कैलाश मानसरोवर पुग्नु भयो ?
के.बि. मसाल

तिब्बतमा रहेको मानसरोवर ताल हिन्दु र बुद्ध धर्मको तीर्थाटनको गन्तब्य हो । यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिनिन्छ । मानसरोवर समुन्द्र सतहबाट करिब चार हजार ५९० मिटरको उचाईमा रहेको छ । मानसरोवर ताल तिब्बतको ल्हासाबाट ९४० किलोमिटरको दुरीमा पर्दछ । मानसरोवर तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलास पर्वत पर्दछ ।
ब्रम्हपुत्र नदी, सिन्धु, सतजल तथा कर्णाली नदीको मुहान मानसरोवर नै हो । कैलास पर्वतको परिधि ४३ कि.मिर्.पर्दछ । कैलास पर्वतको उचाई छ हजार ७१४ मिटर रहेको छ । पौराणिक कथन अनुसार शिव बाहेक ब्रहृमा, देवगण मरिचि, रावण, भस्माशुर आदिले यहाँ तपस्या गरेका थिए । यस स्थलमा ब्यास, भीम, कृष्ण, दत्तात्रय आदिले यात्रा गरेका थिए । भनिन्छ शंकराचार्यले यही प्राण त्यागेका थिए । मेरु सुमेरु, सुषुम्ना, हेमाद्री, देवगण आदि पर्वतले सुसज्जित मानसरोवर पर्वत प्राकृतिक छटाको भण्डार हो। यो पर्वत हिन्दुहरु, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीहरुको साझा तपोभूमि पनि हो ।
दत्तातय ऋषि हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रम्हाद्वारा निर्मित मानसरोवरको दर्शन गराएर त्यसको महत्व बारे बताएका थिए । त्यस स्थानमा ऋषिहरुको आश्रम पनि थियो। भगवान शिव स्वयं राजहंस भएर मानसरोवरमा जलपरिक्रमा गरिरहने विश्वास गरिन्छ । यस सरोवरमा सबै देवताहरु ब्राम्हमुहर्तमा स्नानका लागि आउने गर्छन भन्ने विश्वास गरिन्छ । मानसरोवर करिव चार हजार स्क्वायर कि.मि. क्षेत्रफलमा फैलिएको छ । मानसरोवरको ब्याख्या स्कन्दपुराणमा उल्लेख छ। मानसरोवरमा सतीदेबीको दाँया हात खसेको हुँदा त्यहाँ रहेको शीलालाई उनको रुप मानी पूजा गरिन्छ । यो एक शक्ति पिठ पनि हो ।
तीर्थाटनमा जाने मानिसहरु मानसरोवर पुगेपछि कैलास पर्वतको परिक्रमा गर्दछन । परिक्रमा गर्दा पैदल हिडन नसक्नेहरुको लागि घोडाको व्यवस्था पनि छ । यात्राको १४ कि.मि. पार गरेपछि चार हजार ९१० मिटर उचाईको देरापोक पुगिन्छ । त्यहाँबाट कैलासको साक्षात दर्शन गर्न सकिन्छ । तीर्थाटनका मानिसहरु को लागि त्यहा गेस्ट हाउसको पनि व्यवस्था छ । कैलास पर्वतको पूरा परिक्रमापछि अष्र्टपर्वतको परिक्रमा शुरु हुन्छ । कैलासको दक्षिण मोहडाबाट उकालो चढी माथी डाडामा पुगिन्छ र त्यहाँबाट पनि कैलास पर्वतको राम्रो दर्शन गर्न सकिन्छ । कैलास मानसरोवरमा बाषिर्क ५० हजार भन्दा बढी यात्रुहरु नेपाल, भारत, भुटान, भियतनाम, रुस लगायतका देशहरुबाट जाने गर्छन । जसमा भारतीय यात्रुहरु सबैभन्दा बढी हुन्छन ।
मानसरोवरको यात्रामा अत्यन्त ख्याल राख्नुपर्ने कुरा के छ केही मानिसहरुलाई अक्सिजनको अभाव हुन पनि सक्दछ । स्वर्णभूमिमा पुग्दा जता हेर्दा पनि शान्त देखिन्छ । अनन्त लाग्ने तालको पानी कञ्चन देखिन्छ । मानसरोवर ताल ८० कि.मि. गोलो छ । पैदल हिँडदा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ । ६० मिटर गहिरो मानसरोवरको लम्बाई र चौडाइ ठीक २० किलोमिटर रहेको छ । मानसरोवर कैलाश पर्वतबाट शुरु भएका प्रसिद्ध चार नदी सिन्धु अर्थात संगे खाबाब, सतलज अर्थात गंगा, कर्णाली म्याप्च्या खाँबाब र बहृमपुत्र यार्लुङ साङबो अर्थात ताम्छो खाम्बाब नदीको छेउछाउमा विकास भएको सभ्यताको भारी महत्व रहेको छ । जुन कारणले गर्दा कैलाश मानसरोवर स्वर्गीय तीर्थस्थल बनेको छ ।
