राष्ट्रपतिले दर्शन गर्ने मिर्लुङको भयर ठाकुर मन्दिरको रङरोगन गरी सजाइयो (फोटोफिचर)

भञ्ज्याङन्यूज

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार पहिलो पटक गृहजिल्ला तनहुँ आउँदै छन् । गृहजिल्ला आउने तयारीमा रहेका राष्ट्रपति पौडेलको पहिलो कार्यक्रम भानु नगरपालिका-१३ मिर्लुङकोट स्थित भयर ठाकुर (भयर थान) मन्दिरको दर्शन गर्ने रहेको छ ।

राष्ट्रपति पौडेल भयर ठाकुरको दर्शन गर्न आउने भएपछि भानु नगरपालिका-१३ को वडा कार्यालय, स्थानीय बासिन्दा तथा मनकामना गण भानुका सशस्त्र प्रहरीको टोलीले शुक्रबार मन्दिर वरपरको क्षेत्रमा सरसफाई तथा मन्दिरमा रङरोगन गरी सजाएका छन् ।

पौडेलको जन्मगाउँ बाहुनपोखराको शिर बनेर ठडिएको छ मिर्लुकोट । मिर्लुङकोटको पश्चिम तर्फो खोचमा सातसय मिर्लुङले शक्तिदेवको रुपमा पुज्दै आएको भयर ठाकुरको मन्दिर छ । यो मन्दिरको उत्तरतर्फनेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङ गाउँ रहेको छ ।

भयर ठाकुरलाई मिर्लुङकोट क्षेत्रका सातसय मिर्लुङबासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् । साउन महिना, औसी र एकादशी तिथि बाहेक हरेक मंगलबारका दिन यस मन्दिरमा पूजाअर्चन गर्ने गरिन्छ ।

विशेष गरी यस क्षेत्रका बासिन्दाले आफु समस्यामा पर्दा, वस्तुभाउ विरामी पर्दा, देश विदेशमा गएकाहरु सकुशल घर फर्किउन तथा कुनै कार्यको शुभारम्भ गर्दा वा चाहेको, आँटेको पुरा गरिदिन भन्दै भाकल गर्ने तथा सम्झने गर्दछन् । यसरी भाकल तथा सम्झेको पुरा भएपछि पञ्चावली तथा आफूले भाकल गरेको अन्य पूजाका सामाग्रि सहित भक्तजनहरु मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने गर्दछन् ।

जंगलको बीचमा यो मन्दिर रहेको छ । गाउँमा बाघ तथा अन्य वन्यजन्तुले दुःख दिएमा, समयमा पानी नपरी खडेरी परेमा, खेतबारीमा खेती गर्नुपूर्व, नयाँ अन्ना घरमा भित्र्याउँदा लगायतका शुभकार्यमा स्थानीयले भयर ठाकुर देवतालाई सम्झने र पुज्ने गर्दछन् ।

आस्था र शक्ति केन्द्रका रुपमा रहेका भयेर ठाकुरको राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गर्ने गरी आउने सुनेपछि अहिले स्थानीय दंग परेका छन् । राजनीतिमा सक्रिय हुँदा तथा शक्तिकेन्द्रमा रहदा समेत यस क्षेत्रको विकासमा खासै ध्यान दिन नसकेका पौडेल राष्ट्रपति बनेपछि पहिलोपटक गृहजिल्ला आउँदा भयर ठाकुरको दर्शन गर्न आउँदै छन भन्ने सुनेपछि आफुहरुलाई अचम्म लागेको स्थानीय चन्द्र विवस गुरुङ बताउँछन् ।

दमौली तथा डुम्रे हुँदै मिर्लुङकोट क्षेत्रमा पुग्नका लागि सडक सञ्जाल विस्तार त गरिएको छ । तर, अहिलेसम्म सडकको स्तरोन्नती नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आउनुपरेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताहरु सहज रुपमा उपभोग गर्न नपाउँदा बसाइ सराइले मिर्लुङकोट क्षेत्र उजाडिएको छ । राष्ट्रपति बनेको ६ महिनापछि पौडेल शनिबार बिहान करिब ८:३० बजे भयर ठाकुरको दर्शन गर्न आउने कार्यक्रम छ ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान भानु-१३ मिर्लुङ ठूलोढुङ्गा स्थित अरनिको माध्यमिक विद्यालय प्राङ्गणमा उत्रिएपछि त्यहाँबाट करिब ३ किलोमिटरको दुरीमा रहेको भयर ठाकुर (भयर थान)को मन्दिर पुग्ने छन् ।

सुरक्षाकर्मीको घेराभित्रबाट ठूलोढुङ्गा, बासपानी गाउँ हुँदै मन्दिरसम्म पुग्ने क्रममा स्थानीयले आ-आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर स्वागत गर्ने तयारी गरेको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या. होम बहादुर गुरुङले बताए ।

गत निर्वाचनमा भोट हालेर जिताएपछि संघीय साँसद बनेका पौडेल अहिले राष्ट्रपति भएर गाउँमा आउने खबरले स्थानीय खुशी त छन् । तर, यस क्षेत्रको समस्याका विषयमा चासो देखाउँछन कि देखाउँदैनन् भन्ने जिज्ञासा र चिन्ता स्थानीयमा छाएको छ ।

तस्विर सौजन्य : चन्द्र विवश गुरुङ/मिर्लुङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker