रुम्सी गाउँको मौलीक घरहरु
तनहुँको व्यास नगरपालिका-१४ स्थित रुम्सी गाउँका मौलीक घरहरु । समुन्द्र सतहबाट करिब एक हजार मिटरको उचाईमा रहेको यस गाउँमा मुख्यमन्त्री नवप्रवर्तन परियोजना अगाडि बढाइएको छ । गाउँका १०९ घरधुरी मध्ये १७ घर दलित बाँकी सबै मगर समुदायको बसोवास रहेको छ । गाउँका मौलिक घरहरुलाई मर्मत संभारगरी स्थानीय खानाका परिकार र साँस्कृतिक कार्यक्रमबाट अतिथिहरुलाई स्वागत गर्ने उद्देश्यका साथ यसै वर्ष व्यास नगरपालिकामा रुम्सी सामुदायिक होमस्टे व्यवस्थापन समिति समेत दर्ता गरी ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ । मुख्यमन्त्री नवप्रवर्तन परियोजना अन्तर्गत यसै आर्थिक वर्षभित्र सम्पन्नहुनेगरी विभिन्न सात वटा कार्यक्रम सञ्चालन गर्न लागिएको छ । गाउँको आन्तरिक गल्लीहरुमा ढुङ्गे सिढीबाटो निर्माण, मौरी पालन, सुन्तला र कुरिलो खेतीको विकास, पर्यटन विकास तथा संस्कृति संरक्षण सम्वन्धी विविध कार्यक्रम, मगर संग्रहालय स्थापना, सरसफाई एवं वातावरण संरक्षण आदि कार्यक्रम सञ्चालन गरी कृषिपर्यटनका गतिविधिका माध्यमबाट गाउँलाई एक नमुना बस्तिका रुपमा परिवर्तन गर्ने लक्ष्य नगरपालिकाले लिइएको छ । तस्विर : भञ्ज्याङ