ब्रहृमपुत्र एसिया महादेशका ठूला नदीहरु मध्येको एउटा हो । संस्कृत मा ब्रहृमपुत्रको शाब्दिक अर्थ ब्रहृमाको पुत्र हुन्छ । यो नदी तिब्बत, भारत तथा बंगलादेश हुँदै बग्दछ । ब्रहृमपुत्र को उदगमस्थल चीनको स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमलबाट भएको छ । तिब्बतमा यसलाई यार्लुंग छंग्पो सांग्पो नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग दिहांग नामले चिनिन्छ र आसाम राज्यमा ब्रहृमपुत्र नामले । बंगलादेश पुगेपछि यसलाई जमुना भनिन्छ । यस नदीले दुइ हजार नौ सय कि.मि. लामो यात्रा पूरा गर्दछ । यो नदी बंगलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बंगालको खाडीमा गएर मिसिन्छ । नेपालमा बग्ने कर्णाली नदीको मुहान तिब्बतको माप्चोचोङ्गो हो । माप्चोचोङ्गाबाट झरेको पानी सुरुमा मानसरोवर ताल नजीकै रकोस सरोवरमा मिसिन्छ । जुन ताललाई राक्षस ताल पनि भनिन्छ । त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगुमा यो पानीलाई करन खोला भनिन्छ । करन खोलाको नामबाट कर्णाली नदी रहन गएको हो । यो नदी बाजुरा र हुम्ला हुँदै कालीकोट सम्म धेरै सहायक नदी नालाहरु मिसिन्छ । रारा तालको पानी र बाजुराको सिमानामा कर्णाली र बुढी गंगा मिसिएपछि नदीले बिशाल रुप लिदै बग्दछ ।
हिन्दुहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानोसरोवर, भारतीय तीर्थयात्रुहरुको महत्वपूर्ण धार्मिक गन्तब्य हो । नेपाल भएर कैलाश मानोसरोवर जान भारतीय तीर्थयात्री अथवा तेस्रो मुलुकको पर्यटकका लागि दुइवटा बाटो चलन चल्तीमा छन । तातोपानी र हुम्लाको हिल्सा हुदै । काठमाडौंबाट कोदारी मार्ग अर्थात खासाको बाटो भएर जादा करीब दुइ हजार २ सय किलोमिटरको दुरीमा कैलाश मानोसरोवर पर्दछ । केही वर्ष पहिलासम्म कैलास मानसरोवरको यात्रामा जाँदा नेपालबाट कोदारी राजमार्गको तातोपानी हुँदै खासाबाट तिब्बतको न्यालम बजारबाट ब्रम्हपुत्र नदीको तटमा रहेको ब्यापारिक केन्द्रको दोडवा बजार, साँगा बजार हुँदै मानसरोवर जाने गर्दथिए । कैलास मानसरोवर जाने त्यो बाटो साह्रै रमणीय छ । दक्षिणतिर लहरै बसेका हिमाली श्रंृखला उत्तरतर्फआश्चर्यजनक पहाडी चुचुरासम्म फाँटमा चरिरहेका भेडा, च्यांग्रा, चौरी, याक, तथा घोडाका बथान मानोसरोवर यात्रामा जाने मानिसहरुले देख्न सक्दछन ।
नेपालगन्ज-सिमीकोट-हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुलाई कठिनको यात्रा बनेको छ । यो वर्ष धेरै भारतीय नागरिकहरु निजी तबरले हेलिकप्टरको प्रबन्ध गरेर कैलाश मानसरोवर पुगे । ठूलो संख्यामा कैलाश यात्रामा निस्किएका यात्रुले सिमकोट र हिल्सामा खानबस्न समस्या बेहोर्नु पर्यो । पछिल्लो समय छिनछिनमा फेरिने मौसमले हिल्सा-सिमकोटको हेलिकप्टर यात्रा र सिमकोट-नेपालगन्ज हवाई यात्रासमेत प्रभावित भएकोले पनि मानसरोवर जान लागेका मानिसहरुलाई समस्या पर्ने गरेको