विद्यार्थीको सिकाईमा शिक्षकहरु विचको अन्तरक्रिया, प्राविधिक गोष्ठी, विज्ञ शिक्षकको सहयोगको माध्ययमबाट विद्यार्थीमा देखिएका शैक्षिक समस्यालाई छलफलका माध्ययमबाट सुधार गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वयर् इकाइका प्रमुख बसन्तराज पौडेलले अबको शिक्षामा शिक्षकले शिक्षण मात्र गर्ने नभइ सहजीकरणका माध्ययमबाट बालबालिकामा सिकाइ दिगो बनाउन सकिनेमा जोड दिदै तालिमले दिएका ज्ञान, सिपलाई कक्षाकोठामा उर्तान अनुरोध गरे ।
कार्यक्रम बन्दिपुर गाउँपालिका अन्तर्गतका ३१ वटा सामुदायिक विद्यालय मध्ये पहिलो चरणमा १६ विद्यालयका कक्षा २ मा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले जानकारी गराए ।