छ । नेपालगन्ज-सिमकोट हुँदै मानसरोवर पुग्न जति कठिन छ, र्फकन उत्तिकै गाह्रो छ । खासगरी समयमा हवाई जहाज र हेलिकोप्टर नपाउने र हिल्सादेखि मानसरोवरसम्म को हिँडाइ तीर्थाटनका पर्यटकलाई समस्या हुने गरेको छ । सिमीकोट र हिल्सामा पर्यटकलाई बास बस्न पर्याप्त होटलको सुविधा छैन । कैलाश मानसरोवर पुग्न सबैभन्दा नजिकको रुट नेपालगन्ज-सिमकोट-हिल्सा भए पनि पर्यटकका लागि आवश्यक पूर्वाधारको विकास नहुँदा समस्या छ ।
धेरै मानिसहरुले कैलाश मानसरोवरका बारेमा जिज्ञासा राख्दछन । चाहे त्यो तीर्थाटनका कारण होस वा हिमाली भेगको भ्रमणका कारण । तीर्थहरुको पनि तीर्थ अर्थात महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर यात्रामा कसरी जान सकिन्छ त ? भगवान शिवको धाममा ? मानसरोवर जान अधिकांश मानिसको इच्छा हुन्छ । जसले अठोट गर्छ उसले यात्रा तय गरेरै छोडछ । यात्राप्रति धेरैको जिज्ञासा कसरी जाने होला ? कहाँबाट जाने होला ? तिब्बतमा पर्ने हिमाली क्षेत्र भएकाले कैलाश मानसरोवर यात्रालाई कठिन यात्राको रुपमा लिने गरिन्छ।
हिमाली भेगको यात्रामा लेक लाग्नेदेखि बिरामी परिनेसम्मका जोखिम रहन्छन्। मानसरोवरको लामो यात्रा अवधि र विकट क्षेत्र भएकाले खाने-बस्ने र यात्राका लागि चाहिने खर्चसहित आवश्यक सरसामानको जोहो गर्नु पर्दछ । कैलाश मानसरोवर यात्रामा बाक्ला ज्याकेट, टोपी, पञ्जा, ट्राउजर, मोजा, हाइनेक अनिवार्य चाहिन्छ । यस्तै, घामबाट जोगिने खालको शतप्रतिशत यूभी प्रोटेक्टिभ सन ग्लास, सन स्त्रिmन, टेक्ने ली, पानीको बोतल अनिवार्य लैजानुपर्छ । खानका लागि चकलेट, बदाम, काजु, किसमिस, भुटेको चना, केराउ, चिउरा, जौको सातु, चुइंगमलगायत लैजानु पर्दछ ।
यात्राभरका लागि कम्तिमा पनि दुइ जोर जुत्ता आवश्यक पर्छ । गाडीमा यात्रा गर्दासम्म सामान्य प्रकारका जुत्ता लगाउन सकिन्छ भने कैलाशको प्रदक्षिणाका लागि भने राम्रो ट्रेकिङ जुत्ता चाहिन्छ । कमसल जुत्ता भएमा खुट्टा दुखाउने र यात्राकै क्रममा च्यातिने जोखिम हुने भएकाले सकभर राम्रो जुत्ता नै खरिद गर्नु बुद्धिमानी हुनेछ । यात्रामा लैजानु पर्ने सामानको सूची बनाएर मात्र बजारमा किनमेल गर्न जाँदा सामान किन्न भुलिँदैन । यदि सामान किन्न भुलेमा त्यस क्षेत्रमा नपाइने हुँदा यात्रामा निस्कनुअघि किनमेल गर्दा नै ध्यान दिनुपर्छ । यात्रुले आफूले सेवन गरिराखेको नियमित औषधी लैजान भुल्नु हुँदैन । त्यसबाहेक टाउको दुख्दा खाने, पखाला लाग्दा खाने, दुखाई कम गर्ने औषधी साथमा बोक्न बिर्सनु हुँदैन । झण्डु बाम वा भिक्स लैजानु भए राम्रो हुन्छ ।
मानसरोवरको यात्रा संसारका अरु स्थानको यात्रा गरेजस्तो सजिलो छैन । आफूखुशी र जहिले मन लाग्यो तहिले यस यात्रामा जान सकिँदैन । तिब्बतको भौगोलिक बनावट, फरक खाना र भाषा शैलीका कारण ट्रेकिङ एजेन्सीमार्फत जादा सबै भन्दा सजिलो हुन्छ । तिब्बतीले आफ्नो भाषा मात्र बोल्ने हुदा ट्रेकिङ एजेन्सीमार्फत जादा भाषा र अन्यकुराको समेत सजिलो हुन्छ । तिब्बतमा खानेकुरा जहाँ पायो त्यहीं हुँदैन । खाना पाइएमा पनि आफूलाई चाहिने खाना तिब्बती भाषामै माग्नुपर्ने हुन्छ । मानसरोवर पुग्नका लागि ट्रेकिङ एजेन्सी बाहेक पनि अन्य रुडबाट समेत जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा प्रत्येक वर्ष हजारौं तीर्थाटनका पर्यटकले भ्रमण गर्ने गरेका छन । तिब्बतको हिमाली क्षेत्रमा मानसरोवर पर्ने भएकाले यात्रा चुनौतीपूर्ण मानिन्छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ । वैशाखदेखि असार कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । तर पनि असोज महिनासम्म पनि मानसरोवर जाने तीर्थटनका पर्यटकहरुको चहलपहल देखिन्छ ।
हवाई मार्ग
काठमाडौं-ल्हासा हवाई मार्ग कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा सजिलो हुन्छ । यसपछि सडक यात्रामा मानसरोवर पुग्न सकिन्छ । मानसरोवर पुगेको दिन एक रात वास बस्न सकिन्छ वा स्नानपछि कैलाशको आधारशिविर दार्चेनमा वास बस्न सकिन्छ । दार्चेनबाट तीन दिन पैदल वा घोडामा यात्रा गरेपछि कैलाशको प्रदक्षिणा गरी फेरि दार्चेन फर्किन सकिन्छ । दार्चेनबाट फेरि सडक यात्रा गर्दै ल्हासा फर्किन र ल्हासाबाट हवाई मार्गबाट काठमाडौं आउन सकिन्छ ।
हुम्लाको हिल्सा मार्ग
नेपालगञ्ज-सिमिकोट हवाई यात्राबाट शुरु हुन्छ । नेपालगञ्जबाट हुम्लाको सिमिकोटसम्म हवाई जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ । यस रुटमा हवाई जहाजको टिकट पाउन एकदमै कठिन हुन्छ । छिटो-छिटो मौसम परिवर्तन भइरहने हुँदा उडान ढिलाइ हुने जोखिम जतिबेलै रहन्छ । सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टर अथवा मोटरमा पनि जान सकिन्छ । तिब्बतको सिमा ताक्लाकोट देखि सिमीकोटसम्म ९३ किलोमिटर सडकमा आजभोली बस सेवा समेत छ । कर्णाली करिडोरको निमार्णाधीन सडकमध्ये कालिकोटको खुलालुदेखि सिमकोटसम्म निर्माण कार्य हुदै छ । अब ५ किलोमिटर भिरपहरा मात्र सडकको ट्रयाक खोल्न बाकी छ । त्यसपछि कर्णाली करिडोरले हुम्लामा समेत सडक सञ्जालले जोडिन्छ । चीनले नेपाल सीमा सेरासम्म सडक कालोपत्रे गरेको छ । तिब्बतको सेरादेखि ३० किलोमिटर टाढा तिब्बतको व्यापारिक केन्द्र ताक्लाकोट छ । हिल्साबाट एक दिनमा मानसरोवर पुग्न सकिन्छ ।
रसुवाको केरुङ
काठमाडौंबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । केरुङबाट तिब्बती सीमा पार गरी सडक यात्रा गर्दै एक दिनमा सिगात्से पुगिन्छ । सिगात्सेबाट मोटरबाट दुइ दिनमा मानसरोवर पुग्न सकिन्छ । तिब्बती भेगमा सडकको अवस्था राम्रो रहे पनि नेपालतर्फनाजुक रहेका कारण यात्रा केही कष्टकर हुन पुग्छ । तर, खर्चका हिसाबले यस रुटबाट यात्रा गर्दा कम खर्चिलो हुन्छ । यस रुटबाट कैलाश मानसरोवर यात्रा दुइ लाख रुपैयाँसम्ममा गर्न सकिन्छ ।
मुस्ताङको कोरला नाका
मुस्ताङको कोरला नाकाबाट २५७ कि.मि. पार गरेपछि तिब्बतको कैलाश मानसरोवर पुग्न सकिन्छ । कोरलानाका पुग्न कालीगण्डकी करिडोरको यात्रा गर्नु पर्दछ । यो यात्रामा मुक्तिनाथ र उपल्लो मुस्ताङको समेत तीर्थाटन र अवलोकन गर्न सकिन्छ ।
सिन्धुपलान्चोको तातोपानी
काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै खासा पुग्न सकिन्छ । खासाबाट सडक यात्रा गरी मानसरोवर पुग्न सकिन्छ । यस रुटबाट यात्रा गर्दा धेरै दिन लाग्छ ।










